२०८२ फागुन ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा

गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा


धनगढी—शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालित गेटा अस्पतालमा थप विशेषज्ञ सेवा विस्तार गरिएको छ । अस्पतालले हालै आईसीयू (सघन उपचार कक्ष) औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ ।

अस्पतालका निर्देशक सह–प्राध्यापक डा. प्रमोदकुमार यादवका अनुसार बिरामीलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आईसीयू सेवा सुरु गरिएको हो । यो सेवा विस्तारसँगै गम्भीर अवस्थाका बिरामीलाई अब अन्यत्र रिफर गर्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । आईसीयू सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशका बिरामीलाई राहत पुग्ने विश्वास गरिएको छ ।

यसअघि नै अस्पतालमा मोडुलर शल्यक्रिया कक्षमार्फत आधुनिक शल्यक्रिया सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, स्तन क्यान्सर पहिचानका लागि आवश्यक मेमोग्राफी सेवा तथा हाडजोर्नी सम्बन्धी समस्याको उपचारका लागि आर्थोस्कोपी सेवासमेत सुरु भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।

‘यी सेवाले प्रदेशमै विशेषज्ञ उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,’ डा. यादवले भने । थप विशेषज्ञ सेवा विस्तारका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा अत्याधुनिक स्वास्थ्य उपकरण जडानको काम सम्पन्न भइसकेको छ ।

तर, दक्ष जनशक्तिको व्यवस्थापनमा चुनौती रहेका कारण केही सेवा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । सम्बन्धित निकायसँग समन्वय गरी विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ ।

गेटा अस्पताललाई प्रदेशकै प्रमुख शिक्षण अस्पतालका रूपमा विकास गर्ने लक्ष्यसहित सेवा विस्तारलाई तीव्रता दिइएको छ । सेवा विस्तारसँगै बिरामीको चाप समेत बढ्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले भने अस्पतालमा विशेषज्ञ सेवा थपिँदै जानु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ