२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता

सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता


भरतपुर—सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनमा आयोजना गरेको ‘सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यन्वयन सम्बन्धी’ अभीमुखीकरण कार्यक्रम’का सहभागीहरुले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन् ।

सूर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा वर्षेनी २७ हजार जनाको मुत्यु हुने गरेकाले यसको नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन् ।

अभीमुखीकरण कार्यक्रममा वक्ताहरुले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने ऐन बने पनि कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय मानिसको मृत्यु सूर्तिजन्य पदार्थको कारणले हुने गरेको जानकारी दिए । उनले सूर्तिजन्य पदार्थ नियमन गर्ने एन बनेपनि कार्यान्वयन गर्न जटिल हुने गरेको उल्लेख गर्दै उनले सूर्तिजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका नागरिक रहेको जानकारी दिए ।

सन् २०२० मा भएका अध्ययनहरुले २२.३ प्रतिशत विश्वका मानिसले सूर्तिजन्य पदार्थको सेवन गरेको तथ्य रहेको उनले बताए । त्यसमध्ये ३६.७ प्रतिशत पुरुष र ७.८ प्रतिशत महिला रहेको जनाइएको छ । नेपालमा सूर्तिजन्य दैनिक २४.१ प्रतिशत मानिसले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको तथ्य रहेको उनले जानकारी दिए । त्यसमध्य ४०.१ प्रतिशत पुरुष र १० प्रतिशत महिला रहेको उनले जानकारी दिए ।

यस्तै, २८.९ प्रतिशत मानिसले (धुम्रपान वा धुँवारहित) सेवन गर्ने गरेको तथ्य सन् २०१९ मा भएको एस टिइ पिएस सर्वेले देखाएको उनले जानकारी दिए । धुम्रपान गर्ने १७.१ प्रतिशतमध्ये २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला रहेका छन् ।
विद्युतीय चुरोट प्रतियोग गर्नेहरु बढ्दै गएको भन्दै उनले ०.८ प्रतिशत रहेको जानकारी दिए । सूर्तिजन्य पदार्थको सेवनका कारण मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ्ने उनले बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अनिलविक्रम कार्कीले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताए । उनले २० मिनेट मात्रै धुम्रपान नगर्दा पनि उच्च रक्तचाप, पल्स रेड र शरीरको तापक्रम सामान्य अवस्थामा ल्याउन सकिने बताए ।८ घण्टा धुम्रपान नगर्दा ९३.७५ प्रतिशत निकोटिन लेभल घट्ने उनले जानकारी दिए ।

यस्तै, दुई हप्ता धुम्रपान गर्दा रक्तसञ्चार र दाँतमा गमको मात्रा सामान्य अवस्थामा आउने भन्दै डा. कार्कीले सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तिजन्य पदार्थको कर र मूल्य बढाउन सकेपनि केही हदसम्म नियन्त्रण गर्न सकिने बताए । दक्षिण एशियामा सबैभन्दा सस्तो सूर्तिजन्य पदार्थ नेपालमा रहेको जानकारी दिदै यसको मुल्य बढाउनुपर्ने बताए । उनले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐन कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्ने बताए । उनले सूर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले सूर्तिजन्य पदार्थको नियन्त्रणको प्रयास यसअघि गरिएको भएपनि निरन्तरता दिन नसकिएको बताइन् । उनले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न भरतपुर महानगरपालिका सधैं लागि पर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले सबैको सहकार्यमा एन कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताइन् ।

मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकार मञ्चले सूर्तिजन्य पदार्थको नियन्त्रण गर्न गर्न बनेको एन कार्यान्वयन गराउन सबै निकायलाई सचेत गराउने बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ