२०८२ माघ ४, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै

उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै


विराटनगर – झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारमा खटिएका एक चिकित्सकमाथि मदिरा सेवन गरेका युवाहरूको समूहले आक्रमण गरेको छ । टाउकोमा लागेको चोटको उपचार गराउन आएका बिरामी र उनका साथीहरूले आइतबार राति २ :१० बजे मेडिकल अफिसर डा. आदित्य यादवमाथि हातपात गरेका हुन् ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले दमक – ५ का २३ वर्षीय सुमन मगरलाई नियन्त्रणमा लिएको छ । मगरसँगै आएका अन्य दुई जना भने फरार रहेका छन् ।

टाउकोमा चोट लागेर अस्पताल पुगेका मगरको घाउ सफा गर्ने क्रममा विवाद उत्पन्न भएको थियो । ‘बिरामीसँगै आएका साथीले घाउमा हातले छुन खोजेपछि मैले इन्फेक्सन हुन्छ, नछुनुस् मात्र भनेको थिएँ,’ पीडित डा. यादवले भने, ‘त्यति भन्नासाथ उनीहरूले गालीगलौज गर्दै ममाथि जाइलागे । अस्पतालका सुरक्षा गार्ड नभएको भए नर्सहरूमाथि पनि कुटपिट हुने अवस्था थियो ।’

अस्पतालको सीसीटीभी फुटेजमा तीन जना युवाले डाक्टरलाई झम्टिएको र अस्पतालका सामान उठाएर प्रहार गरेको देखिएको छ । डा. यादवका अनुसार उनीहरूले अस्पताल बाहिरबाट ढुङ्गा ल्याएर समेत प्रहार गर्ने प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले पक्राउ परेका मगरमाथि अनुसन्धान भइरहेको जानकारी दिए । ‘पीडित चिकित्सकले उजुरी दिनुभएको छ,’ डीएसपी लम्सालले भने, ‘हामीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कसुरअनुसार म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौँ ।’

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका संयोजकमा उम्मेदवारी दिएका डा. रोशन खड्काले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हुने यस्ता शृंखलाबद्ध आक्रमणले कार्यस्थलमा असुरक्षा बढेको बताए । उनले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् । ‘उपचार गरिरहेकै बिरामीबाट चिकित्सक कुटिनु निन्दनीय छ,’ उनले भने, ‘फरार रहेका अन्य दुई जनालाई पनि तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याइनुपर्छ ।’

सप्तरी स्थायी घर भएका डा. यादव विगत १५ महिनादेखि लाइफ लाइन अस्पतालमा कार्यरत छन् । प्रहरीले फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ