२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलबेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं गरेका नाक, कान, घाँटी रोग विशेषज्ञ

बेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं गरेका नाक, कान, घाँटी रोग विशेषज्ञ


मौसममा भइरहने फेरबदल हुँदा फैलने भाइरल इन्फेक्सन, वायु प्रदुषणका कारण बढ्दैं गएको धुवा, धुलो र चर्काे ध्वनीका कारण उत्पन्न हुने स्वास्थ्य समस्या बढ्दै गएको छ । रुघाखोकी, ज्वरो, पिनास, शरीरका विभिन्न अंगहरुमा हुने एलर्जी, कानमा हुने विभिन्न किसिमका संक्रमणका कारण कम सुन्ने, कान पाक्नेलगायतका समस्याहरुको उपचार गर्ने विशेषज्ञ चिकित्सक अर्थात इएनटी सर्जनको संख्या अझै पनि नेपालमा निक्कै कम छ ।

पछिल्लो तथ्यांकअनुसार १ लाख ५० हजार जनसंख्या बराबर नेपालमा एक जना ईएनटी सर्जन छन् । तीमध्ये अधिकाश ईएनटी सर्जन राजधानी र सुविधासम्पन्न सहरमा छन् । अझै पनि नेपालका अधिकांश जिल्ला अस्पतालहरुमा ईएनटी सर्जनको दरबन्दी छैन ।

नाक, कान, घाँटी रोग सम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि प्रादेशिक वा केन्द्रीय अस्पताल तथा ठूला सहरहरुमा रहेका निजी स्वास्थ्य संस्थाहरुमा पुग्नुपर्ने बाध्यता छ । तर, मोफसलमा रहेर सेवा दिने थोरै विशेषज्ञ चिकित्सकहरुमध्ये एक हुन्—डा. आनन्द झा ।

मानसिक रोग विशेषज्ञको रुपमा जनकपुरबाट बेलायतमा गएर उतै सेटल भएका आफ्ना मामालाई पच्छाउदै डाक्टर बनेर बेलायत जाने लक्ष्य राखेर डा. आनन्द झाले पढाइमा मेहनत गरे । जनकपुरको सरस्वती माविबाट वि.सं. २०५२ मा एसएलसी र जनकपुरकै रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट आईएस्सी गरे । डाक्टर बन्ने लक्ष्य पूरा गर्नका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएसका लागि इन्ट्रान्स दिए । पहिलोपल्ट मै आनन्दको पूर्ण छात्रवृत्तिमा नाम निस्कियो । सन् २००३ मा उनी डाक्टरी सपना पछ्याउँदैं एमबीबीएस पढ्न विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान गए । त्यहाँबाट सन् २००८ मा उनले एमबीबीएस पास गरे ।

एमबीबीएस पास भएपछि केही समय छात्रवृत्ति करारमा सेवा गरे । त्यसपछि बेलायत जाने तयारी गरे । बेलायतबाट केही समयका लागि नेपाल फर्किएका मानसिक रोग विशेषज्ञ मामा डा. अरुणकुमार झालाई भेटेर आफ्नो बेलायत जाने सपना सुनाए । मामाले सम्झाउँदैं बेलायत न जान र आफ्नै देशमा सरकारी जागिर खाएर स्वदेशमै नाम र दाम कमाउन सल्लाह दिए ।

आफू बेलायत गएर त्यतै सेटल भएपनि खुसी हुन नसकेको अनुभव सुनाए । धनीको देशमा गएर गरिब भएर लो प्रोफाइलमा बस्नुभन्दा आफ्नै देशमा छिमेकीहरुको तुलनामा धनी र सुविधासम्पन्न भएर बस्दा खुसी र सुखी हुन सकिने अनुभव उनले बाँडे ।

बेलायतमा सेटल भएपनि आफू बस्ने घर अन्य छिमेकीभन्दा कम सुविधा र सानो भएको बताउँदैं आफ्नो सामाजिक जीवनको दायरा निकै साँघुरो भएको सुनाए । बेलायतमै हुर्किएका छोराहरु आफूहरुलाई छाडेर छुट्टै बस्न सुरु गरको बताउँदै अन्य बेलायती नागरिकका छोराहरुजस्तै व्यवहार आफ्ना छोराहरुमा पनि देखिन थालेको उनको अनुभव थियो ।

बेलायतमै सेटल भएपनि खुसी र सुखी हुन नसकेको मामाको अनुभव सुनेपछि डा. आनन्दले बेलायत जाने र उतै सेटल हुने सपना त्यागेर आफ्नै मातृभूमी मै करियर बनाउन सुरु गरे । केही समय काम गरेर अनुभव हासिल गरेर सरकारी जागिर खाने लक्ष्य बनाए ।

सरकारी सेवामै प्रवेश सोच बनाएका बेला आफैले पढेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै मेडिकल अफिसरको रुपमा काम गर्ने अवसर पाए । लोकसेवा आयोगले पनि त्यति नै बेला मेडिकल अधिकृतको विज्ञापन ग¥यो ।

वि.सं. २०६२/०६३ को जनआन्दोलन भर्खरै सकिएको थियो । विज्ञापन समावेसी नभएको मधेशी, जनजाति र दलितहरुका लागि आरक्षण नगरिएको भन्दै अदालतमा मुद्दा प¥यो । मुद्दाको फैसला हुनै करिब ४ वर्ष लाग्यो । अदालतमा मुद्दा परेका कारण लोकसेवा पास गरेर सरकारी जागिर खाने चाहना पूरा गर्न केही समय पर्खनुपर्ने भयो ।

धरानमै काम गरिरहेका बेला नेपाल प्रहरीका एक जना डिएसपी बिरामी भएर उपचारका लागि भर्ना भए । उपचारका क्रममा केही दिन भर्ना भएका नेपाल प्रहरीका डिएसपीले नेपाल प्रहरीमा डाक्टरको विज्ञापन खुलेको भन्दै फारम भर्न सल्लाह दिए । फारम भर्नका लागि सहयोग गरे । केही समयपछि परीक्षा भयो । परीक्षामा पास भए ।

परीक्षा पास गरेपछि करिब ४ महिना फिजिकल फिटनेशलगायत प्रहरी अधिकृत सम्बन्धी शारीरिक विशेष तालिम गरे । ‘प्रहरी अधिकृतको फिजिकल फिटनेशसहितको तालिम त मलाई एमबीबीएस पढाइभन्दा पनि गाह्रो लाग्यो,’ डा. झा सुनाउँछन्, ‘गाह्रै भएपनि तालिम पूरा गरेर प्रहरी सेवामा मेडिकल अफिसर इन्स्पेक्टरको रुपमा करियर सुरु गरे ।’ करिब ८ वर्ष मेडिकल अधिकृतका रुपमा प्रहरी अस्पताल महाराजगन्जमा काम गरे ।

प्रहरी अस्पतालमा काम गरिरहेका बेला सरकारी छात्रवृत्ति कोटामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ईएनटी सर्जन पढ्ने अवसर पाए । वि.सं. २०७२ सालमा विशेषज्ञता हासिल गर्न न्याम्स गए । वि.सं. २०७५ मा उनले न्याम्सबाट ईएनटी सर्जनको अध्ययन पूरा गरे । अध्ययन पूरा गरेको केही समयभित्र प्रहरी निरिक्षकबाट प्रहरी नायब उपरिक्षक (डिएसपी)मा बढुवा भयो । बढुवा भएको केही समयपछि प्रहरी अस्पताल महाराजगन्ज काठमाडौंबाट प्रहरी अस्पताल नेपालगन्जमा सरुवा भयो ।

वि.सं. २०७५ पुसदेखि डा. झा ईएनटी सर्जको रुपमा नेपालगन्जमा कार्यरत छन् । कार्यालय समयपछि उनी नेपालगन्जको निजी स्वास्थ्य संस्थामा पनि बिरामीको चेकजाच र सर्जरीसहितको उपचार सेवा दिदैं आएका छन् । करिब ४ वर्षकै अवधिमा डा. झाले नेपालगन्जमा अब्बल ईएनटी सर्जनको रुपमा आफूलाई स्थापित गराएका छन् । ईएनटी सर्जनको रुपमा राम्रो परिचय बनाएका डा. झाले नेपालगन्जलगायत छिमेकी जिल्लाका हजारौं बिरामीको सफल उपचार गरेर मन पनि जितेका छन् ।

नेपालगन्जको भेरी, नेपालगन्ज मेडिकल कलेज, प्रहरी अस्पतालमा गरी करिब एक दर्जन ईएनटी सर्जन छन् । डा. झाले भने सहकर्मीहरुको टिम बनाएर नेपालगन्जमै ईएनटी सम्बन्धी ठूला र जटिल प्रकृतिका सर्जरीसमेत गर्दै आएका छन् ।

डा. झाको अनुभवमा नेपालमा ईएनटी सम्बन्धी स्वास्थ्य समस्याको मुख्य कारण चार वटा छन् । पहिलो सरसफाइमा हेलचेक्र्याई, दोस्रो साँघुरो घर तथा कोठामा परिवारका धेरै सदस्य बस्नुपर्ने बाध्यताका कारण हुने संक्रमण, तेस्रो स्वास्थ्य शिक्षा सम्बन्धी आधारभूत ज्ञानको कमी र चौथो समयमै सही उपचार नहुनु हो । ‘नाक, कान, घाँटी सम्बन्धी करिब ८० प्रतिशत स्वास्थ्य समस्याको सुरुवात रुघाखोकीबाट हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले रुघाखोकी त हो नि आफै ठिक भइहाल्छ भनेर हेलचेक्रयाई गर्नु हुँदैन् ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #कान, #घाँटी रोग विशेषज्ञ, #डा. आनन्द झा, #नाक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ