२०८२ चैत्र २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति

विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति

‘बिरामीप्रति पेशागत व्यवहार उत्प्रेरणा समिति'लाई प्रभावकारी बनाइने


काठमाडौं—विपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठानले सेवालाई गुणस्तरी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन विभिन्न १३ बुँदे निर्णय गरेको छ । १८ चैतमा बालेन सरकारको शासकीय सुधार कार्यसूचीअन्तर्गत प्रतिष्ठानको सेवालाई प्रभावकारी बनाउन उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको प्रतिष्ठानको उच्चस्तरीय बैठकले स्वास्थ्य सेवा क्षेत्रमा वृहत परिवर्तन ल्याउन उक्त निर्णय गरेको प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रतिष्ठानका शिक्षण, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु विहान ८ः३० बजेभन्दा ढिला र ४ः४५ बजेभन्दा छिटो गएमा गयल हुने बायोमेष्ट्रिक एटेन्डेन्ट प्रणाली रहेकामा कुनै कारणले ढिलो भएमा कारण खुलाई निवेदन दिनुपर्ने व्यवस्थालाई अझ प्रभावकारी बनाउन हाजिरी मोनिटरिङ समिति गठन गरेको छ । प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा गठित उक्त समितिले हाजिरी सुपरिवेक्षण एवं सुनिश्चित गर्नेछ ।

प्रतिष्ठानले उपलब्ध गराउँदैं आएको १० प्रतिशत निःशुल्क शय्या सेवा थप पारदर्शी व्यवस्थित र उत्तरदायी बनाउन, सेवा लिइरहेका बिरामीको विवरण रियल टाइम लाइभ ड्यासबोर्डमा सार्वजनिक गर्ने व्यवस्था मिलाउने, बिरामी रेफरल, फ्लोअप र क्लिनिक कोर्डिनेसनलाई प्रभावकारी बनाउन सफ्टवेयर सिष्टम विकास गरी तत्काल कार्यन्वयनमा ल्याउने निर्णय पनि बैठकले गरेको ।

यसैगरी, सरसफाइ तथा आधारभूत मापदण्ड सुपरिवेक्षणका लागि डा. अभिलाषा शर्माको संयोजकत्वमा क्लिननेस अडिट कमिटी गठन गर्ने, पेशागत व्यवहार, समग्र गुणस्तरको नियमित अनुगमन तथा समीक्षा गर्ने जिम्मेवारी योजना, अनुगमन तथा मुल्यांकन समितिलाई प्रदान गर्ने, अस्पताल फार्मेसीमा उपलब्ध औषधिको मौज्दात तथा मुल्य पारदर्शी लाइभ फार्मेसी ड्यासबोर्ड विकास गरी फार्मेसीमा डिस्प्ले गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र उक्त विवरण वेबसाइटबाट सार्वजनिक गर्न कम्प्युटर व्यवस्थापन शाखालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिष्ठानमा उपलब्ध जलन उपचारलाई पहुँचयोग्य र सहुलियतपूर्ण बनाउन जलनका बिरामीलाई प्रदान गर्ने आधारभूत सेवा चथा शय्या निःशुल्क गर्ने, वर्न विशेषज्ञ जनशक्ति उपलब्धताका लागि मन्त्रालयसँग माग गर्ने, अस्पतालका प्रत्येक वार्डमा सरसफाईलाई व्यवस्थित, नियमित तथा उत्तरदायी बनाउन वार्ड इन्चार्जलाई जिम्मेवारी दिने, हाउकिपिङ शाखा प्रमुखबाट समग्र सरसफाइ व्यवस्थापनको अनुगमन, समन्वय गराउने प्रतिष्ठानको उच्चस्तरीय समितिको बैठकको निर्णयमा छ ।

यस्तै, बिरामीसँग गरिने व्यवहार र सेवाको मानवीय पक्षलाई सुदृढ बनाउन चिकित्सक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण तथा सफ्ट स्कील तालिम सञ्चालन गर्न प्रा.डा. बैकुण्ठराज अधिकारीको नेतृत्व रहेको ‘बिरामीप्रति पेशागत व्यवहार उत्प्रेरणा समिति’ ले प्रदान गर्दै आएको सफ्ट स्कील तालिमलाई प्रभावकारी र नियमित गर्नेलगायतका निर्णयहरु बैठकले गरेको छ ।

बैठकमा बैठकमा रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद, डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बू, का.मु. सह-रजिस्ट्रार सागर ताम्राकार, प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ र  महाशाखा र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा सुधारका १३ निर्णय

  1. प्रतिष्ठानमा बिगत देखि नै सञ्चालनमा रहेको १०% निःशुल्क शैय्या सेवा थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन, सेवा लिइरहेका बिरामीहरूको अद्यावधिक विवरण Real-time Live Dashboard मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।
  2. बिरामी प्रेषण (Referral), पुनः सेवा (Follow-up) तथा Clinical Coordination लाई प्रभावकारी बनाउन “बिरामी प्रेषण राष्ट्रिय निर्देशिका–२०८१” मा उल्लिखित प्रोटोकलहरू अनिवार्य रूपमा कार्यान्वयन गर्ने तथा निर्देशिकाको अनुसूची २, ३, ४ र ५ अनुसार आवश्यक विवरण समेटिने गरी Software/System विकास गरी कार्यान्वयन प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरियो ।
  3. प्रतिष्ठानका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको दैनिक हाजिरी गर्नका लागि Biometric Attendance System विगत देखि नै विद्यमान रहेको र दैनिक ८:३० बजे भन्दा ढिलो आउने तथा ४:४५ भन्दा छिटो जानेहरु गयल हुने प्रणालीमा व्यवस्था रहेको र कुनै कारण ढिलो भएमा सोको पर्याप्त कारण खुलाई निवेदन दिनुपर्ने व्यवस्था समेत रहेको छ। सो लाई अझ प्रभावकारी बनाउन शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति सुपरिवेक्षण एवम् सुनिश्चित गर्न मिति २०८२।१२।१८ गते प्रा. डा. स्मृति कार्कीको संयोजकत्वमा Attendance Monitoring Committee गठन गरिएको ।
  4. सरसफाइ तथा आधारभूत सेवा मापदण्ड सुपरिवेक्षणका लागि मिति २०८२।१२।१८ गते डा. अभिलाषा शर्माको संयोजकत्वमा Cleanliness Audit Committee गठन गरियो ।
  5. पेशागत व्यवहार तथा समग्र सेवा गुणस्तरको नियमित अनुगमन तथा समीक्षा गर्ने जिम्मेवारी विद्यमान Planning, Monitoring and Evaluation Committee लाई प्रदान गर्ने निर्णय गरियो ।
  6. अस्पताल फार्मेसीमा उपलब्ध औषधिको मौज्दात तथा मूल्यदर पारदर्शी बनाउन Real-time जानकारी उपलब्ध गराउने गरी Live Pharmacy Dashboard विकास गरी फार्मेसीमा Display गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरियो। साथै उक्त विवरण प्रतिष्ठानको आधिकारिक वेबसाइटमा समेत सार्वजनिक गर्ने व्यवस्था मिलाउने निर्देशन कम्प्यूटर व्यवस्थापन शाखालाई दिइयो ।
  7. बिगतदेखि नै जलन उपचार सेवा प्रदान हुँदै आइरहेको सन्दर्भमा जलनका बिरामीहरूको उपचारलाई अझ पहुँचयोग्य र सहुलियतपूर्ण बनाउन, जलनका बिरामीहरूलाई प्रदान गरिने आधारभूत स्वास्थ्य सेवा तथा शैय्याशुल्क निःशुल्क गर्ने व्यवस्था लागू गर्ने तथा जलन उपचार सेवाको प्रभावकारी सुदृढीकरणका लागि बर्न विशेषज्ञ जनशक्ति उपलब्ध हुने सम्बन्धमा मन्त्रालय सँग माग गर्ने निर्णय गरिसकिएको ।
  8. अस्पतालका प्रत्येक वार्डमा सरसफाइलाई व्यवस्थित, नियमित तथा उत्तरदायी बनाउन, स्पष्ट कार्यसूची सहितको सरसफाइ व्यवस्थापनको जिम्मेवारी सम्बन्धित विभागका वार्ड In-charge Sister लाई प्रदान गर्ने तथा समग्र सरसफाइ व्यवस्थापनको अनुगमन, समन्वय र जिम्मेवारी हाउसकिपिङ्ग शाखा प्रमुखमा रहने निर्णय गरियो ।
  9. बिरामीसँग गरिने व्यवहार तथा सेवाको मानवीय पक्षलाई अझ सुदृढ बनाउन “Serve with Smile” थीम अन्तर्गत चिकित्सक, कर्मचारी तथा अन्य स्वास्थ्यकर्मीहरूका लागि अभिमुखीकरण तथा Soft Skill तालिम सञ्चालन गर्न उद्देश्यले प्रा. डा. बैकुण्ठराज अधिकारीज्यूको अध्यक्षतामा गठित “बिरामी प्रति पेशागत व्यवहार उत्प्रेरणा समिति” ले मिति २०८२।१०।२ गते देखि नै क्रमशः सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई चरणबद्ध रूपमा Soft Skill Training प्रदान गर्दै आईरहेकोमा यस व्यवस्थालाई अझ प्रभाकारी तथा नियमित गर्ने निर्णय गरियो ।
  10. अस्पताल भित्र बिरामी तथा सेवाग्राहीलाई सहज, छिटो र स्पष्ट रूपमा सेवा स्थानहरूको जानकारी उपलब्ध गराउन, नेपाली भाषामा संकेत सहित प्रभावकारी Navigation System विकास गर्ने तथा विद्यमान Navigation Bar लाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
  11. अस्पतालमा सेवा प्रवाहलाई व्यवस्थित, छरितो र सेवाग्राही मैत्री बनाउन प्रभावकारी Token System विद्यमान रहेको र त्यसका साथै ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा विशेष आवश्यकता भएका सेवाग्राहीहरूलाई प्राथमिकता प्रदान गर्न थप व्यवस्था सुनिश्चित गर्ने निर्णय गरियो ।
  1. मिति २०८२।०५।१९ गते देखि नै प्रा. डा. बालकृष्ण भट्टराई को संयोजकत्वमा सुझाव तथा गुनासो सुनवाइ समिति गठन भइ कार्य भइरहेको साथै “Hello BPKIHS” Online Portal समेत सञ्चालन गरिएको छ । नयाँ QR Code सहित डिजिटल Feedback System मार्फत बिरामी तथा सेवाग्राहीले सजिलै प्रतिक्रिया दिनसक्ने व्यवस्था लागू गर्ने निर्णय गरियो । र अस्पतालमा हाल रहेका Complaint Box को सङ्ख्या बढाउने समेत निर्णय गरियो ।
  2. बिग्रिएका औजार तथा उपकरणको मर्मतसंभार विद्यमान Electro-Biomed Section बाट भैरहेको कार्यलाई थप व्यवस्थित, प्रभावकारी तथा पारदर्शी बनाउन राष्ट्रिय आविष्कार केन्द्रसँग समेत सम्झौताको प्रक्रिया बढीसकेको हुँदा सो मार्फत समेत व्यवस्थापन गर्न निर्णय गरियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ