२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारश्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल बैशाखदेखि पुनः सञ्चालनमा आउने

श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल बैशाखदेखि पुनः सञ्चालनमा आउने


काठमाडौं—सुनसरीको दुहबीमा सञ्चालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नती गरी पुनः संचालनमा ल्याइने भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको सो अस्पताललाई स्तरोन्नती गर्दै पुनः संचालनमा ल्याउने भएका हुन् ।

बन्द हुनुअघिसम्म १५ शैय्या क्षमतामा संचालनमा रहेको अस्पतालको स्तरोन्नती गरी ५० शैय्या बनाइनेछ । सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ ।

सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउनेछ ।

अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउनेछ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक बसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।

‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने, ‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं ।’

करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग, प्रसुती सेवालगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आईसीयुलगायतका संरचना निर्माण गरी अस्पताल पुनः संचालन हुनेछ । सो अस्पतालमा डायलाइसिस सेवासमेत उपलब्ध हुनेछ । अस्पतालमा २४ सै घण्टा स्तरीय आकस्मिक सेवा समेत उपलब्ध हुनेछ ।

अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

आगामी १ बैशाख २०७९ मा पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुनेछ ।

चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #नर्भिक इन्टरनेशनल हस्पिटल, #बसन्त चौधरी, #श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ