२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसेवालाई कर्म बनाएकी हक्की स्वभावकी नर्स प्रा. तारा, जसको पहिलो तलब थियो २५० रुपैयाँ

सेवालाई कर्म बनाएकी हक्की स्वभावकी नर्स प्रा. तारा, जसको पहिलो तलब थियो २५० रुपैयाँ


४० वर्ष अनवरत नर्सिङ पेशा । अस्पतालमा बिरामीको सेवादेखि नर्सिङ अध्यापनसम्म । यो अवधिमा प्रा. तारा पोखरेलले जीवन र मृत्युलाई नजिकबाट नियालिन् । बिरामी सेवामा दृढ संकल्पका साथ तल्लीन मात्रै रहिनन्, देशको नर्सिङ जनशक्ति उत्पादनमा पनि टेवा पु¥याइन् । यतिमात्रै होइन्, नर्सहरुको हकहितका लागि काम गर्ने नेपाल नर्सिङ संघको अध्यक्षका रुपमा पनि उनले नर्सिङ अधिकारका पक्षमा काम गरिन् ।

पश्चिम नेपालको पहाडी जिल्ला स्याङ्जामा तारा भुसाल पोखरेलको जन्म भएको हो । उनको परिवार सामान्य खेतीमा निर्भर थियो । पहिलो सन्तान छोरा भएपनि अर्को छोरा पाउन उनका बाले दुई छोरी जन्माएका थिए । ‘एउटा आँखा के आँखा, फुटी गए कसरी संसार हेर्ने’ अर्थात् एउटा मात्र छोरा के छोरा केही भइहाले कसले पाल्छ ? यस्तो मान्यता बोकेको समाजमा उनी हुर्किएकी थिइन् । एकजना दाइ र एक जना दिदीपछि कि कान्छी हुन्—तारा । दुई छोरा पाउने उनको बुबाको सपना भने पूरा हुन सकेन् । छोरा जन्मिन्छ कि भनी आशा गरेको उनको परिवारमा छोरी ताराको जन्म भएको थियो ।

एक छोरा र एक छोरी जन्माइसकेकी ताराकी आमा जेठो छोरा जन्मेको १४ वर्षपछि छोरा पाउने आशमा गर्भवती भइन् । त्यसबेला टाढा—टाढा गाउँबाट ज्योतिषी बोलाईन्थ्यो । उनका बा ज्योतिषलाई सोध्ने गर्थे, ‘मेरो छोरा हुन्छ कि छोरी ?’ ज्योतिषले भनेका थिए— ‘तिम्रो त छोरा नै हुन्छ । खुब नाम र दाम कमाउने छ ।’ वि.सं. २०११ साल चैत्र २९ गते ताराले यो धर्तिमा पाइला टेकिन् ।

जन्मिदा कालो कपाल र गोरो वर्ण लिएर जन्मेकी तारालाई सबैले खुबै तारिफ गरे । भन्थे—कस्तो कालो कपाल भएको छोरी जन्मेकी साह्रै भाग्यमानी हुन्छन्, यस्ती नानी । तर, ताराका बुबाले भने छोरी जन्मेकोमा धेरै नै चित्त दुखाए । उनलाई त छोरा नजन्मेको कुराले पिरोलिरहेको थियो । रिसले आगो भएका तारका बुबा त्यसै दिन ज्योतिषको घरमा गएर उसलाई गाली पनि गरे रे । ११ वर्षको अन्तरालमा त्यही पनि छोरी पाए अब जेठो छोरा नि ठूलो भैसकेकाले उनका बुबाले एउटै छोरामा चित्त बुझाउनु परेको थियो ।

गाउँमा सानैदेखि छोरीहरुलाई घरको काम सिकाउने चलन थियो । घाँस काट्न जानु, रोटी पकाउन सिक्नु, गाई बाख्रा हेर्नुजस्ता काम गराइन्थ्यो । तर, ताराले भने यी काम गर्न परेन् । घाँस काट्न गए औलामा घाउ बनाएर घर आउने, गाई भैसी हेर्न गए लडेर चोट्पटक लगाएर आउने, रोटी पकाउन सिक्दा हात नै जलाउने, पानी लिन गए गाग्री नै लडाएर आउने हुँदा ताराको काम गर्ने शैलीबाट दिक्क भएर उनकी आमाले तारालाई घरको कुनै पनि काम गराइनन् ।

ताराको काम खेल्ने मात्र हुन्थ्यो । उनी सानैदेखि एकदमै चञ्चले स्वभावकी थिइन् । केही नौलो कुरा देख्यो कि सोधी हाल्ने । घाँसले छाएको घर, आगन छेउमै किमु बयर र बेलौतीका रुखहरु थिए । तारा ७ वर्षकी भएपछि ती रुखहरुमा चढ्न थालिन र गाउँका अरु केटाकेटीसँगै दिनभरी घर अगाडिका रुखमा खेलेर बस्थिन् । कहिले रुखमुनि घर—घर खेलेर त कहिले रुखमै डोरीको पिङ बनाएर पिङमा मच्चिएर खेल्ने गर्थिन् ।

घर पूर्व पट्टी छेउमा कटहरको रुख थियो । पूर्वपट्टी नै ३०० मिटरको दुरीमा खानेपानी भर्ने कुवा थियो । त्यसैले घरको पूर्वपट्टी फोहोर गर्यो भने नाग देवता लाग्छ र मान्छे बउँलाउँछ भन्थे । खासमा पूर्वपट्टी फोहोर फाल्यौ भने कुवाको पानी दुषित हुन्छ भनेर नाग लाग्छ भनेका रहेछन् । तर, त्यतिखेर नाग लाग्छ भनेपछि गाउँका केटाकेटी पूर्वपट्टी फोहोर गर्न डराउँथे ।

बाटोमा माटोसँग खेलिरहेकी ताराले एकदिन स्कुले केटाहरुको मुखबाट सुनिन्, ‘आज त बडा हाकिम आउँदैछन् ।’ अब उनलाई बडा हाकिम
भनेको के हो हेर्न पाए हुन्थ्यो भन्ने लाग्यो । उनी आफनो खेल छोडेर ती स्कुले केटाहरुसँगै स्कुलतर्फ दौडिइन् । स्कुले केटाहरु सबैका हातमा कालो पाटी र सेतो सरी थियो । उनी स्कुलसम्म गइनन् किनभने उनको हातमा ती केटाहरुको जस्तो कालो पाटी र सेतो खरी थिएन ।

त्यही दिन ताराले आफूसँग भएको एक रुपैयाँले कालो पाटी र सेतो खरी किनिन् र घर पर्किइन् । उनलाई लाग्यो कि बडा हाकिम हेर्न त स्कुल जानुपर्छ । त्यसैले अब भोलिबाट म पनि स्कुल जान्छु । बडा हाकिमलाई देख्न पाउँछु । यही सोच्दै उनी रमाइन् ।

साँझपख उनले आफू भोलिबाट स्कुल पढ्न जाने कुरा आमालाई सुनाइन् । आमाले उनलाई गाली गर्नसम्म गरिन् । गाउँमा छोरी मान्छेले स्कुल गएको देखेकी छेस भन्दै रिसाइन् । आफूले सोचेको कुरा हुनुपर्छ भन्ने सोच भएकी तारा यति चाँडै कहाँ हार मान्थिन् र ? उनले त्यो रात खाना नै खाइनन् । अर्को दिन पनि खाना खान नमानेपछि उनलाई आमा बाले स्कुल पठाउने कुरामा सहमति जनाए ।

त्यतिबेला गाउँमा छोरी मान्छे पढ्न जाने चलन थिएन । त्यसैले गाउँ—समाजले के भन्ने होलान् भन्ने पीर उनको बुबालाई थियो । ताराको जिद्दीको अगाडि उनका बुबाको पनि केही सीप चलेन् । उनी ८ वर्षको उमेरमा देउराली निम्न माध्यमिक विद्यालयमा भर्ना भइन् । विद्यालय जान थालेपछि उनले बडाहाकिम कहाँ छन् र कहाँ आएका हुनु भनेर आफ्ना सरहरुलाई सोध्दा बडाहाकिम त छाप र्मिमी भन्ने ठाउँमा आएका रहेछन् । त्यतिबेला सिडियोलाई बडाहाकिम भन्ने चलन थियो ।

वि.सं. २०१९ सालको कुरा हो तारा ८ वर्षको उमेरमा स्कुल गएकी थिइन् । स्कुलमा १५ जना केटाहरु थिए भने केटीमा एक्ली तारा मात्र थिइन् । त्यतिखेरको समयमा १ कक्षा अगाडि जान १ वर्ष कुर्नु पर्दैनथ्यो । तारा स्कुल गएको ३ महिना पछि नर्सरीबाट एक कक्षामा गएकी हुन् । उनी कक्षा दुईसम्म स्याङ्जा मै पढिन् । पछि उनको परिवार रुपन्देही बसाइँ सरेछी उनले पश्चिम पहुनी निम्न माध्यमिक विद्यालयमा पढ्न थालिन । स्याङ्जामा केटी मान्छेहरु उनीबाहेक कोही पनि बिद्यालय जादैन्थे । रुपन्देहीमा भने त्यतिखेर उनी जस्तै थुप्रै केटीहरु स्कुल पढ्न जान्थे । उनका थुप्रै केटी साथीहरु भए । उनले कक्षा ८ सम्म त्यही स्कुलमा पढिन् ।

कक्षा ८ को परीक्षा दिइसकेपछि उनका साथीहरुले नर्सिङ पढ्नुपर्छ भन्ने योजना बनाए । सानैदेखि आफूले सोचेको काम पुरा हुनुपर्छ भनी आँट गर्ने तारालाई आमाबुबाले नर्स पढ्नबाट पनि रोक्न सकेनन् । बढेकी छोरी घरबाट बाहिर कसरी पठाउने चिन्ता भने उनका आमा बामा थियो । उनीसहित चारजना साथीहरुले बुटवलबाट अनमी नर्सिङको लागि जाँच दिए । उनीहरु चारै जना पास पनि भए । त्यसपछि तारा साथीहरुसँगै वि.सं. २०२७ सालमा नौतुनाबाट भारत हुँदै नर्स पढ्न नेपालगन्ज गइन् । अहिलेको जस्तो सिधैं नेपालबाटै जाने गाडी पाइदैनथ्यो, त्यसबेला भारत भएर नेपालगन्ज जानुपथ्र्यो । नेपालगन्जको एउटा होस्टेलमा उनको बस्ने प्रबन्ध मिलाएर उनका बुबा घर फर्किएका थिए ।

नेपालगन्जमा अनमी पढेपछि उनी ९ महिनाका लागि मिडफाइवरी गर्न काठमाडौंको वीर अस्पतालमा आइन् । पढेपछि उनी फेरि नेपालगन्ज जाँच दिएर घर फर्किइन् । घर फर्किएको ३ महिनापछि हुलाकबाट एक दिन चिठी आयो । त्यो ताराले भोजपुर अस्पतालमा जागिर पाएको चिठी थियो । वि.सं. २०३० सालको कुरा हो, ताराले भोजपुर अस्पतालमा स्थायी जागिरे भएर काम गर्न थालिन् । उनले उतै निजी विद्यालयबाट एसएलसी पनि पास गरिन् ।

त्यसपछि ताराले पिसिएलको जाँच दिइन् । त्यो पनि पास भइन् । स्थायी जागिरेले काम छोडेर मात्र पढ्न पाइने भन्ने थियो । यति मेहनत गरेर स्थायी जागिरे भएकी उनलाई जागिर छोड्न मन थिएन् । उनलाई अहिले पनि सम्झना छ त्यतिखेर सुशीला थापा स्वास्थ्यमन्त्री थिइन् । कसैले स्वास्थ्यमन्त्रीले भनेपछि जागिरसँगै पढ्न पनि पाइन्छ भन्ने कुरा उनलाई सुनाइदियो । त्यसपछि ताराले मन्त्री सुशीलालाई भेट्ने योजना बनाइन् ।

सँगै पढ्ने तीन जना साथीसँगै उनी सिंहदबार गइन् । गेटका सुरक्षाकर्मीले सोधेपछि उनले आफूलाई स्वास्थ्यमन्त्रीले बोलाएको बताइन् । सुरक्षाकर्मीले उनीहरुलाई सहज रुपमा भित्र जान दिए । तारा र उनका साथीहरुले आफूहरुले मेहनत गरी पाएको जागिर नछाडेरै पढ्न पाउने व्यवस्था मिलाई दिन मन्त्री थापालाई अनुरोध गरे । उनीहरुको कुरा सुनेपछि मन्त्री थापाले एउटा कागजमा पढ्न पाउने भनेर लेखेर दिइन् । त्यसपछि उनीसहित उनका साथीहरुले काठमाडौं को शान्ता भवन नर्सिङ क्यापसमा भर्ना भएर पढ्न थाले । साथै, उनी भोजपुरबाट सरुवा भएर वीर अस्पतालमा जागिर पनि गर्न थालिन् । त्यतिखेर उनको तलब दुई सय १० रुपैयाँ हुने गथ्र्यो । ५० रुपैयाँमा खाना खान पुग्थ्यो ।
तीन वर्षपछि उनले पिसिएल पास गरिन् । र, उनी नेपालगन्ज नर्सिङ क्याम्पसमा साहयक प्रशिक्षक भएर पढाउन थालिन् । केही महिनाका लागि बुटवल गइन् । त्यसपछि उनको जागिर वीरगन्जमा भयो । बुटवल गएकै समयमा उनको भेट पाल्पाका यज्ञप्रसाद शर्मा पोखरेलसँग भयो । यज्ञप्रसाद कृषिमा जागिरे थिए । भेट भएको ७ महिनापछि घरसल्लाहमा उनको विहे भयो ।

विहेपछि वीर अस्पतालमा ब्याचलर इन नर्सिङमा नाम निकालेर पढ्न थालिन् । उनका श्रीमानको पनि काठमाडौंको कृषि आयोजना सेवा केन्द्रमा काम गर्थे । ताराले वि.सं. २०४१ सालमा बीएन सकेपछि जागिर गर्न फेरि वीरगन्ज गइन् । यो बीचमा उनको पहिलो सन्तान रुपमा छोरा जन्मिसकेका थिए ।

वीरगन्जबाट उनको सुरुवा पुनः काठामाडौं सरुवा भयो । त्यसपछि उनले बच्चा हुर्काउँदै काम गर्दै आइन् । उनका एक छोरा र तीन जना छोरी छन् । ताराले पोखरामा पनि केही समय काम गरिन । त्यसपछि वि.सं. २०५२ सालमा मास्टर्स ज्वाइन गरिन् । वि.सं. २०५४ सालमा उनले मास्टर्स पनि पास गरिन् । त्यसपछि काठमाडौंको महाराजगन्ज नर्सिङ क्याम्पसमा लेक्चरर, रिडर हुँदै त्रिभुवन विश्वविद्यालयको प्रोफेसर भएर काम गरिन् । यसरी उनी ६३ वर्षको उमेरमा सरकारी जागिरबाट वि.सं. २०७३ सालमा रिटायर्ड भएकी हुन् ।

जीवनको ४० बर्ष नर्सिङ करियरमा बिताएकी प्रा. तारा अहिले सेवानिवृत जीवन बिताइरहेकी छिन् । उनी भन्छिन्, ‘मैले नआटेको भए मेरो पनि गाउँमै माटोसँग खेल्दै जीवन बित्थ्यो । जीवन के हो सायदै बुझ्दैन्थे होला । मैले जीवनलाई एउटा सेवाको रुपमा लिएकी छु । अरुको सेवा गर्नु नै राम्रो कर्म होजस्तो लाग्छ ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ