काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) विरुद्ध देशभरका रेडियोग्राफहरु आन्दोलित भएका छन् । शुक्रबार दोस्रो दिन पनि रेडियोग्राफहरुले शान्तिपूर्ण रुपमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
सरकारी रेडियोग्राफर संघ नेपालको अगुवाई भइरहेको उक्त आन्दोलनले निरन्तर जारी रहने बताइएको छ । काठमाडौं, कञ्चनपुर, झापा, बुटवल, पोखरा, धनगढी, जनकपुर, चितवनलगायतका देशका सबै जिल्लाका सरकारी, अर्ध सरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीहरु कालोपट्टी बाँधेर काममा उपस्थिती भएको सरकारी रेडियोग्राफर संघका अध्यक्ष दामोदर रोक्काले जानकारी दिए ।
‘हामी शान्तिपूर्ण तर दृढताका साथ अघि बढिरहेका छौं। सरकार गम्भीर नभए हामी बाध्यताबश आन्दोलनको स्वरूप कडा बनाउँछौं। हाम्रो आन्दोलन पद र व्यक्ति केन्द्रित होइन, पेशाको अस्तित्व, सम्मान र भविष्यका लागि हो,’ उनले भने ।

संघले उठाएका प्रमुख मागहरूमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष रोक्काले असार ७ गतेभित्र स्पष्ट जवाफ नआए थप आन्दोलनका चरणहरू घोषणा गरिने जानकारी दिए।
संघले स्वास्थ्य मन्त्रालयको नयाँ दरबन्दी संरचना संशोधन हुनुपर्ने प्रमुख माग अगाडि सारेको छ । यसैगरी, रेडियोग्राफी सेवाको स्पष्ट सेवा संरचना र दायित्व, पेशागत योग्यताअनुसार पद सिर्जना र पदोन्नतिको सुनिश्चितता, नेतृत्व भूमिकामा पहुँच, सेवा सुरक्षा, स्वायत्तता र पेशागत पहिचानको संरक्षणको माग गरेको छ ।

