२०८२ माघ २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन

स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन


धनगढी—मन्त्री नियुक्त भएपश्चात पहिलो पटक सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाको स्थलगत अनुगमन गर्न गत शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम धनगढी आइन् । उनले शनिबार नै गेटा अस्पतालले प्रदान गरिरहेका विशेषज्ञ सेवाहरुको अनुगनसँगै अस्पताल सेवा जनशक्ति, शय्या स्वीकृत, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रगतिका विषयमा समेत जानकारी लिइन् ।

स्वास्थ्य मन्त्री गौतमले गेटा अस्पतालका निर्देशक सह—प्रा.डा. प्रमोदकुमार यादवबाट प्रगति समस्या र जानकारी लिइन् ।

गेटा अस्पतालका निर्देशक डा. यादवले गेटा अस्पतालमा विशेषज्ञ सेवासँगै अस्पतालमा सेवाग्राहीको संख्या वृद्धि हुँदै गइरहेको बताए । उनले गेटा अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलो स्तन क्यान्सर परीक्षण गर्न मेमोग्राफी सेवा, प्रदेशमै पहिलो पटक आर्थोस्कोपी सेवा, हिस्टोप्थोलोजीसँगै इन्डोर, आइसीयु, एनआइसीयु, पीआईसीयू , आईभिएफ सेवाका साथै ३ वटा मोडुलर ओटीबाट समेत शल्यक्रिया सेवा समेत प्रदान भइरहेको बताए ।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप विशेषज्ञ सेवा विस्तारका लागि ३००  शय्या सञ्चालनको लागि स्थायी स्वीकृतीका साथै आवश्यक विशेषज्ञ जनशक्तिसमेत आवश्यक रहेको बताए ।

२०८० कार्तिक १ गतेदेखि न्यूनतम सेवासहित सञ्चालनमा आएको गेटा अस्पतालले हाल संघमा दरबन्दी रहेका चिकित्सकसँगै अस्थायी दरबन्दीमा स्वास्थ्यकर्मी भर्ना गरी सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख डा. यादवले बताए ।

गेटा अस्पतालको स्थलगत अनुगगन पश्चात स्वास्थ्य तथा जनसंख्यामन्त्री गौतमले सरकारका विभिन्न मन्त्रालयको सहकार्यमा अस्पतालसँगै शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने बताइन् । ‘शिक्षा तथा स्वास्थ्य दुई वटै मन्त्रालयको प्राथमिक दायित्व हो । मिलेर अगाडि बढ्नुपर्छ,’ उनले भनिन् । शैक्षिक कार्यक्रम सञ्चालन गर्न भौतिक पूर्वाधार तयारी भएको अवस्थामा सर्वप्रथम ३०० शययाको स्थायी स्वीकृती र आवश्यक उपकरणसँगै जनशक्ति ब्यवस्थापन गरी अस्पताल पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ थियो । विश्वविद्यालयलाई अस्पताल हस्तान्तरण, हाल कार्यरत जनशक्तिसँगै तलबभत्ताको विषयमा आवश्यक नीतिगत निर्णय गर्नुपर्ने उनले बताइन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. गौतमले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यामा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न शिक्षण अस्पतालको ब्यवस्थापन गर्न शनिबार नै सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको सेती प्रादेशिक अस्पताल अनुगमन गरिन् । सो अवसरमा उनले अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेटसँग जानकारी लिइन् ।

आइतबार मन्त्री डा. गौतमले सुदूरपश्चिम विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पतालको अनुगमनमा पुगिन्। डडेल्धुरा अस्पताल समेत स्तरोन्नतीको पर्खाइमा रहेको छ । सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका शैक्षिक कार्यक्रमहरु बिएस्सी नर्सिङ, पब्लिक हेल्थ, बिएस्सी एमएलटी सञ्चालन हुदाँसमेत अस्पताल स्तरोन्नती हुन सकेको छैन ।

डडेल्धुरा अस्पतालमा एमबीबीएसको पढाइ सञ्चालन गर्न अस्पतालको स्तरोन्नती हुन आवश्यक छ । डडेल्धुरा अस्पताल हाल १०० शय्याको मात्रै स्वीकृती छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ