२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नवजात शिशुलाई हुने ‘आरओपी’को उपचार विराटनगर आँखा अस्पतालमा सुरु, यसरी हुन्छ उपचार

नवजात शिशुलाई हुने ‘आरओपी’को उपचार विराटनगर आँखा अस्पतालमा सुरु, यसरी हुन्छ उपचार


विराटनगर – विराटनगर आँखा अस्पतालम ‘आरओपी’ अर्थात ‘रेटिनोप्याथी अफ पिम्याच्युरोटी’को उपचार सुरू भएको छ । समय नपुग्दै जन्मिएको नवजात शिशुको आँखामा देखिने समस्या ‘आरओपी’ को उपचार विराटनगर आँखा अस्पतालमा सुरू भएको हो ।

९ महिना नपुगी जन्मेको बच्चाहरूमा आँखा सम्बन्धि समस्या ‘आरओपी’ हुने गरेको छ । समय नपुगि जन्मेको बच्चाहरूको आँखामा ‘आरओपी’को समस्या देखिन थालेपछि यसको उपचार सुरू गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले जानकारी दिइन् । सामान्यतयाः गर्भ रहेको ९ महिना पूरा भएपछि बच्चाको जन्म हुन्छ । तर सबै बच्चा ९ महिना पूरा भएपछि नै जन्मन्छन् भन्ने छैन । कतिपय बच्चा समय नपुग्दै जन्मिन सक्छन् । कहिले सात-आठ महिनामा त कहिले ६ महिनामै पनि बच्चा जन्मिन्छन् । समय नपुग्दै जन्मने बच्चाको स्वास्थ्यमा धेरैखाले समस्या हुन्छ । यसरी जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ । उनीहरुको तौल पनि कम हुन्छ । १५ सय ग्राम तौल भएका बच्चालाई ‘हाइ रिक्स बेबिज’ भनिने चिकित्सकहरूको भनाई छ ।

यसरी हुन्छ आरओपीको उपचार

समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या ‘आरओपी’ पनि एक हो,’ विराटनगर आँखा अस्पतालका दृष्टि पर्दा नेत्ररोग विशेषज्ञ डा. ललित अग्रवालले भने, ‘कम तौल भएका शिशु जन्मेपछि अक्सिजन लगाएर राख्नुपर्ने हुँदा आँखाको पर्दामा समस्या हुन्छ । यसको उपचार चाँडै सर्न सकिए दृष्टिविहीन हुनबाट बचाउन सकिन्छ ।’

यो जन्मजात समस्या भने होइन, बच्चा जन्मेपछि हुने समस्या हो । सामान्यतयाः समय पुगेर जन्मिने बच्चामा पनि आँखाको पर्दा विकास हुन थप एक महिना लाग्छ । समयअगावै जन्मने बच्चाको आँखाको जाँच गरिएन र उपचार भएन भने उनीहरुमा दृष्टिवीहिन हुने चिकित्सकहरूको भनाई छ । विशेषज्ञ अग्रवालका अनुसार गम्भिर प्रकारको ‘आरओपी’ भएका विरामीको लेजर मार्फत उपचार गरिनुपर्ने बताए ।

‘प्रायजसो साधारण प्रकारको ‘आरओपी’ आफै सन्चो हुने गर्दछ,’ डा. अग्रवालले भने, ‘ गम्भिर प्रकारको आरओपी विरामी भएमा लेजर मार्फत उपचार गर्नुपर्ने हुन्छ । लेजर भनेको असमान्य रुपमा बढेका रक्तनलीहरुलाई बढ्न बाट रोक्न प्रयोग गरिन्छ । विरामीको अवस्थामा गम्भिर भएकामा यसको उपचार शल्यक्रिया मार्फत पनि गरिन्छ ।’ यो अस्पतालमा डा. अग्रवालको नेतृत्वमा आरओपीको उपचार गर्ने टिम रहेको छ ।

नोवेम्बरदेखि विराटनगर आँखा अस्पतालमा आरओपीको उपचार भएको हो । हालसम्म १३ जना बालबालिकाको आँखामा आरओपी देखिएपछि उपचार भइरहेको अस्पतालले जनाएको छ । आरओपीको उपचारमा अस्पताललाई सिबीएम नामक संस्थाले सहयोग गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ