२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा

नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा

जो इलेक्ट्रोफिजियोलोजीमा सुपरस्पेसियालिटी हासिल गर्न चाहन्छिन्


डा. सुरक्षा जोशी औलामा गन्न सकिने थोरै नेपाली महिला मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट)मा पर्छिन् । नेपालमा अहिले एक दर्जनजति पनि महिला कार्डियोलोजिष्ट छैनन् । ती थोरै महिला कार्डियोलोजिष्टमध्येमा डा. सुरक्षा पनि एक हुन् । मुटु रोगका लागि मुलुककै प्रमुख गंगालाल हृद्धय रोग केन्द्रमा यी ४० वर्षीया युवा कार्डियोलोजिष्टको अधिकांश समय बित्छ । मुटु रोगका लागि प्रतिष्ठित गंगालाल एकदमै व्यस्त सेन्टरमा पर्छ ।

त्यही कारण डा. सुरक्षाको व्यस्तता बढी हुनु स्वभाविक नै हो । विहान ९ बजे नै अस्पाल पुग्ने उनी ५ बजेसम्मै बिरामीको सेवामा तल्लीन रहन्छिन् । हप्ताका ६ दिनमध्ये डा. सुरक्षा दुई दिन विहान ओपीडीमा बस्छिन् । त्यहाँ औसतमा दैनिक ४५ जना बिरामी हेर्छिन् । त्यसपछि दिउँसो पेइङ ओपीडीमा थप २० जना बिरामीहरु स्वास्थ्य परीक्षण गर्छिन् ।

एक दिन इकोकार्डियोग्राम गर्छिन् । जसमा औसतमा दैनिक २५—२० जना बिरामी हुन्छन् । त्यसबाहेक मंगलबार र शुक्रबार उनको टिम ‘इलेक्ट्रोफिजियोलोजी’ प्रायाक्टिस गर्छ । जसमा मुटुको धडकन अनियमितताबारेको उपचार पर्छ । मुटुको धड्कन कम भएका र मन्द भएका बिरामीहरुमा ब्याट्री (पेसमेकर) हाल्ने काम हुन्छ । केन्द्रमा एक दिनमा १२—१५ जना बिरामी शल्यक्रिया नै हुन्छ । ‘विहान ९ बजेदेखि साँझ ५ बजेसम्म एकदमै बिजी सेड्युल हुन्छ । कहिलेकाही त अझ बढी समय जान्छ,’ डा. सुरक्षा भन्छिन् ।

त्यसबाहेक साँझ ५ बजेपछि बचेको समय कहिलेकाही प्राइभेट प्रायक्टिसमा गर्छिन् । बागबजारस्थित काठमाडौं मोडल हस्पिटल र बत्तीसपुतलीस्थित स्टेम सेन्टरमा उनी अक्सर बिरामी हेर्छिन् । ‘सबै सकेर घर पुग्दा साढे सात बजिसक्छ,’ डा. सुरक्षा भन्छिन्, ‘मेहनत धेरै छ, सोसल लाइफ, फ्यामिली लाइफ कम छ । तर, यी युवा कार्डियोलोजिष्ट आफ्नो कामबाट पूर्ण सन्तुष्ट छन्, किनभने उनी आफैले रोजेको काम हो ।

डा. सुरक्षाको जन्म काठमाडौंको कालिमाटीमा भएको हो । बुवा लालमणि जोशी र आमा सीता जोशीका तीन सन्तानमध्ये उनी माइली हुन् । उनका बुवा नेपाल सरकारका जागिरे (जो पछि सचिव भएर रिटायर्ड भए) थिए । आमा भने हाउस वाइफ हुन् । बुवा सरकारी जागिरे सिलसिलामा यताउता पुगिरहने भएकाले सुरक्षाको कक्षा ८ सम्मको पढाइ धनगढी, नेपालगन्ज, महेन्द्रनगरलगायतका ठाउँमा भयो । ८ कक्षापछि भने उनले काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट आफ्नो पढाइ अगाडि बढाइन् ।

ठाउँ—ठाउँमा बुवासँगै हिड्डुल गर्ने भएकाले उनको बाल्यकाल रमाइलोसँग बित्यो । ‘सबै ठाउँ घुम्दाखेरि रमाइलो हुँदोरहेछ,’ उनी नोस्टाल्जिक बनिन्, ‘धेरै साथीहरु बनाउन पाइदो रहेछ । खेल्नका लागि पनि धेरै जना हुन्थे ।’ स्कुले जीवनमा पढाइबाहेक पेन्टिङ गर्ने र जनावर पाल्ने उनको रहर थियो । जिम्न्यास्टिक पनि उनले खेलिन् । पढाइमा अब्बल उनी स्कुलदेखि नै आफ्नो कक्षा टप गर्थिन् । अंग्रेजी, ड्रइङ, विज्ञान, गणित डा. सुरक्षालाई बढी मनपर्ने विषय थिए ।

ग्यालेक्सी पब्लिक स्कुलबाट उनले वि.सं. २०५५ सालमा ८४ प्रतिशत अंकका साथ एसएलसी डिस्टिङ्सन उत्तीर्ण गरिन् । आईएस्सी पढन सेन्ट जेभियर्स कलेज भर्ना भइन् । सेन्ट जेभियर्सबाट वि.सं. २०५७ सालमा उनले आईएस्सी उत्तीर्ण गरिन् । पढाइमा अब्बल भएकाले उनको ओरेन्टेसन पनि डाक्टरी नै भयो । ‘मलाई सानैदेखि डाक्टर बन्छु भन्ने थियो,’ उनले भनिन्, ‘त्यो फ्यामिली इन्भ्यारुमेन्टले पनि होला घरमा सबैले डाक्टर बन्छ भनेर भन्नुहुन्थ्यो ।’

सन् २००२ मा उनी छात्रवृत्तिमा एमबीबीएस पढ्नका लागि पाकिस्तान गइन् । पाकिस्तानको पिपुल्स युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्स फर वुमन नवाब्सामा उनको डाक्टरी पढाइ अगाडि बढ्यो । पाकिस्तान नयाँ ठाउँ, नयाँ संस्कृतिमाझ एमबीबीएस पढाइका दिनहरु रमाइलोसँग बिते । ‘विदेशी भनेपछि पाकिस्तानीहरुले एकदमै माया गर्छन्, त्यहाँका प्रोफेसरहरुले पनि माया गर्ने,’ उनी एमबीबीएस अनुभव स्मरण गर्छिन्, ‘नेपालीहरुले त्यहाँ टप गरेर राम्रो प्रभाव बनाएका छन् ।’

साढे ५ वर्षको एमबीबीएस पढाइ सकेर उनी सन् २००८ मा इन्टर्नसीपका लागि नेपाल फर्किइन् । नेपाल फर्केपछि डा. सुरक्षा वीर अस्पताल, प्रसुति गृह, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पतालमा इन्टर्नसीप गरिन् । इन्टर्न सकिएपछि त्रिपुरेश्वरस्थित काठमाडौं अस्पताल केही महिना पार्टटाइम काम गरिन् । त्यसपछि नर्भिक अस्पतालको मेडिसिन विभागमा ६ महिना सेवा गरिन् । डा. सुरक्षा त्यसपछि काम छाडेर ‘युएसएमएलई’कै लागि तयारी गर्न थालिन् ।

संयोग कस्तो जु¥यो भने त्यहीबेला पाकिस्तानको पोष्ट ग्राजुयट फेलोसीप ‘एफसीपीएस’ पाइन् । सन् २०१३ मा कलेज अफ फिजिसियन एण्ड सर्जन अफ पाकिस्तान (सीपीएसपी)ले चलाइरहेको यो कार्यक्रम पाकिस्तान र नेपालमा रोजेर अध्ययन गर्न पाइन्छ । ‘इन्ट्रान्स यही दिन पाउने, यही बसेर ट्रेनिङ गर्न पाउँछ,’ उनले भनिन्, ‘यहीको प्रोफेसहरुसँग पढ्ने र पाकिस्तान गएर परीक्षा दिनुपर्छ ।’ सन् २०१८ मा उनले कार्डियोलोजीमा एफसीपीएस सकिन् ।

कार्डियोलोजी नै किन ? ‘मैले सुरुमा मेडिसिन पढ्छु भनेर सोचेकी थिए । एफसीपीएसमा स्पेसियालिटीसँगै गर्न पाउने एडभान्टेज हुन्छ,’ डा. सुरक्षा कारण खोल्छिन्, ‘तर पछि हेमाटोलोजी पढ्छु भनेर पाकिस्तान गए, नेपालमा हेमाटोलोजी थिएन ।’ पाकिस्तानको बसाइँ एमबीबीएसको जस्तो रमाइलो थिएन्, उनलाई एक्लोजस्तो अनुभव हुन थाल्यो । त्यसपछि उनी नेपाल नै फर्किइन् । नेपालमा कार्डियोलोजी विषय यो कार्यक्रमअन्तर्गत पाएकाले उनले गंगालाल हृद्धय रोग केन्द्रमा पढिन् ।

विशेषज्ञ कार्डियोलोजिष्ट भएपछि डा.सुरक्षाले गंगालालमै जागिर गर्न थालिन् । उनले गंगालालमा जागिर गर्न थालेकै ५ वर्ष भइसकेको छ । विद्यार्थीका रुपमा काम गरेको समेत जोड्दा उनले गंगालालमा ९ वर्ष बिताइसकेकी छन् । कार्डियोलोजिष्टका रुपमा काम गर्दा आफूलाई फरक र नौलो अनुभव भइरहेको अनुभव उनी बाँडछिन् । ‘मुलुकको प्रमुख कार्डियाक सेन्टरमा काम गर्दा नयाँ—नयाँ कुराहरु अनुभव भइरहेको छ,’ उनले भनिन्, ‘मुटु सम्बन्धी धेरै किसिमका रोगहरु देख्न पाइएको छ, कम्प्लेक्स खालको उपचार पनि गंगालालले गरिरहेको छ । एकदमै खुसी छु ।’

कार्डियोलोजी प्रायाक्टिसमा रमाइरहेकी डा. सुरक्षा इन्टरभेन्सन कार्डियोलोजी गर्ने सोचमा छन् । ‘इलेक्ट्रोफिजियोलोजी (मुटुको धडकन सम्बन्धी) मा सुपरस्पेसियालिटी गर्ने इच्छा छ । धेरै वर्षदेखि यसैमा लागि परेकी छु’ उनले भावि योजनाबारे भनिन्, ‘मुटुको चालमा हुने अनियमितता सम्बन्धी उपचार पनि हाम्रो टिमले गर्छ । त्यही कारण गंगालालमा समय बिताउँदा छुट्टै सन्तुष्टी छ ।’

डा. सुरक्षालाई के कुराले खुसी दिन्छ ? ‘कतिजना बिरामी हुन्छन्, जो आफ्नो नाम खोज्दै आउँछन् । तपाईंले नै मेरो उपचार गर्नुभएको हो भन्दै खुसी भएर आउँछन्, सबैभन्दा ठूलो खुसी नै त्यही हो,’ उनी खुसीको कारण खोल्छिन्, ‘कतिले आएर तपाईंले नै मेरो ज्यान बचाउनुभएको हो भन्छन् । खोज्दै आएर आर्शिवाद दिन्छन्, त्यो नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।’ मुटु रोगबाट बच्न उनी दैनिक आधा घण्टा हिड्न र खानपिनमा विशेष ध्यान दिन सुझाव दिन्छन् ।

व्यस्त चिकित्सकको दैनिकी

डा. सुरक्षाका लागि फुर्सद निकै कम हुन्छ । तर, आकक्लझुक्कल प्राप्त हुने थोरै फुर्सदका क्षणहरुमा उनी आफ्नो सन्तानसँग बिताउँछन् । घुमघाममा रुचि भएपनि त्यो समय उनलाई उपलब्ध छैन । शनिबार एक दिन उनका श्रीमान बाल रोग विशेषज्ञ डा. अमृत घिमिरे र छोरा अभ्युदय घिमिरेसँग घुमघाममा निस्कन्छन् ।

सामान्य नेपाली खाना दाल, भात, तरकारी नै उनलाई मन पर्छ । दक्षिण भारतीय खानाहरु प्नि उनलाई मन पर्छन् । धेरै हेभी र जंक फुडहरु डा. सुरक्षाको खानपिन मेनुमा अट्दैन् । विहानै उठेर कालो चिया खान्छिन् । त्यसपछि उनको लन्चमा दाल, भात, तरकारी हुन्छ । दिउँसो हस्पिटलमै लाइट खाजा लिन्छिन् । सामान्यतयाः उनी साँझपख ८ बजेभित्र खाइसक्छन् । साँझको खानामा दाल, तरकारी, अक्सर भात र अक्सर रोटी हुन्छ ।

पहिरनमा काम गर्दा सहज हुने भएकाले प्रायः पाइन्ट र सर्ट नै उनको रोजाइमा पर्छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #इकोकार्डियोग्राम, #इलेक्ट्रोफिजियोलोजी, #एफसीपीएस, #एमबीबीएस, #कान्ति बाल अस्पताल, #कार्डियोलोजिष्ट, #गंगालाल हृद्धय रोग केन्द्र, #ग्यालेक्सी पब्लिक स्कुल, #डा. सुरक्षा जोशी, #धनगढी, #नेपाल आँखा अस्पताल, #नेपालगन्ज, #पिपुल्स युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्स फर वुमन, #प्रसुति गृह, #महेन्द्रनगर, #मुटुरोग विशेषज्ञ, #वीर अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ