काठमाडौं—दक्ष जनशक्तिबाट प्रसुती गराउने क्रम घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार आयोजना गरेको राष्ट्रिय स्वास्थ्य समीक्षाका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिहंले दक्ष जनशक्तिबाट प्रसुती गराउने क्रम घट्दै गएको बताए।
उनले प्रस्तुत गरेको तथ्यांक हेर्दा देशव्यापी रुपमा ६०.८ प्रतिशत मात्रै दक्ष जनशक्तिबाट प्रसुती गराइएको पाइएको छ। चेतनास्तरमा अगाडी हुनुको साथै दक्ष स्वास्थ्यकर्मी बढी रहेको भनिएकै प्रदेशहरुमा दक्ष जनशक्तिबाट प्रसुती गराउनेमा सबैभन्दा पछाडि रहेको पाइएको छ।
बागमती प्रदेशमा ६०.२ प्रतिशत, प्रदेश १ मा ५८ प्रतिशत, प्रदेश २ मा ५०.३ प्रतिशत र गण्डकी प्रदेशमा ४१.४ प्रतिशत मात्रै दक्ष जनशक्तिबाट प्रसुती गराएका छन् ।
विकट र पहुँच नपुगेको प्रदेशहरुमा भने दक्ष जनशक्तिबाट प्रसुती गराउनेको संख्या बढी पाइएको तथ्यांकले देखाएको छ । ७ वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ७७.० प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ७१.० प्रतिशत र कर्णाली प्रदेशमा ६९.६ प्रतिशतले दक्ष जनशक्तिबाट प्रसुती गराएको पाइएको छ।
राष्ट्रिय स्वास्थ्य सुरक्षा रणनीतिको लक्ष्यअनुसार २०२० सम्ममा ७० प्रतिशत पुग्नुपर्ने र २०२२ सम्ममा ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएपनि त्यहाँ सम्म पुग्ने अवस्था छैन । पहिलेकोभन्दा अहिले झनै दक्ष जनशक्तिबाट प्रसुती गराउने क्रम घट्दै गएको देखिन्छ ।
