काठमाडौं—बेलायतले नेपालबाट माग गरेको जनशक्ति पठाउने मोडालिटीबारे छलफल गर्न दुई देशका कार्य टोलीबीच वार्ता हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले शुक्रबार दुई देशका कार्य टोलीबीच वार्ता हुने जानकारी दिए ।
‘सुरुमा बेलायतले नर्सिङ जनशक्ति चाहियो भनेर पत्र पठायो । त्यसपछि हामीले यसमा काम गर्न एउटा कार्य टोली बनायौं,’ उनले हेल्थआवाजसँग भने, ‘त्यसपछि काउन्टर कार्य टोलीका लागि बेलायतलाई पत्र गयो । त्यसपछि बेलायती राजदूतावासले त्यहाँका एक अधिकारीको नेतृत्वमा तीन सदस्सीय कार्य टोली बनाएर पठाएको छ ।’ उनका अनुसार श्रम मन्त्रालयको कार्य टोली र बेलायती राजदूतावासका अधिकारी नेतृत्वको कार्य टोलीबीच शुक्रबार वार्ता हुनेछ ।
वार्तामा नेपालबाट नर्सिङ जनशक्ति कसरी लैजाने भन्ने मोडालिटीका बारेमा छलफल हुने प्रवक्ता घिमिरेले जानकारी दिए । स १० हजार नर्सिङ जनशक्ति नेपालबाट लैजान बेलायतले रुचि देखाएको भएपछि सुरुमा २ हजार जति जनशक्ति बेलायत पठाउने गरी तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार बेलायत सरकारले पठाएको प्रस्तावमा नर्सको वार्षिक तलब न्यूनतम ४८ हजार पाउण्ड स्टर्लिङ प्रस्ताव गरिएको छ । जुन नेपाली ७६ लाख रुपैयाँभन्दा बढी हुन जान्छ ।
‘बेलायतले नेपालबाट लैजाने नर्सिङ जनशक्तिमध्ये एक जनाको न्यूनतम वार्षिक तलब ४८ हजार पाउण्ड प्रस्ताव गरिएको छ,’ घिमिरेले हेल्थआवाजसँग भने, ‘योग्यताका हिसाबले सबै किसिमका भेराइटिज नर्सिङ जनशक्ति चाहिन्छ भनिएको छ ।’ उनकाअनुसार पिसिएल, बीएस्सी, बीएन, एमएस्सी र एमएन तहका नर्सिङ जनशक्ति बेलायतबाट माग भएको छ । शुन्यमा दुई देशबीच जीटुजी सम्झौता हुनेछ भने बेलायत जान लाग्ने खर्च सबै बेलायत सरकारले नै व्यहोर्ने छ ।
मन्त्रालयले यसअघि नै बेलायत पठाउने नर्सिङ जनशक्तिको मोडालिटीमा काम गर्न मन्त्रालयकी रोजगार व्यवस्थापन महाशाखा प्रमुख बिनु बज्राचार्य कुँवरको संयोजकत्वको कार्य टोली बनाएर काम गरिरहेको छ । उक्त टोलीमा परराष्ट्र, इमिग्रेसन, वैदेशिक रोजगार विभाग र शिक्षा मन्त्रालय अधिकारीहरु संलग्न छन् । दुई देशका कार्य टोली बीच वार्ताबाट बेलायत जाँदा कस्तो टेष्ट दिने, उमेर, योग्यता, अनुभव छनोट प्रक्रिया, क्वारेन्टाइन र पिसिआर के गर्नेलगायतका विविध विषयमाथि छलफल चलिरहेको प्रवक्ता घिमिरेले बताए ।
यो पनि पढ्नुस्