२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु

विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु


विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गरिएको एक बिरामीको प्रत्यारोपणको दुई महिनापछि मृत्यु भएको छ । शल्यक्रिया गर्ने अस्पतालले बुधबार उक्त जानकारी दिएको हो ।

युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सिस्टमले एक विज्ञप्तिमा जनवरी ७ मा मुटु प्रत्यारोपण गरेका ५७ वर्षीय डेभिड बेनेटको मार्च ८ मा मृत्यु भएको जनाएको छ ।

यो शल्यक्रिया चिकित्सा जगतमा कोसेढुङ्गा मानिएको थियो।  यसले हृदयघातका गम्भीर रोगबाट पीडित लाखौं मानिसहरूका लागि मुटु प्रत्यारोपणको नयाँ बाटो खोलेको शल्यक्रिया पछि विज्ञहरुले बताएका थिए ।

अमेरिकी औषधी नियामक निकाय (एफडीए)ले नयाँ वर्षमा यो शल्यक्रियाका लागि स्वीकृती दिएको थियो। सुँगुरको मुटु प्रत्यारोपणको लागि यो आपतकालीन स्वीकृती  ५७ वर्षीय मेरिल्याण्डमा बस्ने डेभिड बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो।

 बेनेटको आनुवंशिक रूपले परिमार्जित सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरेर इतिहास रचेका थिए ।  यो प्रक्रिया पूरा भएपछि, क्रस-प्रजाति अंग दानले उपलब्ध मानव अंगहरूको अभावको समस्या समाधान गर्न सक्ने आशा गरिएको थियो। तर, आगामी दिनमा सफलता पाउनेमा अझै आशावादी रहेको अपरेशन टोली बताउँछ ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिन पहिले उनको अवस्था बिग्रन थालेको थियो। उनी निको नहुने कुरा स्पष्ट भएपछि उनलाई कम्पोजिट प्यालिएटिभ केयर दिइयो। उनले आफ्नो अन्तिम घडीमा आफ्नो परिवारसँग कुराकानी गर्न सक्षम भए।’

प्रत्यारोपणको नेतृत्व गर्ने शल्यचिकित्सक बार्टले ग्रिफिथले भने, ‘उनी एक बहादुर र महान रोगी साबित भए जसले अन्तसम्म लड्यो। हामी उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।’

बेनेट अक्टोबर २०२१ मा पूर्वी अमेरिकी राज्य मेरील्याण्डको अस्पतालमा आएका थिए। उनलाई आकस्मिक जीवन सहयोग मेसिनमा राखिएको थियो। उनलाई मानव प्रत्यारोपणका लागि अयोग्य मानिएको थियो ।

युनिभर्सिटीको कार्डियक जेनोट्रान्सप्लान्टेशन कार्यक्रमका निर्देशक मोहम्मद मोहिउद्दीनले भने, ‘प्रतिरक्षा प्रणाली पूर्ण रूपमा काम नगर्दा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटुले मानव शरीरमा राम्रोसँग काम गर्न सक्छ भन्ने कुरा सिकेर हामीले अमूल्य अन्तरदृष्टि प्राप्त गरेका छौं।’

उनले  भविष्यको क्लिनिकल परीक्षणहरूमा हाम्रो काम जारी राख्ने योजना रहेको बताए ।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ