विराटनगर—कोशी प्रदेशमा हालसम्म ५७ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बीमाको दायरामा समेटिएका छन् । बुधबार १० औं स्वास्थ्य बीमा दिवसका अवसरमा स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशका कुल २८ लाख ६१ हजार ८५२ जना बीमामा आबद्ध भएका हुन् ।
यो संख्या प्रदेशको कूल जनसंख्याको ५७ दशमलव ५६ प्रतिशत हो । बीमामा सहभागी परिवारको संख्या ५ लाख ७७ हजार ७१२ रहेको छ, जुन कूल परिवार संख्याको ४९ प्रतिशत हो ।
विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश संयोजक अर्जुन पण्डितले कोशी प्रदेशका सबै १४ जिल्लामा बीमा कार्यक्रम विस्तार भइसकेको जानकारी दिए ।
तथ्याङ्कअनुसार बीमा गर्नेहरूमध्ये उपचार सेवा लिनेको संख्या उच्च देखिएको छ । आबद्ध भएकामध्ये १९ लाख २५ हजार १६७ जना अर्थात ६७.२७ प्रतिशतले बीमामार्फत स्वास्थ्य उपचार सेवा लिएका छन् । ‘बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण र उपयोग बढ्दो छ,’ संयोजक पण्डितले भने, ‘प्रदेशमा बीमा नवीकरण गर्नेको अनुपात पनि ७३ दशमलव ३९ प्रतिशत पुगेको छ ।’ हालसम्म ६ लाख १३ हजार ७५१ परिवारले बीमा नवीकरण गराएका छन् ।
उपचार खर्चवापत सवा १२ अर्ब भुक्तानी
बीमा बोर्डले कोशी प्रदेशका सूचीकृत स्वास्थ्य संस्थाहरूलाई उपचार खर्चवापत अर्बौ रुपैयाँ भुक्तानी गरेको छ । तथ्याङ्कअनुसार स्वास्थ्य बीमा लागु भएदेखि आर्थिक वर्ष २०८०/८१ सम्ममा सेवा प्रदायक संस्थाहरूलाई १२ अर्ब ७२ करोड ५८ लाख २८ हजार ४०६ रुपैयाँ भुक्तानी गरिएको छ ।
त्यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा बिमितहरूबाट ४ अर्ब ९९ करोड १३ लाख ७२ हजार ५७१ रुपैयाँ योगदान रकम संकलन भएको बोर्डले जनाएको छ । प्रदेशमा ९३ सरकारी, ५ सामुदायिक र २१ निजी गरी जम्मा ११९ वटा स्वास्थ्य संस्थाले बीमाको उपचार सेवा दिइरहेका छन् ।
सरकारले निःशुल्क बीमा गरिदिने लक्षित वर्गको उपस्थिति पनि कोशीमा उल्लेख्य छ । बोर्डका अनुसार २ लाख ७८ हजार ४६८ जेष्ठ नागरिक बीमामा आबद्ध छन् । यस्तै, ६२ हजार ५४६ अति अशक्त अपाङ्गता भएका व्यक्ति, ४० हजार १३३ महिला स्वास्थ्य स्वयंसेविका र ३० हजार १५७ अति गरिब नागरिकले बीमा सुविधा लिइरहेका छन् ।
यसैगरी, ४ हजार ९९२ एचआईभी संक्रमित, १ हजार ३४४ कुष्ठरोगका बिरामी र ७९९ जना एमडीआर टिबीका बिरामी बीमामा समेटिएका छन् । पैसा तिरेर बीमा गर्ने (नर्मल) बिमितको संख्या २४ लाख ९६ हजार २९२ रहेको छ ।
प्रदेशस्तरमा स्वास्थ्य बीमा संयोजन समिति गठन भई काम सुरु भएपनि स्थानीय तहमा भने संरचना निर्माणको गति सुस्त देखिएको छ । कोशीका १३७ स्थानीय तहमध्ये हालसम्म ५६ वटामा मात्र संयोजन समिति गठन भएको छ । यो कूल स्थानीय तहको ४१ प्रतिशत मात्र हो ।
सरकारले २०७२ चैत २५ गते कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम हाल मुलुकका ७७ वटै जिल्लामा कार्यान्वयनमा छ । देशभर भने हालसम्म ३५ दशमलव ८८ प्रतिशत परिवार र २६ दशमलव ५४ प्रतिशत जनसंख्या मात्र बीमामा आबद्ध भएको बोर्डको तथ्याङ्क छ ।