विराटनगर—कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक अनियमितताको छानबिन गर्ने अधिकृतलाई नै कारबाहीमा परेका व्यक्तिको मातहतमा काम गर्ने गरी सरुवा गरेको छ । सरकारी बजेट हिनामिनाको पुष्टि गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुको साटो उल्टै आरोपीकै कार्यालयमा खटाइएपछि पीडित कर्मचारीले पदबाटै राजीनामा दिने बताएका छन् ।
उदयपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा भएको अनियमितताको छानबिन गरेका वरिष्ठ कविराज निरीक्षक विजयकुमार झालाई मन्त्रालयले १७ मंसिरमा भोजपुर जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा सरुवा गरेको हो । रोचक त के छ भने कविराज झालाई पठाइएकै ठाउँमा उनले नै भ्रष्टाचारमा छानबिन गरेर दोषी औंल्याएका मुख्य आरोपी डा. गम्भीर झालाई कार्यालय प्रमुख बनाएर भोजपुर नै पठाइएको छ ।
आफूले कारबाही सिफारिस गरेको व्यक्तिको मातहतमा बसेर काम गर्न नसकिने भन्दै वरिष्ठ कविराज निरीक्षक झाले राजीनामाको तयारी गरेका हुन् । मन्त्रालयको यो निर्णयलाई उनले ‘इमानदार कर्मचारीको अपमान’ को संज्ञा दिएका छन् ।
‘मैले अनुगमन गर्दा देखिएको भ्रष्टाचारको प्रतिवेदन बुझाएँ र कारबाहीको सिफारिस गरे । तर, सचिवज्यूले आरोपीलाई कारबाही गर्नुको साटो उल्टै उपहारस्वरूप मलाई नै पेल्ने गरी सरुवा गर्नुभयो,’ आक्रोशित हुँदै झाले भने, ‘उदयपुरमा भ्रष्टाचार गर्नेहरू इमानदार ठहरिए अनि छानबिन गर्ने म भने बेइमान ?’
उनले आफूमाथि अन्याय भएको भन्दै अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमाण बुझाएर राजीनामा दिने बताए । यता, विजयकुमार झा कार्यरत स्वास्थ्य निर्देशनालय धनकुटाको रिक्त स्थानमा भने उदयपुरको अनियमितता प्रकरणमै मुछिएका कार्यालयका वरिष्ठ कविराज निरीक्षक मुकेशकुमार सिंहलाई ल्याइएको छ ।
के थियो अनियमितता प्रकरण ?
स्वास्थ्य निर्देशनालय धनकुटाका उपसचिव सोम अधिकारीको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिले डा. गम्भीर झालाई दोषी ठहर गरेको थियो । समितिले १८ भदौमा मन्त्रालयमा बुझाएको प्रतिवेदनअनुसार डा. झाले सुनसरीको एक फर्मको नाममा १ लाख ११ हजार ८४८ रुपैयाँको नक्कली बिल बनाएर औषधि खरिद गरेको देखाइएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा स्टकमा रहेको पुरानो औषधि बाँडेर नयाँ किनेको भन्दै रकम हिनामिना गरेको औल्याइएको छ । कार्यालय परिसरमा रोप्ने भन्दै ४५ हजार रुपैयाँको आँप, लिची र कटहरका बिरुवा किनेको बिल बनाए पनि बिरुवा नरोपिएको छानविन समितिले प्रतिवेदनमा उल्लेख छ ।
यस्तो गम्भीर कैफियत देखिँदा पनि मन्त्रालयले ३० भदौमा डा. झालाई स्पष्टीकरण मात्र सोधेर उन्मुक्ति दिएको छ । कारबाहीस्वरूप निलम्बन वा विभागीय कारबाही हुनुपर्नेमा सामान्य सरुवा मात्र गरेर उनलाई चोख्याउने प्रयास भएको देखिएको छ ।
पहुँचवालालाई ‘तराई टु तराई’
मन्त्रालयको सरुवा सूचीमा चरम विभेद देखिएको कर्मचारीहरूको गुनासो छ । आयुर्वेदतर्फका १५ कर्मचारीको सरुवा हुँदा पहुँचवालालाई ‘तराई टु तराई’ र पहुँच नहुनेलाई दुर्गम पहाडी जिल्लामा पठाइएको छ ।
उदाहरणका लागि, वरिष्ठ कविराज खगेन्द्र पौडेललाई दुई वर्ष नपुग्दै झापाको प्रादेशिक आयुर्वेद अस्पतालबाट सुनसरी जिल्ला आयुर्वेद अस्पतालमा सरुवा गरिएको छ । विजयकुमार झालाई भने ६ वर्षदेखि पहाडी जिल्लामा काम गर्दा पनि पुनः पहाडी जिल्ला भोजपुरमै पठाइएको छ ।
यता, कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेले भने सरुवा नियमित प्रक्रिया भएको दाबी गरेका छन् । सरुवामा विभेद भएको अस्वीकार गर्दै उनले भने, ‘मन्त्रालयले आवश्यकताअनुसार खटाएको हो । कर्मचारीले खटाएको ठाउँमा गएर काम गर्नुपर्छ ।’ उनले सरुवाकै कारण कसैले राजीनामा दिने कुरा व्यक्तिगत भएको टिप्पणी गरे ।