२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दूषित पानीका कारण कारागारका कैदीबन्दीमा बढदैंछ स्वास्थ्य समस्या

दूषित पानीका कारण कारागारका कैदीबन्दीमा बढदैंछ स्वास्थ्य समस्या

छटपटीमै बित्छ रात


विराटनगर–मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका राजेश धिमाल शरीरभरी छालामा समस्या भएपछि रातभरी सुत्न सक्दैनन् । कारागार भित्रको दूषित खानेपानी सेवन र स्नान गरेका कारणले छालासम्बन्धी समस्या उनलाई देखा परेको छ ।

‘अहिले शरीर चिलाउने गरेको छ । तिघ्रामा दाग पनि आएको छ । कारगारभित्र शुद्ध पानी नहुँदा विभिन्न खालको रोगहरु बढेको छ,’ उनले भने, ‘दूषित पानीकै कारण रोगहरुसँग लड्नु परेको छ ।’

कारागारमा भित्र दूषित खानेपानीको कारणले वर्षेनी बिरामीहरु बढिरहेको कैदी बन्दीहरु बताउँछन् । यसरी छाला सम्बन्धी समस्याबाट पीडित भएका धिमाल मात्र एक कैदी होइन् । अहिले मोरङ कारागारभित्र छाला सम्बन्धी बिरामी २ सय ६ जना कैदीबन्दी रहेको मोरङ कारागारका चौकीदार अभिषेक गिरीले बताए । ‘छालाको समस्या देखिएको कैदीबन्दीहरुमा लुतो र दागको समस्या बढी भएका बिरामी बढी छन्,’ गिरीले भने ।

मोरङ कारागारका कैदी–बन्दी आफ्नो समस्या सुनाउँदै ।

कारागारका कैदीबन्दीहरूले दूषित खानेपानी पिउन बाध्य भएको गुनासो गरेका छन् । क्षमताभन्दा तीन गुणा बढी कैदी–बन्दी राखिएको मोरङ कारागारका कैदी–बन्दीहरुले दूषित खानेपानी खान बाध्य भएको गुनासो गरेका हुन् । खानेपानीकै कारण कैदी–बन्दीमा छालासम्बन्धी समस्या देखिएको चौकीदार गिरीले बताए । ३०० जना क्षमता रहेको कारागारमा ९६९ कैदीबन्दी छन् ।

कष्टकर रुपमा बसिरहेका कैदीबन्दीले खानेपानी दूषित खान बाध्य भएको कारणले अहिले कैदीबन्दीहरुमा स्वास्थ्य समस्या बढदै गएको चौकीदार गिरीले बताए । ‘कारागारमा २०६ जना छालाका बिरामी छन्,’ उनले भने, ‘धाराको पानीले पुग्दैन, कैदीबन्दीले भूतिगत पानी प्रयोग गर्नुपर्छ ।’ अहिले कारागारभित्र तीन वटा ट्युबेल रहेको छ । ‘ट्युबेलको पानी पूरै दूषित आउने गरेको छ । त्यही पानी यहाँका कैदीबन्दीहरुले पिएको कारणले छालालगायत अन्य समस्या देखा परेको चिकित्सकहरुले बताएका छन्,’ उनले भने, ‘कपडा धुँदा पहेलो हुन्छ । धेरै कैदीबन्दीमा छालाको समस्या छ ।

दूषित पानी सेवनको कारण तिघ्रामा आएको दाग देखाउँदै एक कैदी ।

’सफा खानेपानी, बोर्डिङ गरेको पानी र फिल्टरको माग राखिएको उनले बताए । कारागारमा यही पानीकै कारण धेरै बिरामी पनि छन् । तर, पनि दूषित खानेपानी खान बाध्य हुनुपरेको अर्का कैदी सुर्य बिकले बताए । ‘शरीरभरी दाग आएको छ । चिलाएर हैरानी भइसक्यो,’ उनले भने, ‘राती भएपछि झन धेरै चिलाउने गरेको छ ।’ कैदी–बन्दीहरुमा छाला, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी पनि उत्तिकै रहेको कारागारले जनाएको छ ।

शुद्ध खानेपानीको लागि पटक–पटक कारागार प्रशासनसँग माग राख्दा पनि अहिलेसम्म सुनवाई नभएको उनीहरुले बताएका छन् । चौकीदार गिरीले कारागार प्रशासनमार्फत शुद्ध खानेपानीको व्यवस्था गर्न माग गरिएको बताए । पानीका कारण स्वास्थ्यमा समस्या आएको गुनासो गरेपछि पानी जाँच गर्नका लागि सम्बन्धित निकायमा पत्रचार गरिएको जेलर महेन्द्र खड्काले जानकारी दिए ।

दूषित पानीले छालाका विरामी देखियो : डा. घिमिरे

कोशी अस्पतालका छाला रोग विशेषज्ञ डा. असित घिमिरेले दूषित पानीको कारणले छालाको समस्या आउने गरेको बताए । ‘तीन वर्ष अगाडी पनि मोरङ कारागारमा कैदी–बन्दीहरुको स्वास्थ्य जाँच गर्न पुगेको थियो । त्यसबेलामा धेरै कैदीबन्दीहरुमा छालाका बिरामी देखा परेका थिए । यहाँ छालाका बिरामी बढी देखिनु क्षमताभन्दा बढी कैदी–बन्दी हो,’ डा. घिमिरले भने, ‘फोहोर पानीको कारणले एकजना कैदी वा बन्दीलाई छालाको रोग लाग्यो भने सबैतिर फैलिन सक्ने अवस्था छ । फोहोर पानी प्रयोग, सफासुग्घर नहुनु र साँघुरो ठाउँमा धेरै जना भएकाले कैदीबन्दीमा बिरामी हुने समस्या देखियो । ट्यांकीको पानी सफा छैन । यहाँका कैदीबन्दीहरुले बाथरुम, कपडादेखि सुत्ने ठाउँ र शौचालय एउटै छ । त्यसैको कारणले एक जनामा छालाको समस्या देखापरेपछि एकपछि अर्कोलाई सर्ने गरेको देखिएको छ ।’

छाला रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने र कारागार भित्रको हकमा मापदण्ड अनुसार कैदीबन्दी राख्नुपर्ने डा. घिमिरेले सुझाव दिएका छन् । मोरङ कारागारमा ९ सय ६८ कैदीबन्दी रहेका छन् । जसमा ६८ जना महिला र ८९७ जना पुरुष कैदीबन्दी छन् । तीन जना आश्रित बालवालिका छन् । जसमा पुरुष ४७५ जना कैदी र ४१९ जना पुर्पक्षको लागि थुनामा बन्दी रहेका छन् । ६८ जना महिलामा ३८ जना पुर्पक्षको लागि थुनामा रहेको र ३० जना कैदी रहेको कारागारले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ