२०८२ भदौ १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा

दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा


चरिकोट—दोलखामा आँखा शिविरमार्फत सयौं बिरामीले सहुलियतमा शल्यक्रिया सेवा पाएका छन् । तीन दिनसम्म सञ्चालित आँखा शिविरमा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका आँखाका बिरामीहरूले समेत उपचार सुविधा लिएका हुन् ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, लायन्स क्लब अफ दोलखा र दोलखा लायन्स आँखा केन्द्र दोलखाको संयुक्त आयोजनामा सम्पन्न शिविरमा मोतिबिन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको हो ।

आयोजकले दोलखाको गाउँ—गाउँमा आँखा शिविर गरी आँखाका बिरामी संकलन गरेका थिए । आँखा शल्यक्रिया गर्नुअघि स्थलगत रुपमा एक हजार २७७ जना आँखा रोगका बिरामी छनोट भएका थिए ।

छनोट भएका आँखा रोगका बिरामीमध्ये ५८ जना मोतिबिन्दु, ६ जना मासु पलाएको, ५९ जनाको क्याट्रक, ३ जनाको पेरिजीयम, ५५ जनाको फेको, ९० जनाको सिक्सको शल्यक्रिया गरेको आयोजकले जानकारी दिए । प्रतिष्ठानका वरिष्ठ नेत्रविशेषज्ञ डा. सुष्मा दुवालको नेतृत्वमा डा. विष्णुहरि मुराहटसहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको लायन्स आँखा केन्द्र दोलखाका इन्चार्ज विप्लव खड्काले जानकारी दिए ।

उनकाअनुसार फेको प्रविधिबाट गरिएको शल्यक्रियाको शुल्क ८ हजार २ सय रुपैयाँ तोकिएको थियो भने आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको थियो । यद्यपि, हातबाट गरिने अपरेशन भने पूर्ण निःशुल्क गरिएको थियो । साथै, शिविरकै अवसरमा न्यूनतम मूल्यमा चश्मा उपलब्ध गराइएको थियो । शल्यक्रियापछि २८० जनाले चश्मा प्रयोग गरेका थिए ।

शिविरलाई अझ प्रभावकारी बनाउन भीमेश्वर नगरपालिकाले आफ्ना नागरिकलाई आँखा शल्यक्रियामा लाग्ने खर्चमध्ये ५० प्रतिशत रकम व्यहोर्ने घोषणा गरेको थियो । शिविरमा सयौं बिरामीले आँखा परीक्षण गराएका थिए भने धेरैले शल्यक्रिया सुविधा पाएका थिए । स्थानीयवासीले यस्तो शिविरले ग्रामीण भेगका साधारण नागरिकलाई राहत दिएको भन्दै खुसी व्यक्त गरेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ