२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुरा घटना फलोअपः चिकित्सक झनै असुरक्षित ?

डडेल्धुरा घटना फलोअपः चिकित्सक झनै असुरक्षित ?


अमरगढी—सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि तनावग्रस्त बनेको डडेल्धुरा अस्पतालको अवस्था अहिलेसम्म सामान्य बन्न सकेको छैन । विरामीका आफन्तसँग प्रशासनले तीन बुँदे सहमति गरेपछि यातायात क्षेत्रको अवरोध तथा प्रदर्शन भने रोकिएको छ ।

मृतक २५ वर्षीया गीता ताम्राकारको शव पनि उठाइएको छ । तर, डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरुले भने शव उठाइए पनि आफूहरुका लागि सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको दाबी गरेका छन । डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले हाल डडेल्धुरा अस्पतालमा चिकित्सहरुका लागि काम गर्ने सुरक्षित वातावरण नरहेको बताए । ‘सहमतिपछि विहान शव उठ्यो,’ उनले हेल्थआवाजसँग भने, ‘तर, अहिले पनि चिकित्सकले सहज अवस्थामा काम गर्ने वातावरण छैन । बाहिर चोक—चोकमा डाक्टरलाई मार्छु भन्दै मान्छेहरु बसेका छन् रे । कालोमोसो दल्छौं भन्दै छन् रे ।’

आफूहरु डरका कारण बजारमा निस्कन समेत नसकेको उनले दाबी गरे । डा. कँडेलले भने, ‘नियमित काम गर्नको लागि अवस्था डरलाग्दो नै छ । प्रशासनले जसरी पनि ओपीडी चलाउनैपर्छ भनेपछि ३ जना प्रहरी राखेर ओपीडीमा बसेको छु । बाहिर बजारमा पनि हामी निस्कन सकेका छैनौ ।’ डडेलधुरा अस्पतालमा सुरक्षित वातावरण बन्न नसकेको भन्दै चिकित्सकहरु अस्पताल छाड्ने मनस्थितीमा पुगेका उनको दाबी छ । त्यहाँ अहिले १२ जना चिकित्सकहरु कार्यरत छन् । डा कँडेलले आफूहरुले विभिन्न ठाउँबाट आएको दबाबका कारण विज्ञप्ति पनि निकाल्न नसकेको गुनासो गरे ।

डडेल्धुराका डिएसपी डम्बर बहादुर केसीले भने आफूहरुले सुरक्षित वातावरण बनाइदिएको बताए । ‘उहाँहरु काम गर्ने मानसिकता भएन भन्नुहुन्छ । वातावरण भएन भन्नुहुन्छ,’ उनले भने, ‘सुरक्षित वातावरण हाम्रो जिम्मेवारी हो, हामीले बनाइदिएका छौं । तर, उहाँहरु यस्ता घटना पछि पनि हुन्छन्, पछिसम्म कसरी काम गर्ने भन्नुहुन्छ ।’ डिएपी केसीले सुरक्षाका लागि आफूहरुले प्रहरी पनि राखिदिएको बताए । उनले अहिले त्यस्तो असामान्य अवस्था नरहेको, मृतकका आफन्तले शव उठाएको बताउँदैं चिकित्सकहरुले असुरक्षित महसुस गर्नुको कारण आफूले थाहा नपाएको बताए ।

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा दीपेन्द्र पाण्डेले चिकित्सकले असुरक्षित महसुस गरेपछि जुनसुकै बेला पनि काठमाडौं बोलाउन सकिने बताए । ‘चिकित्सकहरु असुरक्षित महसुस गरिरहेका छन्,’ डा. पाण्डेले भने, ‘प्रहरी प्रशासनले काम गर्नका लागि सुरक्षित वातावरण बनाएर, अस्पताल/डाक्टरको क्वार्टर तोडफोड गर्ने दोषी उपर कानुनी कारवाही गर्ने प्रक्रिया अगाडि बढाउनुपर्छ । यदि प्रहरी प्रशासनले चिकित्सकहरुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण पनि नबनाउने, दोषीलाई उन्मुक्ति पनि दिने अनि जे भयो भै गयो अब जसरी पनि विरामी हेर्नैपर्छ भनेर दवाब दिइरह्यो भने जुनसुकै बेला पनि डडेलधुरामा कार्यरत चिकित्सकहरुलाई काठमाडौं बोलाउन सक्छौं ।’

यसअघि जिल्ला प्रशासन कार्यालय र मृतकका आफन्तबीच मृतक गीताको पोष्टमार्टम जिल्ला बाहिरका चिकित्सकले गर्ने गरी चिकित्सक पठाइदिन, मृतकका आफन्तलाई नियमानुसार राहत उपलब्ध गराईने र घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली पठाइदिन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको थियो । उक्त सहमतिपछि प्रदर्शनमा उत्रिएका विरामीका आफन्तले प्रदर्शन स्थगित गर्नुका साथै विरामीको शव उठाएका थिए ।

सुत्केरी भएको १४ दिनपछि शुरु भएको पाठेघरको रक्तश्राव (सेकन्डरी पोस्टपार्टम हेमोरेज) नरोकिएपछि २५ वर्षीया गीता ताम्राकारको शुक्रबार अपरान्ह ५:१५ मा पाठेघरको शल्यक्रियाका क्रममा मृत्यु भएको थियो । विरामीको मृत्युपछि उपचारमा संलग्न चिकित्सकहरुले लापरवाही गरेको भन्दै आफन्तहरुले प्रदर्शन गर्नुका साथै डडेल्धुरा अस्पतालमा तोडफोड समेत गरेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ