२०८२ साउन १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलएरा इन्टरनेशनल अस्पताल हाँकिरहेकी ३५ वर्षीया डा. सुरक्षा

एरा इन्टरनेशनल अस्पताल हाँकिरहेकी ३५ वर्षीया डा. सुरक्षा


एरा इन्टरनेशनल अस्पतालकी मेडिकल निर्देशक हुन्—डा. सुरक्षा बाँस्कोटा । उमेर ३५ वर्षीया उनी संसारभरबाट नेपाल आउने पर्यटकहरुलाई उपचार गर्ने एरा इन्टरनेशनल अस्पतालको स्ट्याण्डर्ड कायम गर्न, अस्पतालका सेवाहरुलाई गुणस्तरीय र प्रभावकारी बनाउन एक वर्षयता विशेष भूमिका निर्वाह गरिरहेकी छन् । त्यसबाहेक ट्राभल मेडिसिन आधारित १५ शैय्याको यो अस्पतालका दैनिक काम-कारवाही र कर्मचारी खटन—पटन उनको पृथक शैली झल्किन्छ । डा. सुरक्षा बाँस्कोटा एक पर्फेक्ट चिकित्सकका रुपमा त छदैंछन्, उनले आफ्नो व्यवस्थापकीय कौशल पनि अस्पतालमा देखाइरहेकी छन् ।

जसका कारण अस्पतालमा बिरामीको संख्या निरन्तर बढ्ने क्रममा छ भने अस्पताल सेवा विस्तार पनि गरिरहेको छ । ९ वर्षअघि सञ्चालनमा आएको एरा इन्टरनेशनल अस्पतालको मेडिकल नेतृत्व गरिरहेकी डा. सुरक्षाको जन्म वि.सं. २०४६ साल साउनमा काठमाडौंमा भएको हो । बुवा पुष्पराज बाँस्कोटा र आमा रमा सुवेदी बाँस्कोटामा दुई सन्तानमध्ये सुरक्षा कान्छी हुन् । उनका बुवा सरकारी जागिरे थिए भने आमा वीर अस्पतालकी स्टाफ नर्स ।

सुरक्षा जन्मँदा उनको परिवार चाबहिलमा बस्थ्यो पछि कुलेश्वरमा बसाइँ सरे । कुलेश्वरको प्यारामाउण्ट स्कुलबाट उनको शिक्षादीक्षा अगाडि बढ्यो । स्कुल जीवनमा उनलाई विज्ञान र अंग्रेजी एकदमै मनपर्ने विषय थिए । ‘यी दुई विषयमा मेरो एकदमै राम्रो नम्बर आउथ्यो,’ उनी सम्झिन्छिन् ।

पढाइबाहेक डा. सुरक्षाको अतिरिक्त क्रियाकलापमा पनि उचिकै रुची थियो । वादविवाद, निबन्धसँगै भलिबल, ब्याडमिन्टनजस्ता खेलहरुमा पनि उनको रुचि थियो । ‘त्यो बेला बाल पत्रिकामा लेखहरु पनि लेख्थे,’ डा. सुरक्षा स्मरण गर्छिन्, ‘रंग भर्नेलगायतका पत्रपत्रिकाका सेगमेन्टहरु मलाई मन पर्थे ।’

उनले प्यारामाउण्टबाट फर्स्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् । एसएलसी उत्तीर्ण गरेपछि उनी विज्ञान अध्ययन गर्नका लागि एभरेष्ट कलेजमा भर्ना भइन् । आमा नर्स भएकाले चिकित्सकको दुःख नजिकबाट अनुभव गरेकी थिइन्, त्यही कारण उनी छोरीलाई डाक्टरका दुःखबारे सुनाइरहिन्थन् ।

‘पैसा खल्तीमा हुँदा पनि खाने समय पनि पाइदैंन नानी डाक्टर नबन्नु,’ आमाले भनेको उदृत गर्दै उनले सुनाइन् । त्यही कारण स्कुलको पढाइ सक्दा उनलाई डाक्टर, नर्स र शिक्षक कहिल्यै बन्दिनँ भन्ने लाग्थ्यो । तर, जब कलेजमा साथीहरुको संगतमा पुगिन सोचाइ परिवर्तन भयो । ‘पछि साथीहरुको संगतले म आफ्नै रुचिले डाक्टरी पढ्न चाहे,’ उनी भन्छिन् ।

त्यही कारण डा. सुरक्षा प्लस टुपछि एमबीबीएस अध्ययनका लागि जनकपुरस्थित जानकी मेडिकल गइन् । ‘एमबीबीएस गाह्रो जर्नी हो, मेहनत पनि एकदमै धेरै गर्नुपर्छ,’ डा. सुरक्षा एमबीबीएस पढाइबारे भन्छिन्, ‘एकदमै धेरै पढ्नुपथ्र्यो ।’ उसो त स्कुल र प्लस टु जीवनमा उनलाई नपढ्ने पनि नम्बर आउने जस्तो लाग्थ्यो तर एमबीबीएस नपढीकन सुखै थिएन् । डा. सुरक्षाले एमबीबीएसमा कडा मेहनत गरिन् । परिणाम नै मान्नुपर्छ, नियमित एमबीबीएसको अध्ययन पूरा गरिन् ।

त्रिविअन्तर्गतको जानकी मेडिकल कलेजमा क्यालेन्डरअनुसार परीक्षा र रिजल्ट नआउँदा उनले झण्डै ६ वर्ष एमबीबीएसकै लागि खर्चिइन् । ‘रेगुलर पास हुँदा पनि टियुमा एमबीबीएस पास गर्नका लागि साढे ६ वर्ष लाग्यो,’ उनले भनिन्, ‘कोर्स साढे पाँच वर्षको हो ।’ एमबीबीएस सकेपछि उनी काठमाडौं आएर निजामती कर्मचारी अस्पतालमा मेडिकल अधिकृतका रुपमा काम गरिन् ।

लगतै, उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एमडिजिपीमा पिजी गर्न छात्रवृत्ति पाइन् । एमडिजीपीका रेजिडेन्टले सबै विभागहरुमा काम गर्नुपथ्र्यो, सर्जिकल विभागमा काम गर्नका लागि उनी चितवनस्थित भरतपुर अस्पताल गइन् । ‘धादिङ अस्पतालमा पेरीफेरि पोष्टिङ भएको थियो,’ डा. सुरक्षा भन्छिन्, ‘वीर, सिभिल, कान्ति, मानसिक अस्पताल पाटनमा पनि काम गरे ।’ धेरैतिर पोष्टिङ, धेरैजना विशेषज्ञहरुसँगको सिकाइ र धेरै जना साथीहरु भएकाले न्याम्सको रेजिडेन्सी उनका लागि उत्कृष्ट सिकाइ बन्यो ।

अरु रेजिडेन्सीका विद्यार्थीहरु आफ्नै विभागमा मात्रै केन्द्रीत हुन्थे तर एमडिजीपीहरुले सबै विभागमा सिक्नुपर्ने भएकाले उनी आफूलाई एमडिजीपी सकिएको पत्तै नभएको बताउँछिन् । वि.सं. २०७५ सालमा एमडिजीपी सकेपछि उनी सरकारसँगको छात्रवृत्ति करारअनुसार झापाको दमक अस्पताल गइन् । ‘त्यो अस्पतालमा जाने म पहिलो कन्सल्ट्यान्ट थिए,’ उनी भन्छिन्, ‘हेल्थपोष्टबाट अस्पतालमा स्तरोन्नती भएको एक डेढ वर्षमात्रै भएको थियो ।’

डा. सुरक्षा दमक अस्पताल पुग्दा एक जना स्थायी मेडिकल अधिकृतमात्रै र अन्य ४२ जनाजति कर्मचारी थिए । अस्पतालमा प्रसूतिलगायका सेवाहरु थिएनन् । ‘हामी सबै जना मिलेर काम गर्‍यौं, काम गर्नका लागि सबै जना एकदमै उत्सुक हुनुहुन्थ्यो,’ दमक अस्पतालका सुरुवाती दिनहरुबारेमा उनी भन्छिन्, ‘निक साइमन्ससँग पनि मेरो बन्ड भएकाले तालिम, इक्वीपमेन्टहरुमा उहाँहरुले सहयोग गर्नुभयो ।’ डा. सुरक्षाले शल्यक्रियालगायतका सेवाहरु सुरुवात गरेर उनले दमक अस्पताललाई अस्पतालजस्तो बनाइन् ।

दमक अस्पतालमा बिरामीहरु बढ्दैं गएपछि अन्य कन्सल्ट्यान्टहरु पनि आउन थाले । विस्तारै अस्पतालले डर्माटोलोजी, अर्थोपेडिक्सजस्ता विधाका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्यायो । ‘पहिलेको र अहिलेको दमक अस्पताल आकाश पाताल फरक छ,’ डा. सुरक्षा भन्छिन्, ‘म सुरुमा जाँदाखेरि हामी १२ बजे ओपीडी सकेर चियाँ खान गइसकेका हुन्थ्यौं । सेवाहरु नभएकाले बिरामी नै हुँदैन्थ्यो ।’ पछि त उनी एक्लैले १ सयदेखि १ सय ५० जनासम्म बिरामी ओपीडीमा हेर्थिन् भने अस्पतालमा ८—९ सय बिरामीहरु ओपीडीमा आउँथे । सिएस, डेलिभरी एटेन्ड, माइनर प्रोसिडरजस्ता कामहरु गर्दा त दमक छाड्नुअघिका ६ महिना निकै व्यस्त भइन् ।

सुत्केरी अवस्थामा पनि डा. सुरक्षा बिरामीलाई सेवा दिइरहिन् । वि.सं. २०७८ मा उनको छात्रवृत्ति करार सकियो । उनी अस्पतालबाट बाहिरिदा अस्पतालमा झण्डै १०० बढी कर्मचारी थिए । त्यसपछि उनी विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इमर्जेन्सी विभागको प्रमुखका रुपमा काम गर्न थालिन् । तीन वर्ष नोबेल मेडिकल कलेजको इमर्जेन्सीमा काम गरेपछि उनी काठमाडौं फर्किइन् । काठमाडौं फर्केपछि उनले फर्पिङस्थित मनमोहन सामुदायिक अस्पतालमा बिरामीलाई सेवा दिइन् ।

एक वर्षयता भने डा. सुरक्षा स्रोहखुट्टेस्थित एरा अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल निर्देशकका रुपमा कार्यरत छन् । दमकमा सिकेको जनशक्ति व्यवस्थापन र संस्थागत नेतृत्वकै कारण एराले उनको नेतृत्वमा सेवामा सुधार तथा प्रगति पनि गरिरहेको छ । ‘दमक अस्पतालले मलाई लिड गर्न सिकायो किनभने त्यो मेरो पहिलो जागिर पनि थियो,’ उनले दमक अनुभव बाँडिन्,‘म जे पनि गर्न सक्छु भन्ने कन्फिडेन्ट पनि दमकले नै दिएको हो ।’ दमक अस्पतालमा आफूले अस्पताल व्यवस्थापन, संयोजन, जनशक्ति परिचालनलगायतका कुराहरु मिहिन रुपमा सिक्ने अवसर पाएको उनले सुनाइन् ।

टिम परिचालनको फर्मुला के हो ? भन्छिन्, ‘कामका नतिजा देखाउनका लागि टिमको विश्वास जित्नुपर्छ । हाकिम पारा देखाएर दबाब दिन थाल्यो भने काम हुन्छजस्तो मलाई लाग्दैन् ।’ उनी स्वयं पनि दबाबमा काम गर्न मन पराउँदिनन् । सबैलाई इज्जत र सम्मान दिनुपर्ने उनको मत छ । सबै कर्मचारीलाई इज्जत र सम्मान दिने उनको यही शैलीले एराका कर्मचारीको मन जितेको छ । त्यसबाहेक नेतृत्वले पनि काम गर्नुपर्ने उनी बताउँछिन् । ‘नेतृत्व आफै काममा खटिँदा अरुलाई पनि काम गर्न सकारात्मक उर्जा प्राप्त हुन्छ,’ उनी भन्छिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ