२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १ग्रीनक्रस अस्पतालबाट नवजात शिशु गायब, उपचारमा संलग्न डाक्टर र प्रेमी पक्राउ

ग्रीनक्रस अस्पतालबाट नवजात शिशु गायब, उपचारमा संलग्न डाक्टर र प्रेमी पक्राउ


विराटनगर—विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु हस्पिटलबाट हराएपछि मोरङ प्रहरीले उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका ६८ वर्षीय डा. तपेश्वरलाल कर्णसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने डा. कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए । पक्राउ परेका राई २६ वर्षीया किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रीनक्रस हस्पिटलमा प्रसुति भएको थियो । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् ।

दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डा. कर्णको हो । डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) हुन् ।

सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा रहेको छ ।

डा. कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसुति गराएका थिए । उनीहरुबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ ।

अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । ब्यथा लाग्ने औषधी खुवाएर प्रसुति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ । (हेर्नुहोस् अस्पतालको रेकर्ड फाइल )

प्रेमीले छोडेर भागेपछि नवजात शिशुको खोजी

पक्राउ परेका प्रेमी गोविन्द

अस्पतालले डिस्चार्ज दिएपछि प्रेमी गोविन्दले प्रेमिकालाई इटहरी लिएर गए । ‘बच्चा बिना नै टेम्पोमा राखेर उहाँ (गोविन्द)ले मलाई इटहरी पु¥याउनुभयो । बसपार्क छेउको होटलमा कोठा लिएर राख्नुभयो । बच्चा खोइभन्दा अस्पतालमै छ भन्नुभयो । दुई दिनपछि (असार १६ गते) मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनु भयो । त्यसपछि फर्किएर आउनु भएन । होटलको नाम मलाई थाहा छैन,’ नवजात शिशु खोज्दै हस्पिटलमा भेटिएकी ती युवतीले भनिन् ।

होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको उनले सुनाइन् । उनले गोविन्दले छाडेर गएको र खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन् । ‘मैले जिउँदै बच्चा जन्माएकी हुँ । छोरी जन्मिएको भनेर नर्सहरुले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन् । गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायब बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परें । धेरै पीडा सहेर बसें ।’

बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको आरोप उनको छ । होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।

पक्राउ परेपछि चिकित्सक अस्पताल भर्ना

पक्राउ परेका डा. कर्ण

उनले उपचारमा संलग्न चिकित्सक र प्रेमीविरुद्ध ३२ साउनमा जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । त्यसपछि प्रेमी गोविन्द प्रहरीको सम्पर्कमा आए । गोविन्द प्रहरीको सम्र्पकमा आएका दिन बिहीबार पक्राउ परे । प्रहरीले डा. कर्णलाई शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोशी अस्पतालमा भर्ना भएका छन् ।

प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ । ‘उपचाररत रहेका कारण सोधपुछ गर्न र घटनाका बारेमा सबै कुरा बुझ्न पाइएकै छैन,’ डीएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट डा. कर्णले नै युवतीलाई प्रसुतिका लागि अस्पताल भर्ना गरेको भन्ने खुलेको छ ।’
उनका अनुसार डा. कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइ सकिएको बताएका छन् । तर, पक्राउ परेका गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताएका छन् ।

दाहालका अनुसार चिकित्सकले युवतीलाई असहज भएकाले तत्कालै बच्चा बाहिर निकाल्नुपर्ने अवस्था आयो भनेर भनेका छन् । ‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’ तर, गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ ।

उनका अनुसार बच्चा कहाँ पु¥याइयो भन्ने खुल्न बाँकी छ । ‘दुवै जना (चिकित्सक र गोविन्द)लाई सँगै राखेर सोधपुछ गर्न पाए वास्तविकता खुल्थ्यो,’ दाहाल भन्छन्, ‘चिकित्सक उपचाररत अवस्थामा रहेकाले त्यो सम्भव भइरहेको छैन ।’ विवाहपूर्वको सम्बन्धबाट जन्मिएको बच्चा गायब बनाइएको भनेर युवतीले कारबाहीको माग राख्दै चिकित्सक र प्रेमीविरुद्ध किटानी जाहेरी दिएको उनले बताए ।

नवजात शिशु खोज्दै डा. तपेश्वरलाल कर्णको क्लिनिकमा आएकी किशोरी र संचारकर्मी किशोर श्रेष्ठ ।

युवतीले मिलेमतोमा बच्चा गायब बनाइएकाले खोजी पाउँ भनेर माग पनि गरेकी छन् । उनले बच्चा नर्सहरूले लिएर गएको र त्यसपछि आफूले नदेखेको बताइन् । ‘बच्चा जन्मिएपछि नर्सहरूले लिएर गएको थाहा छ । अरु थाहा छैन,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा आजसम्म पाइँन् ।’ उनले गोविन्दसँग २ वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि सुनाइन् ।

पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । अस्पतालका अध्यक्ष कृष्ण खवासले अस्पतालमा ९ सय ५० ग्रामको बच्चा जन्मिएको बताए । ‘सामान्य प्रसुतिमार्फत बच्चा जन्मिएको हो । तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचार गर्नसक्ने अवस्था भएन,’ उनले भने, ‘एनआईसीयुमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएकाले ग्रीनक्रसबाट रेफर गरियो । सुविधासम्पन्न अस्पतालमा लैजानु भनेर बच्चा अभिभावकलाई नै जिम्मा लगाएका हौं ।’

खवासले उपचार हुन नसकेपछि रेफर गरिएको बच्चा कसले कता लग्यो भन्ने थाहा नभएको बताए । उनले अस्पतालबाट कुन चिकित्सकले रेफर गरेका हुन् र बच्चा जिम्मा लिने अभिभावक को हुन् भन्ने खुलाएनन् । ‘हामीले उपचारका लागि अन्यत्र लैजानु भनेर रेफर गरेका हौं,’ खवास भन्छन्, ‘अरू कुरा थाहा भएन ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ