धनगढी—कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालको रुपमा रहेको गेटा अस्पतालमा ल्याप्रोस्कोपीक (दुरबिन प्रविधि)बाट गरिने सर्जरी सेवा सुरु भएको छ । बुधबार अस्पतालका निर्देशकसमेत रहेका डा. प्रमोद यादवको नेतृत्वमा उक्त सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको अस्पतालले जनाएको छ ।
पित्तथैलीमा पत्थरी भएकी ४५ वर्षीया महिलाको सफल ल्याप्रोस्कोपीक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
उक्त शल्यक्रियामा सर्जन डा. विजयराज भट्ट, एनेस्थेसियोलोजिस्ट डा. रोजी जोशी, एनेस्थेसिया असिस्टेन्ट भोजराज पाण्डेय तथा नर्सिङ कर्मचारीहरू सुष्मा बोहरा, आरती भण्डारी र रेविका विष्टको सहभागिता रहेको थियो ।
ल्याप्रोस्कोपीक सर्जरी अत्याधुनिक प्रविधिबाट गरिने न्यून चिरफारको शल्यक्रिया भएकाले बिरामीलाई कम पीडा, छिटो निको हुने र अस्पताल बसाइ छोटो हुने फाइदा हुने चिकित्सकहरूले बताएका छन् ।
गेटा अस्पतालले आगामी दिनमा थप विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिँदै यस सेवाले सुदूरपश्चिम क्षेत्रका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।