२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपनेशनल प्याथ ल्याबको युवा टिम : जसले ९ वर्षमै २ करोडबाट ५० करोडको साम्राज्य बनाए

नेशनल प्याथ ल्याबको युवा टिम : जसले ९ वर्षमै २ करोडबाट ५० करोडको साम्राज्य बनाए

२६० बढी कर्मचारी, १ अर्बको ब्राण्ड


१२ वर्षअघि देहरादुनबाट बीएमएलटी पढेर फर्किएका सातजना ल्याब टेक्नोलोजिस्टहरुको आँट र सपनामा खडा भएको सफलताको स्वप्नील उडान यात्रा हो— नेशनल प्याथ ल्याब (एनपीएल)को यात्रा । फरक ठाउँ तथा क्षेत्रका सात जना युवा प्रयोगशालाकर्मी अप्ठ्यारो तर सम्भावनायुक्त क्षेत्र पछ्याउने क्रममा बुटवल डोरिएका थिए । तर, उनीहरु सबैको उद्देश्य एउटै थियो । त्यही एउटै उद्देश्यमा निरन्तर अघि बढेका युवाहरुको आँट र लगन एनपीएलको सफलतामा झल्किन्छ ।

पवन जोशी, रुद्रबहादुर कार्की, प्रकाश न्यौपाने, राजकुमार थारु, शरद भुसाल, कृष्णप्रसाद गौतम र अस्मिता अधिकारी मिलेर १२ वर्षअघि मोफसलमा नेशनल प्याथ ल्याब स्थापना गरेका हुन् । ९ वर्ष । ८ वटा ल्याब स्थापना । २ हजारभन्दा बढी दैनिक स्याम्पल प्रोसेसिङ । सबैभन्दा बढी टेष्ट पारामिटर । जसमध्ये केही नेपालमै नहुने विशिष्ट परीक्षणहरु । २ सय ६० जनाभन्दा बढी कर्मचारी । २ करोडबाट ५० करोडसम्म लगानी । नेशनल प्याथ ल्याब (एनपीएल)को सफलताका प्रमुख हाइलाइट्स हुन् । यो ल्याबको अर्को मुख्य विशेषता मोफसलबाट राजधानीतर्फ सफल यात्रा पनि हो ।

१२ वर्षअघि देहरादुनबाट बीएमएलटी पढेर फर्किएका २० वर्षीय युवा पवन जोशीको सपनाको जगमा एनपीएलको स्थापना भएको हो । सुदूरपश्चिमको कन्चनपुरको सामान्य किसान परिवारमा जन्मिएका उनको आँट र लगन एनपीएलको सफलतामा झल्किन्छ । बढी शाखा, बढी स्याम्पल प्रोसेसिङ र बढी परीक्षणका हिसाबले एनपीएल अहिले नेपाली प्रयोगशालाहरुमा लिडर कम्पनी हो । यही लिडर प्रयोगशालालाई ९ वर्षदेखि निरन्तर प्रबन्ध निर्देशकका रुपमा ३२ वर्षीय पवन नेतृत्व गरिरहेका छन् ।

वि.सं. ०६७ मा पवन देहरादूनबाट बीएमएलटी सर्टिफिकेट बोकेर नेपाल फर्किएका हुन् । काठमाडौं आएर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा ६ महिना इन्टर्नसीप गरे । ‘त्यतिबेला टेकुमै थुप्रै जाँच हुँदैन थिए । काठमाडौंकै अवस्था त्यस्तो थियो भने बाहिरको अवस्था झन कस्तो थियो होला ?,’ पवन सम्झन्छन्, ‘त्यतिबेला नै मैले नेपालमा कति परीक्षण छैनन्, कति जाँच यही सम्भव छन् भनेर डाटा एनालाइसिस गरे ।’ कति जाँच नेपालमा सम्भव छन्, क्षमता कति छ, दिगो जान सक्छ सक्दैन्, जाँच सम्भव हुँदा गुणस्तरीय नतिजा दिन सकिन्छ कि सकिदैंन् भनेर उनले वर्कआउट गरे ।

‘वि.सं. ०६९ तिर नेपालमा सामान्य परीक्षण मात्रै हुन्थ्यो । काठमाडौंबाट ठूला परीक्षणहरु भारतको हैदरावाद, दिल्लीलगायतका ठाउँमा पठाइन्थ्यो,’ उनले भने, ‘काठमाडौं बाहिर त थाइराइड परीक्षणसमेत पुगेको थिएन ।’ त्यही कारण उनले मोफसलका धेरै ठाउँहरुमा सेवा दिन सकिने गरी प्रयोगशाला खोल्न सकिए त्यसले व्यवसायसँगै धेरै मानिसहरुले भोगिरहेको समस्या अन्त्य हुने सम्भावना खुट्याए । त्यही समस्या र अनेकन चुनौतीबीच वि.सं. २०६९ सालमा पवन बुटवलबाट डाइग्नोष्टिक व्यवसाय सुरु गर्ने योजनामा लागे ।

यो योजनामा पवनसँगै थप ६ जना साथी पनि जोडिए, रुद्रबहादुर, प्रकाश, राजकुमार, शरद, कृष्णप्रसाद र अस्मिता । त्यसपछि ल्याब स्थापनाको काम अगाडि बढाइयो । नाम राखे—‘नेशनल प्याथ ल्याब (एनपीएल)’ । एनपीएलका लागि बुटवलमा ३ हजार स्क्वायर फिट क्षेत्रफल भएको घर भाडामा लिए । अफिसको तयारी सकिएपछि २० जना कर्मचारी भर्ना गरेर काम अगाडि बढाए ।

त्यतिबेला काठमाडौंमै मात्र पाँच वटा रिफ्ररेन्स ल्याब थिए । तर, मोफसलमा सुविधासम्पन्न ल्याबको अभाव थियो । त्यही कारण पनि पवनले नेपालको केन्द्रमा पर्ने सहर बुटवललाई ल्याब खोल्नका लागि रोजेका थिए । ‘नेपालकै केन्द्र भागमा पर्ने बुटवलमा ल्याब थिएन्,’ एनपीएलका यी ३२ वर्षीय युवा प्रबन्ध निर्देशक भन्छन्, ‘वि.सं. २०६९ मा २ करोडको लगानीमा हार्मोनहरु, ट्युमर मार्कर, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजीजस्ता सेवाहरु समावेस गरेर व्यवस्थित इन्डीपेन्डेट ल्याब सुरु गर्‍यौं ।’ बुटवलका अस्पताल र क्लिनिकहरुमा पनि नहुने जाँच एनपीएलले सुरु गर्‍यो ।

महेन्द्रनगरका पवनलाई अपरिचित मार्केटमा गएर रिस्क लिनका लागि के ले प्रेरित ग¥यो ? भन्छन्, ‘त्यो बेला डाइग्नोष्टिक मार्केटको निड ल्याब थियो । एउटा ठूलो ग्याप थियो । त्यो बेला अस्पतालका ल्याब पनि व्यवस्थित थिएनन् । बुटवलबाट सबै ठाउँका लागि पहुँच सहज हुने देखिएकोले त्यही रिस्क लिन सजिलो भयो ।’

बुटवलको ल्याबबाट पोखरा, चितवन, सुर्खेत, दाङ र धनगढीका स्याम्पल कभरेज गर्न पनि सहज थियो । त्यही कारण २ करोडमा लगानीमा अस्पताल खोल्न सकिने बेला २१ वर्षीय पवन र उनका साथीहरुले यति ठूलो लगानी ल्याबमा खन्याएका थिए । बुटवलमा ल्याबमा लगानी गरेर रिस्क लिनुपूर्व उनले प्रशस्त होमवर्क भने गरेका थिए । त्यही होमवर्कबाट तयार पारेको भिजनमा उनका साथीभाइहरु लगानी तयार भएका थिए । अर्को, उनका लागि राम्रो पक्ष के थियो भने एनपीएलमा लगानी गर्ने अरु विजनेस साझेदारहरु बुटवलकै थिए ।

बुटवलमा एनपीएललाई सुरुवाती दिनहरुमा दैनिक ५० स्याम्पल पु¥याउन पनि हम्मे—हम्मे थियो । अस्पताल वा क्लिनिकमा ल्याब सबैभन्दा न्यून प्राथमिकतामा पर्ने, ल्याबका लागि अध्यारो सानो कोठा छुटाइने त्यो बेलामा ठूलो लगानीमा खुलेको अत्याधुनिक ल्याब टिकाउनु चानचुने मेहनतले सम्भव थिएन् । ‘हामीले डाक्टरहरुलाई हर्मोनहरुको ल्याब रिपोर्ट ३ घण्टामै दिन्छौं भन्दा बिरामीले त कुरै छोडौं डाक्टरलेसमेत नपत्याउने अवस्था थियो,’ एनपीएलका सुरुवाती दिन स्मरण गर्दै पवन सुनाउँछन्, ‘एक साता लाग्ने रिपोर्टलाई केही घण्टामै आउँछ भन्दा परीक्षण नै गर्दैनन् होला । झुटो बोलेका होलान भन्ने हुन्थ्यो । विश्वास दिलाउन नै कठिन थियो ।’ दुई वर्ष एनपीएलका लागि निकै सकसपूर्ण बने ।

एनपीएलले विस्तारै सचेतनामूलक कामहरु गर्दै गयो । ल्याबमा के–के हुन्छ भन्ने कुरा बुझाउन काम गर्‍यो । डाक्टरहरुसँग अन्तरक्रिया र सेमिनार आयोजना गरियो । विस्तारै चिकित्सकहरुले विश्वास गर्न थाले । त्यसको परिणाम काममा देखिन थाल्यो । स्याम्पलको संख्या बढ्न थाल्यो । स्याम्पल बढ्न थालेपछि वि.सं. ०७० सम्म एनपीएलमा ३० जना कर्मचारी भए ।

वि.सं ०७१ सम्म आइपुग्दा अथक मेहनतपछि बल्ल—एनपीएल खोजिन भयो । विस्तारै मानिसहरु परीक्षण गराउनका लागि एनपीएललाई रोज्न थाले । चिकित्सक र बिरामीहरुको विश्वास जितेपछि एनपीएलको प्रगतितर्फको यात्रा सुरु भयो । वि.सं. ०७१ मै एनपीएलले शाखा विस्तारको योजना अगाडि बढायो । त्यही कारण भैरहवाबाट भारतमा धेरै स्याम्पलहरु जाने भएकाले नेपालमै ती सुविधाहरु दिन पहिलो शाखा भैरहवामा विस्तार गर्‍यो ।

वि.सं. २०७४ साल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबहरुको वर्गीकरण सुरु गरेपछि एनपीएल ‘ए’ क्याटागोरीको ल्याब बन्यो । मोसफलको पहिलो ए क्याटागोरीको ल्याब—एनपीएल हो । वि.सं. ०७३ मा एनपीएलले धनगढीमा शाखा विस्तार ग¥यो । ‘आफू जन्मेको ठाउँ पनि हो । त्यहाँ त्यो बेलामा ल्याब त के राम्रो अस्पतालसमेत धनगढीमा थिएन्,’ उनी भन्छन्, ‘त्यही कारण दोस्रो शाखा धनगढीमा खोले ।’ त्यसपछि तेस्रो शाखा वि.सं. ०७४ गुल्मीमा सुरु भयो । त्यही समयमा दाङको घोराहीमा चौथो शाखा विस्तार भयो ।

‘बुटवलको एनपीएलमा त्यो समयसम्म दैनिक २ सयभन्दा बढी ल्याब टेस्ट हुन्थ्यो,’ प्रबन्ध निर्देशक पवन भन्छन्, ‘हाम्रो लक्ष्य भनेको नेपालभर नै व्यवस्थित ल्याबको विस्तार गर्ने हो । त्यही लक्ष्यअनुसार शाखाहरु विस्तार गर्दै गयौं ।’ त्यसपछि एनपीएल अर्घाखाँचीमा खुल्यो । वि.सं. ०७५ मा घोराहीबाट २३ किलोमिटरमात्रै दूरी रहेको तुलसीपुरमा एनपीएलको छैटौं शाखा स्थापना भयो । नजिकै भएपनि पहुँचका हिसाबले कठिन र तुलसीपुरका चिकित्सकहरुको आग्रहमा तुलसीपुरमा शाखा विस्तार भएको उनी बताउँछन् । बुटवलबाहेका यी सबै सानो सेटअप भएको युनिट भएपनि हार्मोनहरु, ट्युमर मार्कर, हेमोटोलोजी, साइटोप्याथोलोजी, माइक्रोबायोलोजीजस्ता सेवा स्थानीयस्तरमै पाएपछि नागरिकले राहत पाएका छन् ।

८ वर्षपछि काठमाडौंमा सुपरस्पेसलाइज्ड ल्याब

एनपीएलको ८ वर्ष लामो मोफसलका सहरको यात्रामा पवनले धेरै कुरा सिके । नेपालमा नभएका थुप्रै जाँचहरु आउन थाले । तीमध्ये धेरजसो जाँचहरूका बुटवलबाट हुन्थे । तर, बुटवलमा सुपरस्पेसिलाइज्ड चिकित्सा सेवा अझै राम्रोसँग सुरु नभएकाले एक लेभलभन्दा माथिको प्राक्टिस छैन, जसका कारण एक लेभलभन्दा माथि बिरामीहरु होल्ड पनि हुँदैन् त्यसले गर्दा त्यहा सुपरस्पेसिलाइज्ड ल्याब टेस्टहरु संचालन गर्न चुनौतीपूर्ण छ । जुन लेभलमा एकदमै सुपरस्पेसिलाइज्ड टेस्टहरु जस्तोः फ्लोसाइटोमेट्री, इम्युनोहिस्टो केमेस्ट्री, इम्म्युनोफ्लुरोसेंस, माइक्रोएरे मेथडबाट गरिने धेरै जाँचहरु पर्छन् । त्यसका लागि काठमाडौं नै आवश्यक थियो ।

त्यही कारण वि.सं. ०७७ मा पवनले काठमाडौंमा एनपीएल विस्तार गर्ने योजनाका साथ छलफल अगाडि बढाए । नेपालमा व्यवस्थित ल्याबको खाँचो र धेरै जाँचहरु गर्न मिल्ने गरी काठमाडौंमा एनपीएल विस्तार गर्ने उनको प्रस्ताव सबैले मन पराए । त्यसपछि एनपीएलको मिसन काठमाडौं सुरु भयो । ‘सबैभन्दा समस्या भनेको अंकोलोजीअन्तर्गत जेनेटिक परिक्षणहरुको थियो । अहिले पनि छ,’ पवन भन्छन् ।

एनपीएल काठमाडौंका लागि त्रिवि शिक्षण अस्पताल नजिकै सांग्रिला कम्प्लेक्सका ४५०० स्क्वायर फिट भाडामा लिइयो । वि.सं. ०७७ मा त्यसमा इन्टेरियरको काम सुरु भयो । वि.सं. ०७८ भदौंबाट एनपीएलले काठमाडौंबाट सम्पूर्ण सेवाहरु दिने गरी ल्याब संचालनमा ल्यायो । अहिले एनपीएल काठमाडौंमा मात्रै विभिन्न प्रकारका ६ सय टेस्ट हुन्छन् । सबैभन्दा बढी ब्लड क्यान्सरको लागि फ्लोसाइटोमेट्री परीक्षण हुन्छ । एनपीएलले सुरु गर्नुअघि नेपालमा यो टेष्ट सिभिल अस्पतालमा मात्रै थियो ।

क्यान्सरको अर्को परीक्षण इमुनोहिस्टोकेमेस्ट्री पनि एनपीएलले सबैभन्दा धेरै गर्छ । ‘थेराप्युटिक ड्रग मनिटरिङअन्तर्गत औषधी खाइरहेको बिरामीहरुमा त्यो ड्रग्सको मात्रा कति छ भनेर थाहा पाउनको लागि परीक्षण गरिन्छ, त्यो परीक्षण पनि हामी गर्छौ,’ पवन भन्छन् । एनपीएलले इम्युनोफ्लोरोसेन्स मेथडबाट धेरै परिक्षणहरु एनपीएलले गर्दै आएको छ । म्याटरनल सेरम स्क्रिनिङ पनि एनपीएलले गर्दै आएको छ । म्याटरनल सेरम स्क्रिनिङ गर्भवती महिलाहरुमा गरिने रगत परिक्षण हो, यसले उनीहरूलाई आफ्नो गर्भमा रहेको बच्चामा डाउन सिन्ड्रोम, एडवर्ड सिन्ड्रोम वा न्यूरल ट्युब डिफेक्ट हुने सम्भावनाबारे जानकारी गराउन मद्दत गर्छ । माइक्रोएरे टेक्नोलोजी नेपालमा एनपीएलसँग मात्रै छ । ‘यसले क्यान्सर, संक्रामक रोग तथा जेनेटिक म्युटेशनहरु पत्ता लगाउन सक्छ,’ उनी भन्छन् । पिसिआर मेथडबाट गरिने धेरै जाँचहरु पनि एनपीएलमा उपलब्ध छन् ।

एनपीएल काठमाडौंको दैनिक ५ सय वटासम्म सुपरस्पेसिलाइज्ड स्याम्पल प्रोसेसिङ गर्ने क्षमता छ । भने दैनिक १००० भन्दा बढी रुटिन जाँचहरु गर्ने क्षमता छ । काठमाडौंमा पूर्ण क्षमतासहितको ल्याब र अत्याधुनिक प्रविधीहरु भित्र्याएपछि ७ वटै शाखाका स्याम्पल प्रोसेस गर्न पनि सहज भएको छ । ‘अहिले हामीले काठमाडौंमा साढे २ सय स्याम्पलहरु प्रोसेस गरिरहेका छौं,’ पवन भन्छन्, ‘सबै ठाउँमा गरी एक दिनमा २ हजार बढी स्याम्पल परीक्षण गर्छौं ।’ ७ वटा शाखा र बुटवलमा मुख्यालय गरी अहिले एनपीएलमा २६० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् ।

एनपीएलले निकट भविष्यमा नेपालमै नभएको एन.जी.एस. प्रविधि भित्र्याउने योजना बनाएको छ । ‘नेक्स्ट जेनेरेसन सिक्वेसिङ टेक्नोलोजीले होल जेनोम सिक्वेन्सिङ पत्ता लगाउनका लागि काम गर्छ । यो प्रविधि थप्ने योजना छ । र, फिस टेक्नोलोजी थप्ने पनि योजना छ,’ पवन भन्छन्, ‘त्यस्तै चितवनमा ३ महिनाभित्र नयाँ ल्याव सुरु गर्दैछौं ।’

९ वर्षअघि २ करोडबाट सुरु भएको एनपीएलमा अहिले ५० करोड लगानी भएको छ । अर्ब बढीको एनपीएल ब्राण्ड छ । २ सय ६० बढी स्टाफ छन् । ६ सय बढी विभिन्न प्रकारका परीक्षण हुन्छन् । यो सफलताको फर्मुला के हो ? ‘मुख्य कुरा पोलिसी र एसओपी नै हो । मैले बुटवलमा ल्याब सुरु गर्दा सिस्टम नबनाएको भए सहज हुन्थेन्,’ पवन कारण खोल्छन्, ‘सबैभन्दा पहिले अनुसन्धान गरेको भएर सजिलो भयो । क्वालिटी बेस्ड सिस्टममा गएको भएर सफलता मिल्यो ।’

एनपीएलको विशेषता के छ भने कुनै नयाँ ठाउँमा ल्याब सुरु गर्नुपूर्व नै उसले जनशक्ति खोजी गर्छ । त्यो जनशक्तिलाई तालिम उपलब्ध गराउँछ । नयाँ खोल्ने शाखाको क्षमता र बजारको पहिला नै अध्ययन गर्छ । ठाउँको आवश्यकता हेरेर आफ्ना सेवाहरु तय गर्छ । त्यही कारण एनपीएलको व्यवस्थापन निर्धारित लक्ष्यमा कहिल्यै चुक्दैन् । एनपीएलले मुख्य लगानी सूचना प्रविधीमा गरेको छ । सफ्टवेयरबाट नै सबै कुरा हेर्न मिल्छ । जसका कारण सबै शाखाहरुको रेखदेख गर्न सजिलो भएको छ । त्यसबाहेक व्यवस्थापनको मुख्य फोकस गुणस्तर कायम राख्न, क्वालिटी रिभ्यु, स्टाफको काममा छ । आवश्यकताअनुसार स्टाफहरुलाई नियमित तालिम उपलब्ध गराउँछ ।

निकट भविष्यमै एनपीएलले बुटवलमा आफ्नै जग्गामा मल्टीस्पेसियालिटी ल्याब बनाउँदैं छ । स्याम्पल परीक्षणका हिसाबले सबैभन्दा अगाडि रहेको एनपीएल अबको ५ वर्षमा बुटवलको ल्याबलाई टोटल ल्याब अटोमेसनमा लग्ने योजनामा काम गरिरहेको छ । ‘धेरै नमुनाहरु प्रोसेस गर्न मिल्ने गरि बहुविभागीय प्रयोगशाला बनाउने । जसबाट १० हजार जति स्याम्पल प्रोसेस गर्न सकियोस्,’ पवन भावि योजनाबारे भन्छन्, ‘त्यो भयो भने सहुलियत दरमा काम गर्न सकिन्छ, जुन बिरामीको लागि राहत हो ।’ अहिले नेपालका प्रयोगशालाहरुमा ५–१० प्रतिशत स्याम्पल मात्रै व्यवस्थित प्रयोगशालाहरुमा प्रोसेस हुने गरेको बताउँदैं उनी आफूहरु गुणस्तरमा विशेष ध्यान दिने बताउँछन् ।

झण्डै एक दशक नेपाली प्रयोगशालाका क्षेत्रमा बिताएका पवन अहिलेको मुख्य समस्या नेपालमै उपलब्ध जाँच बाहिर जाने प्रवृति रोक्न नसक्नु रहेको बताउँछन् । ‘यहाँ भएका ल्याब टेस्टहरुको पूर्ण सदुपयोग हुन सकेको छैन्,’ उनी भन्छन्, ‘यसका लागि राज्यले केही गर्नप¥यो ।’ उनी नेपालमै रहेका ल्याबहरुले एकअर्कासँग सहकार्य गरेर काम गर्न सकेमा यसले नेपाली ल्याबहरुको क्षमता विकासमा टेवा पुग्ने बताउँछन् । ‘सबै टेस्ट एकैले गर्न विदेश वा स्वदेशमा कही सम्भव छैन,’ उनी थप्छन् । नेपालमा आउने केमिकल मापन, यसको गुणस्तर जाँच, रिएजेन्टको जाँच राज्यले गर्नुपर्नेमा उनको जोड छ । त्यसबाहेक नेपालमा प्रयोगशालामा आवश्यक पर्ने विशेषज्ञ जनशक्ति उत्पादनको पनि कमी रहेको उनी बताउँछन् ।

‘एमडी प्याथोलोजीमा सिट सिमित छ । मोलिक्युलर बायोलोजिष्ट, साइटोप्याथोलोजिष्ट, रेनलप्याथोलोजिष्ट, न्युरोप्याथोलोजिष्ट आवश्यकताअनुसार छैनन्,’ उनी भन्छन्, ‘ल्याबमा लगानी भैराखेको छ, प्रविधि भित्रिएका छन् । त्यो लेभलको सेवा दिन हामी क्षमतावान छौं कि छैनौं ।’ त्यो लेभलको जनशक्ति स्वदेशमै भएको भए अंकोलोजीलगायतका विशिष्ट परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने उनी देख्छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #अस्मिता अधिकारी, #कृष्णप्रसाद गौतम, #नेशनल प्याथ ल्याब (एनपीएल), #पवन जोशी, #प्रकाश न्यौपाने, #राजकुमार थारु, #रुद्रबहादुर कार्की, #शरद भुसाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ