२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतले लिने नेपाली नर्सको वार्षिक तलब कम्तिमा ७६ लाख हुने, जाँदा कुनै शुल्क नलाग्ने

बेलायतले लिने नेपाली नर्सको वार्षिक तलब कम्तिमा ७६ लाख हुने, जाँदा कुनै शुल्क नलाग्ने


काठमाडौं—बेलायतले नेपालबाट माग गरेको नर्सिङ जनशक्तिको तलब कम्तिमा पनि वार्षिक ७६ लाख बढी हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार बेलायत सरकारले पठाएको प्रस्तावमा नर्सको वार्षिक तलब न्यूनतम ४८ हजार पाउण्ड स्टर्लिङ प्रस्ताव गरिएको छ ।

नेपाल राष्ट्र बैंकको शुक्रबारको विदेशी बिनिमय दररेटअनुसार १ पाउण्ड स्टर्लिङको खरिद दर १५९.५० पैसा रहेको छ । यसरी हिसाब गर्दा बेलायतमा रोजगारीका लागि जाने नेपाली नर्सिङ जनशक्तिमा एक जनाले वार्षिक ७६ लाख ५६ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

‘बेलायतले नेपालबाट लैजाने नर्सिङ जनशक्तिमध्ये एक जनाको न्यूनतम वार्षिक तलब ४८ हजार पाउण्ड प्रस्ताव गरिएको छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले हेल्थआवाजसँग भने, ‘योग्यताका हिसाबले सबै किसिमका भेराइटिज नर्सिङ जनशक्ति चाहिन्छ भनिएको छ ।’ उनकाअनुसार पिसिएल, बीएस्सी, बीएन, एमएस्सी र एमएन तहका नर्सिङ जनशक्ति बेलायतबाट माग भएको छ ।

बेलायत सरकारले नर्सिङ जनशक्ति आपूर्तिका लागि सरकारलाई नै अनुरोध गरेको हो । ‘सबै प्रक्रियाहरु सकारात्मक रुपमा अगाडि बढिरहेका छन्,’ प्रवक्ता घिमिरे भन्छन्, ‘मोडालिटी तयार पार्नका लागि मन्त्रालयको टिमले काम गरिरहेको छ । चाडै जीटुजी (सरकार—सरकारबीच) सम्झौता हुन्छ ।’

मोडालिटीमा तयार पार्न मन्त्रालयकी रोजगार व्यवस्थापन महाशाखा प्रमुख बिनु बज्राचार्य कुँवरको संयोजकत्वको समिति सक्रिय रहेको छ । उक्त समितिमा परराष्ट्र, इमिग्रेसन, वैदेशिक रोजगार विभाग र शिक्षा मन्त्रालय अधिकारीहरु संलग्न छन् । अहिले बेलायत जाँदा कस्तो टेष्ट दिने, उमेर, योग्यता, अनुभव छनोट प्रक्रिया, क्वारेन्टाइन र पिसिआर के गर्नेलगायतका विविध विषयमाथि छलफल चलिरहेको प्रवक्ता घिमिरेले बताए ।

बेलायतले जीटुजीमार्फत नर्सिङ जनशक्ति लैजाँदा कुनै शुल्क नलाग्ने गरी लिनेछ । ‘जिरो कष्टमा लानुपर्छ भन्ने भन्ने माग उहाँहरुको छ,’ प्रवक्ता घिमिरेले थपे ।

बेलायत सरकारले नर्सिङ जनशक्ति अभाव भएपछि विभिन्न देशहरुबाट १ लाख नर्सिङ जनशक्ति लैजाँदैछ । नेपाल सरकारले झण्डै १० हजार नर्सिङ जनशक्ति आपूर्ति गर्ने गरी बेलायतसँग सम्झौता गर्न प्रक्रिया अगाडि बढाइसकेको छ ।

बेलायतमा नर्सिङ जनशक्ति पठाउने लगभग निश्चित भएर प्रक्रियाहरु समेत अगाडि बढिसकेकाले चाडै यो प्रक्रिया टुंगोमा पुग्ने विश्वास सरकारी अधिकारीहरुले गरेका छन् । सम्भवतः सबै प्रक्रिया अहिलेकै गतिमा अगाडि बढेमा सन् २०२२ को सुरुवातीबाट नेपालले नर्सिङ जनशक्ति बेलायत पठाउनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ