२०८२ पुस २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार


काठमाडौं-कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. खेमराज जोशी नियुक्त भएका छन् । मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति र डा. जोशीलाई रजिष्ट्रार नियुक्त गरेको सिनेट सदस्य वीरेन्द्र भट्टले जानकारी दिए ।

उपकुलपतिमा नियुक्त जोशी काठमाडौं मेडिकल कलेजका कम्युनिटी मेडिसिनका प्राध्यापक हुन् । साथै, विभिन्न विश्वविद्यालयहरुमा भिजिटिङ प्रोफेसरका रुपमा समेत काम गर्दै आएका छन् । यसका अलावा डा. जोशीसँग लामो अनुसन्धानको अनुभव समेत छ । उनका अनुसन्धानहरु विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।

उपकुलपति एवं रजिष्ट्रार छनोट तथा सिफारिस समितिले उपकुपतिका लागि तीन पटक आवेदन खुला गरेको थियो । कात्तिक १६ र ३० गते दरखास्त आह्वान गर्दा दरखास्त नपरेपछि समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा ५ दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थियो ।

शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए । तेस्रो पटक आह्वान गर्दा उपकुलपतिमा दुई जनाको  दरखास्त परेको सिफारिस समितिका एक सदस्यले जानकारी दिए ।

त्यस्तै, रजिष्ट्रारका लागि भने १० जनाको आवेदन परेको थियो । संघीय संसद् बाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, ४ असार २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। त्यसपछि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया थालिएको थियो।

आगामी दिनमा विश्वविद्यालयसम्बन्धी बैठकहरू गेटास्थित विश्वविद्यालय परिसरमै सञ्चालन गरिने सिनेट सदस्य भट्टले जानकारी दिए । १समयमै नयाँ नेतृत्वलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिनेछ,’ उनले भने, ‘३०० शय्याको अस्पताल सञ्चालन सँगै एमबीबीएस अध्ययन कार्यक्रम पनि चाँडै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दछु।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ