२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारबच्चाहरुको कलेजोमा देखिने क्यान्सर अर्थात ‘हेपाटोब्लास्टोमा’

बच्चाहरुको कलेजोमा देखिने क्यान्सर अर्थात ‘हेपाटोब्लास्टोमा’

नेपालमै हेमाटोब्लास्टोमाको शल्यक्रिया सम्भवः हुन्छ । त्रिवि शिक्षण अस्पतालले पछिल्ला तीन चार महिनामा चार जना बालबालिकाको यस्तो शल्यक्रिया गरिसकेको छ ।


हेपाटोब्लास्टोमा सामान्यतयाः बच्चाहरुको कलेजोमा देखिने क्यान्सर हो । यो पाँच वर्ष भन्दामुनिका बच्चाहरुमा देखिन्छ । हामी सामान्यतयाः बच्चाहरुमा पनि क्यान्सर होला र भनेर सोच्ने गर्छौ । तर, धेरै मात्रामा प्रौढ मानिसहरुलाई कलेजोको क्यान्सर देखिएतापनि यो बच्चाहरुमा देखिने स्वास्थ्य समस्या हो ।

त्रिवि शिक्षण अस्पतालमा मैले कलेजो क्यान्सर सम्बन्धी धेरै सर्जरी गर्ने भएकाले अहिले बच्चामा देखिने कलेजोको क्यान्सरका केसहरु रिफर भएर आउने गरेका छन् । गत ३–४ महिनामै त्रिवि शिक्षण अस्पतालमा ९ महिना, १५ महिना, दुई वर्ष, तीन वर्षका ४ जना बच्चाको कलेजोको क्यान्सरको शल्यक्रिया गरिसकेका छौं । उनीहरु सबैलाई राम्रो भएको छ । रिफरल केसहरु आउन थालेपछि अहिले धेरैजसो केसहरु हामीले हेरिरहेका छौं ।

यो कस्ता बच्चामा देखिन सक्छ ?

कलेजोको क्यान्सर अर्थात हेपाटोब्लास्टोमा जुनसुकै बच्चालाई पनि देखिन सक्छ । विशेषतः जेनेटिक रिस्क फ्याक्टर भएका बालबालिकामा जन्मजात नै यो क्यान्सर देखिने गर्छ ।

खासगरी, समय अगावै जन्मिएका बच्चाहरु र कम तौल भएका बच्चाहरुमा हेपाटोब्लास्टोमा हुने खतरा बढी हुन्छ । त्यसबाहेक जेनेटिक अबनर्मलालिटिज केसहरुमा कलेजोको क्यान्सर हुन सक्छ । तर, यो कारणले भएको भनेर ठोकुवा गर्न गाह्रो हुन सक्छ ।

कसरी थाहा पाउने ?

कलेजोको क्यान्सर सुरुवाती स्टेजमा थाहा पाउन गाह्रो हुन सक्छ । त्यसका लक्षणहरु नदेखिन सक्छन् । बच्चाको कलेजोमा क्यान्सर पलाइरहेको हुन सक्छ तर थाहा पाउन गाह्रो हुन सक्छ । विस्तारै त्यसको साइज बढ्दै गएर ठूलो हुन थालेपछि बच्चाको पेटमा कलेजो भएको ठाउँमा छाम्दा अस्वभाविक डल्लो भएको महसुस हुन सक्छ ।

जति—जति त्यो डल्लो बढ्दैं गयो बच्चाको पेट फुल्न थाल्छ । सुरुवातीमा त्यो सानो आकारको हुँदा बच्चाहरुमा नदुख्ने भएपनि विस्तारै ठूलो हुने क्रममा दुख्ने हुन्छ । त्यसपछि बच्चा पेट दुख्यो भनेर एकदमै रोइरहने हुन्छ । पेटमा छाम्दा र चलाउँदा पनि रुने हुन्छ । पछि गएर पेट सुनिन्ने हुन्छ । रोग लम्बिदैं गएर एडभान्स स्टेजमा जाँदा पेटमा पानी भरिने र जण्डिस हुने पनि हुन्छ ।

यो समस्या भएका धेरैजसो बालबालिकामा बुवाआमाले पेट चलाउँदा डल्लो भेट्छन् । त्यो बाहेक बच्चालाई खान मन नलाग्ने, बच्चाका क्रियाकलाप कम हुने र तौल घट्दैं जाने हुन्छ । बच्चाको पेटमा डल्लो पनि भेटियो र यस्ता लक्षणहरु पनि देखिए भने कतै कलेजोको क्यान्सर पो हो कि भन्ने शंका हुन्छ । कहिलेकाही अन्य जाँचहरु गर्दा पनि यो देखिन सक्छ ।

यो क्यान्सर ठूलो भयो भने कलेजोका अन्य भाग, नसा र पित्तथैलीमा बन्द हुने, फुटेर पेटमा फैलियो भने बच्चा धेरै नै बिरामी हुन सक्छन् । म कहाँ सिधैं बच्चाहरु आउँदैनन् । पहिले बालबालिका हेर्ने चिकित्सकहरुले हेर्छन्, उहाँहरुले शंका गरेपछि बच्चाको अंकोलोजिष्ट कहाँ जानुहुन्छ । उहाँहरुले एभालुएट गरेपछि बल्ल म कहाँ शल्यक्रियाका लागि आउनुहुन्छ ।

कसरी पत्ता लगाइन्छ

हेपाटोब्लास्टोमा देखिइसकेपछि विभिन्न जाँच पडताल र टेष्टहरु गर्नुपर्छ । पहिले कलेजोमा क्यान्सर छ कि छैन भनेर निश्चित गरिन्छ । रोग हो भने त्यसको अवस्था के छ ? कलेजोको स्थिती के छ ? शल्यक्रिया गर्न सकिने छ/छैन त्यो हेर्नका लागि विविध परीक्षणहरु गरिन्छ ।

त्यसका लागि सुरुमा अल्ट्रासाउण्ड गराइन्छ, त्यसबाट कलेजोमा के छ, डल्लो छ कि छैन, छ भने कस्तो छ, कलेजोको कुन भागमा छ लगायतका कुराको सुरुवाती अनुमान हुन्छ । अल्ट्रासाउण्ड सँगसँगै हामीले रगत परीक्षणहरु पनि गर्छौ । रगत जाँचअन्तर्गत लिभर फंक्शन टेस्ट गरिन्छ, त्यसले कलेजोको स्टाटस के छ भनेर हेर्न सहयोग गर्छ ।

त्यस्तै, रगत जाँचमै अल्फा फिटो प्रोटिन (एएफपी) भन्ने जाँच हुन्छ, त्यो एक ट्युमर मार्कर हो । ट्युमर भएको व्यक्तिमा यसको मात्रा एकदमै बढी देखिन्छ । त्यसको आधारमा पनि यो क्यान्सर पत्ता लगाउन सकिन्छ ।

रगतमा एएफपी र अल्ट्रासाउण्डमा डल्लो देखियो भने क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । अल्ट्रासाउण्डकै आधारमा भने यो क्यान्सर हो भनिहाल्न गाह्रो हुन्छ । अल्ट्रासाउण्ड र रगत जाँचपछि हेपाटोब्लास्टोमाको शंका लागेमा सिटी स्क्यान तथा एमआरआई गरिन्छ ।

सिटी र एमआरआईबाट त्यो डल्लो कस्तो छ ? त्यसको विशेषता कस्तो छ ? भन्ने कुरा हेरेर यो हेपाटोब्लास्टोमा क्यान्सर हो वा होइन थाहा पाउन सकिन्छ । यसबाहेक यो कत्रो छ ? कुन स्टेजमा छ ? कलेजोको कुन—कुन भागमा छ ? कलेजोभन्दा बाहिर कति फैलिएको छ ? अरु अंगहरुमा फैलिएको छ कि छैन ? ट्युमरबाहेकको कलेजोको भाग सामान्य छ कि छैन ? यी सबै कुरा सिटी र एमआरआईबाट निक्र्यौल हुन्छ ।

सिटी, एमआरआई, अल्ट्रासाउण्ड, रगतका परीक्षणहरु गरिसकेपछि यो हेपाटोब्लास्टोमा भन्ने क्यान्सर हो, यसको स्टेज कुन छ  र यसलाई कसरी उपचार गर्ने भन्ने निश्चित हुन्छ । यो प्रायजसो पेडियाट्रिक अंकोलोजिष्टहरुले गर्नुहुन्छ । त्यसपछि शल्यक्रिया गर्नुपर्ने भएमा म कहाँ आउँछ ।

उपचार कसरी गर्ने

ट्युमर सानो काटेर फाल्न मिल्ने छ, काटेर फालेपछि कलेजोको बाँकी भागले बच्चाको जीवन धान्न पुग्छ भन्ने अन्दाज भयो भने तत्कालै शल्यक्रिया गरिन्छ । कलेजोको शल्यक्रिया आफैमा जटिल हो, अझ बच्चामा गर्नु झनै जटिल हुन्छ । तर, अहिले हामीले धेरै कलेजोको शल्यक्रिया र कलेजो प्रत्यारोपण गरिरहेका छौं । अनुभव प्रविधीलगायतका कारणले बच्चाको कलेजोको शल्यक्रिया पनि एकदमै सुरक्षित भएको छ । यो जताततै गर्न सकिने शल्यक्रिया होइन् तर ठूला इन्स्टिच्युटहरुमा अनुभवी डाक्टरद्वारा गराउँदा राम्रो र सुरक्षित हुन्छ ।

शल्यक्रिया गर्न सकिने केसमा बिरामी तयार गर्छौ र सिधा शल्यक्रिया गर्छौ । तर, कहिलेकाही ट्युमर एकदम ठूलो छ, तत्कालै शल्यक्रिया गर्न मिलेन, धेरै काट्नुपर्ने भयो, फैलिइसकेको छ र काटेर फाल्दा पनि बच्चालाई आफ्नो जीवन धान्न सक्ने स्थिती छैन भने त्यस्तो अवस्थामा अंकोलोजिष्टहरुले केमोथेरापी दिन्छन् ।

किमोथेरापीले त्यसको साइज घटाउँदैं लैजान्छ । त्यसलाई ‘डाउन स्टेजिङ’ भनिन्छ । साइज घट्दैं गइसकेपछि फेरि ‘रिएसेस’ गरिन्छ । त्यसका लागि पुनः सिटी, एमआरआई गरेर काटेर फाल्न मिल्छ कि मिल्दैन, काट्यो भने बाँकी रहेको कलेजोले काम गर्छ कि गर्दैन्, हेर्नुपर्छ । गर्न मिल्छ भने शल्यक्रिया गर्छौ । पछिल्लो चार—पाँच महिनामा सबै बच्चाहरुलाई केमोथेरापी दिएर साइज घटाएपछि हामीले शल्यक्रिया गरेका छौं । कतिपय केसमा सुरुमै शल्यक्रिया गरेपछि पनि अंकोलोजिष्टहरुले किमोथेरापी पनि दिन्छन् ।

तर, कहिलेकाही कलेजोमै भएको क्यान्सर काटेर फाल्न सकिँदैन् । अन्य भागमा फैलिएको छैन तर सर्जरी गरेर फाल्न मिल्ने अवस्था छैन, नशामा च्यापिएको छ, जोडिएको छ वा काटेर फालेपछि कलेजोले काम गर्दैन, केमो दिएर पनि त्यसलाई सुकाउन सकिएन, घटाउन सकिएन भने ठूलो—ठूलो सेन्टरहरुमा पूरै कलेजो झिकिदिएर कलेजो प्रत्यारोपण पनि गरिन्छ । यो एउटा थाहा भएको उपचार विधि हो । तर, यो धेरै विविध कारणले हुँदैन् । बच्चाले कलेजो प्रत्यारोपण नै धान्न नसक्ने स्थिती भएर पनि हुन सक्छ वा डोनर नै नभएको स्थितीले पनि हुन सक्छ ।

यो बाहेक अन्य विभिन्न केमो दिने तरिकाहरु पनि छन् । कुनै—कुनै अवस्थामा अंकोलोजिष्टहरुले नसाबाट केमो दिएर पनि कलेजोको क्यान्सर कम गराउनुपर्ने हुन्छ । कुनै अवस्थामा यो फैलियो, आन्द्रामा पनि विस्तार भएर सर्जरी गर्न सकिने सम्भावना कम भयो भने त्यस्तो बच्चाहरुको उपचार नै गर्न सकिँदैन् । त्यस्तै कसै—कसैको कलेजो र फोक्सोमै फैलिएको छ भने कहिलेकाही अवस्था हेरेर दुईटैलाई काट्न सकिन्छ । तर, कलेजोबाट बाहिर फैलिएपछि प्रायः कुनै पनि बच्चाको त्यस्तो राम्रो भने हुँदैन् । त्यस्ता बच्चाहरुलाई केही समय केमो दिएर सुकाएर बाँच्ने अवधि बढाउन सकिन्छ ।

यी विभिन्न उपचार विधीमध्ये शल्यक्रिया गरेर हेपाटोब्लास्टोमा निकाल्न सक्यौ भने त्यो बच्चाको पछिसम्मको अवधिको लागि सर्भाइभलमा एकदमै राम्रो हुन्छ । ट्युमर सानैमा पत्ता लागेर शल्यक्रिया गरेर फाल्न सकियो भने बच्चाको जीवन राम्रो हुन्छ । तर, यसका लागि समयमै थाहा हुनुपर्छ । ठूलो ट्युमर भएको अवस्थामा पनि काटेर फाल्न सकियो भने त्यो राम्रो हुन्छ । फैलिएको अवस्थामा भने जटिलता बढ्ने हुन्छ । कलेजोको शल्यक्रिया गर्न धेरै मानिसहरु विदेश गइरहेका छन्, तर नेपालमै पनि कलेजोको शल्यक्रिया सुरक्षित भएको छ । कलेजोको शल्यक्रिया जटिल हो र हामीले सर्जरी गरिरहेका छौं । नेपालमै पनि गर्न सकिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ