२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने

बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने

६२९ जनशक्ति करारमा थप्ने दरबन्दी क्याबिनेट लगिदैं


काठमाडौं—बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत ५ सय ३४ जना करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । २८ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले प्रदेशअन्तर्गतका अस्पताल, स्वास्थ्य संस्थाहरु कार्यरत करारका कर्मचारीको असार मसान्तपछि सम्झौता नवीकरण नगर्न मातहतका सबै निकायलाई परिपत्र गरिसकेको छ ।

‘प्रस्तुत विषयमा यस मन्त्रालय र मातहतका कार्यलयहरुमा २०७९ साल जेष्ठ मसान्तअघि करार सम्झौता भएका करार सेवामा÷अस्थायी दरबन्दीमा कार्यरत सम्पूर्ण कर्मचारी (स्थायी दरबन्दीमा कार्यरत करार र अस्पताल व्यवस्थापन समिति करारबाहेक) २०७९ असार मसान्तपछि अर्को व्यवस्था नभएसम्म म्याद थप नगर्न यस मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९/०३/२८ गतेको निर्णअनुसार अनुरोध छ,’ मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ ।

प्रदेश मन्त्रालयअन्तर्गत २६ वटा अस्पताल सञ्चालनमा छन् । त्यसबाहेक प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशाला धुलिखेल र १३ वटा स्वास्थ्य कार्यलयहरु छन् । ती सबै ठाउँमा स्थायी दरबन्दीमा कार्यरत करार र अस्पताल व्यवस्थापन समिति करारबाहेकका ५ सय ३४ करार सेवाका कर्मचारी कार्यरत छन् ।

प्रदेशअन्तर्गतको भक्तपुर अस्पतालमा ६१ जना मात्रै स्थायी कर्मचारी छन् । करारका कर्मचारीको संख्या २२० जना छ । तर, त्यसमध्ये स्थायी दरबन्दी करार र अस्पताल व्यवस्थापन समिति करारको जनशक्ति कम छ । ‘करारका कर्मचारी एकै पटक हटाउँदा सेवामा प्रभाव त परिहाल्छ,’ भक्तपुरका मेसु डा. श्रीधर अर्यालले भने, ‘कोभिड—१९ कम भएका कारण उहाँहरुले हटाउने भन्नुभएको होला । यस विषयमा केही सोचेरै निर्णय लिनुभएको होला ।’

यस्तै, नुवाकोटस्थित त्रिशुली अस्पतालमा १६० जना कर्मचारी कार्यरत छन् । जसमध्ये स्थायी र अस्पताल व्यवस्थापन समितिका गरी ६० जना कर्मचारी छन् भने १०० जना कर्मचारी अन्य करारका छन् । ‘हाम्रो अस्पतालमा स्थायी र समितिका करार गरी ६० जना कर्मचारी छन्,’ त्रिशुली अस्पतालका अध्यक्ष राजु पण्डितले भने, ‘१०० जना कर्मचारी विभिन्न कार्यक्रम र कोभिडका हुन् । यो निर्णयपछि ती कर्मचारीको करार सम्झौता सकिन्छ ।’

त्यसले अस्पताल चलाउन समस्या पर्ने उनले बताए । ‘यति धेरै कर्मचारीको करार सम्झौता नवीकरण नभएपछि अस्पतालका सेवाहरु सञ्चालन गर्न गाह्रो त परिहाल्छ,’ उनले भने, ‘तर, मलाई मन्त्रालयका सचिवज्यूले एक महिना चलाउनुस् । एक महिनाभित्रै आवश्यक कर्मचारी दिन्छु भन्नुभएको छ ।’

सिन्धुली अस्पतालका मेसु डा. उमेश प्रधानले मन्त्रालयको परिपत्रअनुसार ३० जनाजति करारका कर्मचारी कटौती हुने बताए । ‘म यस विषयमा बुझ्छु, बाहिर थिए,’ उनले भने, ‘सचिवज्यूसँग कुरा गरेपछि सबै थाहा होला ।’

दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पतालमा ७० जना कर्मचारीमध्ये ७ जना स्थायी अरु सबै करार कर्मचारी छन् । जसमध्ये अधिकांश कोभिड—१९ र विभिन्न कार्यक्रमका छन् ।

स्रोतकाअनुसार बागमतीको स्वास्थ्य मन्त्रालयले करारका कर्मचारीहरु कटौती गरेर त्यही संख्यामा करार सेवामा आवेदन खोलेर एक महिनाभित्रै पूर्ति गर्ने तयारी गरेको छ । करारका कर्मचारी हटाएपछि अस्पताल सञ्चालनमा समस्या आउँदैन भन्ने हेल्थआवाजको प्रश्नमा बागमतीका स्वास्थ्य मन्त्री निमा लामाले यसबारेमा बुझेर भन्ने प्रतिक्रिया दिए । ‘मलाई थाहा छैन । यस विषयमा म बुझेर प्रतिक्रिया दिन्छु,’ उनले भने ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले प्रदेश सरकारले करार दरबन्दी प्रत्येक वर्ष पास गर्नुपर्ने भएकाले पुराना करारका कर्मचारीको करार नथप्न पत्राचार गरिएको बताए । ‘नयाँ करारको दरबन्दी हामीले तयार पारेका छौं,’ उनले भने, ‘क्याबिनेटबाट पास भएपछि पुनः करारका कर्मचारी पूर्ति गर्छौ ।’

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालकाअनुसार अहिले कोभिड—१९ नभएकाले धेरैजसो कोभिड—१९ तर्फका करारका कर्मचारी र कार्यक्रमतर्फका कर्मचारी गरी ५३४ जना हट्नेछन् । ‘प्रस्तावित नयाँ दरबन्दी ६२९ जनाको बनाएर क्याबिनेट लैजाने तयारीमा छौं,’ उनले भने, ‘त्यो पास हुने बितिकै अस्पतालको जनशक्तिको समस्या समाधान हुन्छ ।’


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ