२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलबेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु

बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु

भन्छिन्, ‘सबैमा नेगेटिभिटी बढ्दा समस्या भयो । डाक्टर र बिरामीबीचको विश्वासको डोरी बलियो बनाउनुपर्छ ।’


डा. अञ्जु थापा म्याग्दीको बेनी अस्पतालकी निमित्त मेसु हुन् । स्वास्थ्य सेवाको नवौं तहकी सरकारी जागिरे उनी पेशाले स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । आफू कार्यरत रहेको ठाउँमा केही नयाँ गर्ने हुटहुटी बोकेकी ३५ वर्षीया युवा चिकित्सक डा. अञ्जु आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउन लागिरहेकी छिन् ।

युवाशक्तिलाई परिवर्तनको संवाहक मानिन्छ । स्वास्थ्य सेवामा डा. अञ्जुजस्ता युवा चिकित्सकहरु अहिले पनि केही नवीन प्रयासहरु गरिरहेका छन् । त्यो नवीन प्रयासको केन्द्रमा छ आम मानिसको स्वास्थ्य सेवासँग सहज पहुँच । त्यही सहज पहुँचलाई ध्यान दिदैं उनले बेनीमा विस्तारित ओपीडी सेवा सुरु गरेकी छन् । जसले कामकाजी मानिसहरुसम्म स्वास्थ्य सेवा सहज रुपमा पुग्नेछ ।

वि.सं. २०४५ सालमा रुपन्देहीको देवदह नगरपालिकामा जन्मिएकी हुन्— अञ्जु । उनका बुबा अमर थापा निजी विद्यालयका शिक्षक थिए भने आमा मीना थापा स्वास्थ्य स्वयंसेविका । परिवारको मुख्य पेशा कृषि थियो । सरकारी स्कुलबाटै उनको शिक्षादीक्षा अगाडि बढेको हो । जिल्लाभरका सरकारी विद्यालयमध्येबाट एसएलसीमा उनी दोस्रो स्थानमा ल्याउन सफल भइन् ।

त्यसपछि उनले तिलोत्तमा क्याम्पसमा विज्ञान विषय लिएर प्लस छु अध्ययन गरिन् । प्लस टु राम्रै अंकका साथ उत्तीर्ण गरेपछि उनी डाक्टरी पढ्न चाहन्थिन् । तर, निजी खर्चमा एमबीबीएस पढ्न उनका लागि सहज थिएन् । उनलाई एमबीबीएस पढ्न भिजन फर द वल्र्ड अप्टीकल इन्स्टुमेन्ट म्यानुफ्याक्चरिङ कम्पनी जर्मनीबाट स्पोन्सरसीप प्राप्त भयो । आमा महिला स्वास्थ्य स्वयंसेविका भएकै कारण स्पोन्सरसीप प्राप्त गर्न सहज भएको अन्जु सुनाउँछिन् ।

उनको डाक्टरी पढाइ वीरगन्जस्थित त्रिविअन्तर्गतको नेशनल मेडिकल कलेजमा अगाडि बढ्यो । वि.सं. २०७१ सालमा उनले त्यहीबाट एमबीबीएस उत्तीर्ण गरिन् । त्यसपछि दमौलीमा मेडिकल अधिकृतका रुपमा काम गरिन् । अञ्जु एमबीबीएस अध्ययन गरिरहेकै बेला उनकी आमाकी साथीको मृत्यु भयो । यो घटनाले डा. अञ्जुमा महिला स्वास्थ्यमा काम गर्न गहिरो प्रभाव छाड्यो ।

यहीबीच डा. अन्जु वि.सं. २०७१ सालमा डा. अनिल गिरीसँग विवाह बन्धनमा बाँधिइन् ।

उनलाई स्त्री तथा प्रसुति रोगमा एमडी पढ्न र विशेषगरी महिलाको सेवा गर्न आमाले प्रेरित गरिन् । उनकी आमा अहिले पनि स्वयंसेविकाको काम गरिरहेकी छन् । एमडी पढ्न उनले सरकारी छात्रवृत्ति प्राप्त गरिन् । स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गर्न सरकारी छात्रवृत्ति प्राप्त गरेपछि उनी वि.सं. २०७३ सालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गइन् । वि.सं. ०७६ सालमा उनले स्त्री तथा प्रसुति रोगका विशेषज्ञता हासिल गरिन् ।

त्यसपछि वि.सं. २०७५ मा उनको छात्रवृत्ति करार सुरु भयो । ‘२ वर्ष सुनसरीको चतरा अस्पतालमा छात्रवृत्ति करारमा काम गरे,’ डा. अञ्जु भन्छिन्, ‘घरमै सुत्केरी गराएका कारण सुत्केरीको मृत्यु भएका घटनाले ममा विस्तारित ओपिडी सेवाको सोच आयो ।’ त्यही सोचलाई उनले चतरा प्राथमिक स्वास्थ्य केन्द्रमा लागु गरिन् । उनी र उनका छात्रवृति करारका २ जना अन्य साथीको टिमले बिहान ७ देखि बेलका ८ बजेसम्मको विस्तारित सेवा वि.सं. ०७५ भदौबाट चतरामा सुरु गरेका थिए ।

विहान ४ बजेदेखि नै अस्पतालमा बिरामीको लाइन लाग्थ्यो । तर, काउण्टर भने ८ बजेमात्रै खुल्थ्यो । सोही परिस्थिती बुझेर नै देशैभरि गर्न नसकेपनि केही गरौं न भन्ने उद्देश्यले चतरामा बिहान ७ देखि बेलुका ८ बजेसम्म ओपिडी सेवा सञ्चालनमा ल्याएको उनले सुनाइन् । चतरा प्राथमिक उपचार केन्द्रलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नती गर्न पनि विस्तारित सेवाले सहयोग ग¥यो । चतरामा रहँदा डा. अञ्जुलाई शिविरमा जाने र त्यहाँको अवस्था बुझ्ने अवसर पनि मिल्यो ।

वि.सं. ०७८ मा छात्रवृत्ति करारको सेवा पूरा गरेपछि एक वर्ष उनले पाटन अस्पतालमा काम गरिन् । वि.सं. ०७९ चैतमा लोकसेवा उत्तीर्ण गरेपछि उनको पोस्टिङ बेनी अस्पतालमा भएको हो । डा. अञ्जुले अहिले म्याग्दीको बेनीमा पनि हप्ताका सातै दिन र बिदाका दिनसमेत १३ घण्टा मेडिकल अधिकृतमार्फत ओपीडी सेवा सुरु गरेकी छन् । ‘लोकसेवामा नाम निकालेर बेनीमा ६ महिना अघि आएकी थिएँ । तत्काल बेनीमा पनि सुरु गर्न त सकिन्थ्यो तर यहाँको परिस्थितीले उपयुक्त हुन्छ कि हुँदैन भन्ने बुझ्न समय लाग्यो,’ उनी भन्छिन्, ‘कपी क्याट गर्न खोजेको पाइन्छ । कपी क्याट गर्न खोजेको होइन । कन्भिन्स गरेर, बेसिक जनशक्ति व्यवस्थापन गरेर, आवश्यक परे ओभरटाइम पनि गर्ने गरी काम थालेका हौं ।’

बेनी अस्पतालमा विस्तारित ओपीडी सेवाको २१ देखि ३० असोजसम्म ट्रायल गरेपछि मात्रै यो कार्यक्रम लागु गरिएको उनले बताइन् । अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा विस्तार गरेर म्याग्दीवासीको मन जितेकी छन् । ‘५० देखि ६० जना इमर्जेन्सीमा आउनुहुन्थो । १० देखि १५ जनाले रिपोर्ट देखाएर जाने गर्नुभएको छ, हामीले प्रचार—प्रसार गरेका छैनौं,’ डा. अञ्जु भन्छिन्, ‘५० देखि ६० जना हुने गरेकोमा अहिले इमर्जेन्सीमा २० देखि ४० जनामात्रै भएकाले भिड घट्यो । भोलिपल्ट कुर्नुपरेन । रिपोर्ट देखाउन पाए ।’ गर्मी समयमा २ सय ५० देखि ३ सय हाराहारीमा दैनिक ओपिडी बिरामी आउने बेनी अस्पतालमा जाडोको समयमा भने अलि कम बिरामी आउने गरेको उनले बताइन् ।

विस्तारित सेवाका कारण इमर्जेन्सीमा आउने बिरामीको चाप घटेको छ भने कार्यलयमा व्यस्त रहने मानिसहरुले बिहान, बेलुका पनि मेडिकल अधिकृतबाट ओपिडी सेवा सहजै लिन पाएका छन् । भएकै जनशक्ति परिचालन गरी ओपीडी सेवा विस्तार गरेर उनले सेवा प्रवाहमा नयाँ आयाम थपेकी छन् । गण्डकी प्रदेशमै बेनी अस्पतालमा पहिलो पटक यस प्रकारको सेवा सुरु भएको हो । अन्य अस्पतालहरुलाई जनशक्ति, बिरामीको संख्यालगायतका कुरालाई ध्यान दिएर सेवा कसरी सहज तरिकाले दिन सकिन्छ भन्नेमा ध्यान दिन उनी आग्रह गर्छिन् । भौगोलिक, सामाजिक, आर्थिकलगायत कुराले समेत सेवा प्रवाहमा प्रभाव पार्छ । ‘सबै ठाउँमा एकै खालको सेवा प्रवाह आवश्यक पर्छ भन्ने होइन्,’ उनी भन्छिन्, ‘अस्पतालको अवस्था हेरेर छुट्टै नीति कार्यक्रम बनाउन सकिन्छ ।’

‘एक स्वास्थ्य संस्था, एक चिकित्सक/स्वास्थ्यकर्मी’ कार्यक्रम सार्थक बनाएर लागु गर्न सकेमात्रै सरकारी अस्पतालले राम्रोसँग सेवा प्रवाह गर्न सक्छन् । डा. अञ्जु स्वास्थ्य संस्थाको उन्नती र प्रगतिमा सबैको तर्फबाट जिम्मेवारी बहन गर्नुपर्ने धारणा राख्छिन् । ‘दुर्गममा पुगेर सेवा दिन जटिलता छन् । जहाँ गएर पनि काम गर्ने वातावरण बनाइदिनुपर्छ,’ उनी भन्छिन्, ‘सातै दिन २४ सै घण्टा काम गर्नेको फिल्डमा अनुगमन, निरीक्षण, छड्के जाँच गरियोस् र कामको कदर गरियो भन्ने हो ।’

कन्सल्ट्यान्टका लागि करार सेवामा विज्ञापन खोल्दा पनि जनशक्ति नपाएको अवस्था छ । मुलुकमा ब्रेन ड्रेन डरलाग्दो अवस्थामा छ । ‘यो समस्या समाधान कसरी गर्न सकिन्छ ? सेन्ट्ररतिर भएका एक्टिभिटी जटिल खालका छन्,’ डा. अञ्जु चिन्ता जाहेर गर्छिन्, ‘माथिदेखि तलसम्म नीति निर्माणमा पुनःर्विचार गर्नुपर्छ ।’ जिल्ला, नगरलगायत साना अस्पतालमा सुरुमै जटिल समस्या नहुँदैका बिरामीलाई सेवा दिन केन्द्रमा चाप बढी भएको उनको बुझाइ छ ।

पछिल्लो समय चिकित्सकप्रतिको व्यवहार, बिरामीको सोच सबैमा नेगेटिभिटी बढेको महसुस गरेको उनी सुनाउँछिन् । ‘हाम्रो बुबाको बेला नोबेल प्रोफेसन हो भन्ने अवस्था थियो । अहिले डाक्टर र बिरामीको ग्याप बढिरहेको छ । घटनाहरुको सामना गर्न नपरेतापनि म सही छु भन्दाभन्दा भन्दै पनि मनमा कता—कता डर भएर नै काम गर्नुपर्ने अवस्था छ ।’ तत्कालै स्वास्थ्य सेवा रहेको डरलाग्दो वातावरण हटाउन नसके र सचेतना शिक्षा पु¥याउन नसके भविष्यमा स्थिति झन् भयावह हुनसक्ने सम्भावना उनले देखेकी छन् । त्यसका लागि डाक्टर र बिरामीबीच विश्वासको डोरीलाई बलियो बनाउनुपर्ने उनी बताउँछिन् । १० वर्षअघि एमबीबीएस पढ्ने बेलाको तुलनामा अहिले नेगेटिभिटी बढीरहेको भन्दै सबैमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको डा. अञ्जुको मत छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ