२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १समय अगावै जन्मिएर ७०० ग्राम तौल भएका नवजात शिशुको विराटमा सफल उपचार

समय अगावै जन्मिएर ७०० ग्राम तौल भएका नवजात शिशुको विराटमा सफल उपचार


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होममा समय अगावै (प्रिटर्म) जन्मिएका कम तौल भएका नवजात शिशुको सफल उपचार भएको छ । हस्पिटलमा आएको २६ हप्ताको ७ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको हो ।

कम तौल भएको नवजात शिशुको सफल उपचार हस्पिटलका नवजात शिशु तथा बालरोग विशेष डा. दिपराज उपाध्याय अधिकारी, बाल सर्जन डा. हिरामणि पाठक, स्त्री तथा प्रसुति रोग विशेष डा. मोनाप्रिया दर्शनीको टिमले गरेको छ ।

२१ वैशाखमा सुनसरी धरान—१६ की २३ वर्षीया पवित्रा खड्का विराट नर्सिङ होम आएकी थिइन् । उनी २६ हप्ताको गर्भवती थिइन् । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा नियमित चेपअप गरिरहेकी उनको पाठेघरमा पानी कम थियो । त्योभन्दा जटिल स्थिति सालमा देखिएको समस्याले आमाले खाएको खाने कुरा शिशुले लिन नसक्दा वृद्वि विकास रोकिएको थियो । त्यसपछि उनी विराट नर्सिङ होम आएकी थिइन् ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. दर्शनीकाअनुसार पवित्राको गर्भवती अवधि महिनावारीका हिसाबले २९ हप्ता भएको थियो । ‘भिडियो एक्स–रे मा भने २६ हप्ता देखिन्थ्यो । बच्चाको तौल ७०० ग्राम मात्रै रहेकाले समस्या थियो । यस्तो अवस्थालाई मेडिकल भाषामा आईयुजीआर (इन्ट्रायुरेटाइन ग्रोथ रिटार्डेसन) भनिन्छ,’ उनले भनिन्, ‘आमाको स्वास्थ ठिकठाक भएपनि पेटमा शिशुको विकास हुन सकेन । यो अवस्थालाई आइडियोप्याथी भनिन्छ । किन यही समस्या हो भन्न सकिदैन तर खासमा आमा र शिशुलाई जोड्ने सालले राम्रो काम नगर्दा खाना आदान—प्रदान हुँदैन् । जसका कारण गर्भमा शिशुको वृद्वि विकास रोकिन पुग्छ ।’ त्यसपछि विराटमै ती महिलाको सुत्केरी गराइएको थियो ।

विराटनगरस्थित विराट नर्सिङ होममा प्रिटर्म अर्थात् समय अगावै जन्मिएका कम तौल भएका नवजात शिशुको सफल उपचार भएको जानकारी गराउँदै चिकित्सकको टिम ।

विराटमा भएको विशेषज्ञ चिकित्सकको टिमले सात सय ग्राम तौल जन्मिएको नवजात शिशुको सफल उपचार गरेको कारणले अहिले तौल बढदै गएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. अधिकारीले बताए । ‘गर्भमा भएको शिशुको फोक्सोले श्वास लिने र फाल्ने अवस्थालाई मजबुत बनाउनका लागि सर्फ्याटिन प्रोटिनको प्रयोग बढाइयो,’ उनले भने, ‘विराटमा फोर लेभलको एनआईसीयु छ । सुरक्षित प्रसुतिपछि शिशुलाई भेन्टिलेटरमा राख्न जोखिम थियो । सि–प्याप (कन्टिन्यु पोजेटिभ एयरवे प्रेसर) विधि प्रयोग गरियो । जसले शिशुलाई आवश्यक पर्ने अक्सिजन सप्लाई गर्दथ्यो । यो मेथडले शिशुको शरीरका अंगमा असर गर्दैन । यदि भेन्टिलेटरमा राख्नु परेको भए शिशुको आँखामा समस्या आउन सक्दथ्यो ।’

डा. अधिकारीका अनुसार अहिले नवजात शिशुको स्वास्थ्य धेरै राम्रो भएको छ । ‘आँखामा पनि कुनै समस्या छैन,’ उनले भने, ‘तौल पनि वृद्धि भइरहेको छ । अहिले ८ सय ५० ग्राम तौल पुगेको छ । १ केजी ४ सय ग्राम तौल भएपछि नवजात शिशुलाई डिस्चार्ज गर्नेछौं ।’

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर हस्पिटलले नवजात शिशुको उपचारमा कुनै समस्या आउन नदिने बताएका छ । २३ वैशाखमा प्रसूती भएपछि जन्म भएको नवजात शिशुको आँखा तथा कानमा समेत कुनै असर देखिएको छैन । सबै शारीरिक विकास भइरहेको डा. अधिकारीले बताए ।

सामान्यतयाः ३७ देखि ४० हप्तामा शिशु जन्मनुलाई समय पुगेको मानिन्छ । ३५ देखि ३७ हप्तामा ‘लेस प्रिटर्म’ भनिन्छ । यो अवधिमा शिशुको वजन नर्मल भए यसलाई नराम्रो मानिदैंन् । तर, एक केजी भन्दा कम वजन भएका शिशु जन्मनुलाई अत्याधिक कम तौल मानिन्छ ।

विराटमा अहिले आमा पवित्रा आफ्नो पहिलो सन्तानलाई छातीमा टँसाएर बस्छिन् । यसलाई ‘कंगारु मदर लभ’ भनिन्छ । दैनिक चार घण्टा पवित्राले यसरी खुसी साट्ने गरेको अस्पतालले जनाएको छ ।




क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ