विराटनगर—नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधी उत्पादक कम्पनी ‘एर्लागन’ का उत्पादनहरुको खरिदमा पूर्ण रूपमा रोक लगाएको छ । आइतबारदेखि म्याद गुज्रिएका औषधीहरुको सोधभर्ना सम्बन्धी विवादका कारण संघले कोशी प्रदेशभर लागू हुने गरी उक्त कम्पनीको औषधी खरिद नगर्ने निर्णय गरेको हो ।
विशेषगरी आँखामा लगाउने जेल तथा ड्रपहरू उत्पादन गर्ने एर्लागन कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ हो ।
आयातकर्ता कम्पनीले म्याद सकिएका औषधी फिर्ता लिने सम्बन्धमा व्यवसायी हित विपरित अडान राखेपछि संघले कठोर कदम चालेको जनाएको छ ।
के हो विवाद ?
आयातकर्ता प्रिया ट्रेडिङले औषधीको म्याद सकिएको ९० दिन पछाडि फिर्ता नलिने बताउँदै आएको छ । तर, नेपाल औषधी व्यवसायी संघको विधान र नियमावलीअनुसार म्याद गुज्रिएका औषधीहरू खुद्रा पसल (रिटेलर) बाट १८ महिनासम्म र थोक बिक्रेता (होलसेलर) बाट २१ महिनासम्म आयातकर्ताले फिर्ता लिई शतप्रतिशत सोधभर्ना दिनुपर्ने स्पष्ट व्यवस्था छ ।
संघका कोशी प्रदेश अध्यक्ष धनबहादुर काफ्लेकाअनुसार आयातकर्ता कम्पनीले संस्थाको नियमावली पालना नगरेको र म्याद गुज्रिएका औषधीको क्षतिपूर्ति दिन आनाकानी गरेको कारण खरिद रोक्का गरिएको हो ।
संघले यसअघि २४ मंसिरमा पत्रमार्फत आयातकर्ता प्रिया ट्रेडिङलाई म्याद गुज्रिएका औषधीहरूको शतप्रतिशत क्षतिपूर्ति दिन आग्रह गरेको थियो । अन्यथा प्रदेशभर खरिद रोक्का गर्न बाध्य हुने चेतावनी दिइएको थियो ।
संघका महासचिव लक्ष्मण माझी चौधरी र अध्यक्ष काफ्लेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पठाएको पत्रको जवाफ चित्तबुझ्दो, नियमसंगत र व्यवसायी मैत्री नआएको हुँदा आज मिति २०८२ मंसिर २८ गतेदेखि समस्या समाधान नहुन्जेलसम्मका लागि कोशी प्रदेशभरी खरिद रोक्का गरिएको छ ।’
संघले कोशी प्रदेशका सम्पूर्ण आधिकारिक थोक बिक्रेता र अस्पताल फार्मेसीहरूलाई अर्को सूचना नआएसम्म एर्लागन कम्पनीका औषधी खरिद नगर्न निर्देशन दिएको छ ।