२०८२ चैत्र २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहेल्थकेयरका सर्वाधिक धनी १० अर्बपति, जसले संसारको स्वास्थ्य सेवा हाँकिरहेका छन्

हेल्थकेयरका सर्वाधिक धनी १० अर्बपति, जसले संसारको स्वास्थ्य सेवा हाँकिरहेका छन्


विश्वका धनाढ्यहरुको सूची सार्वजनिक गर्ने फोर्ब्सले हालै मात्र विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गरेको थियो। जसमध्ये सर्वाधिक कमाउने अर्बपतिहरुमा क्रमस: एलन मस्क, जेफ बेजोस, बर्नाड आर्नल्ट एन्ड फ्यामली, बिल गेट्स, वारेन बफेट, ल्यारी पेज, सर्गे ब्रिन, ल्यारी एलिसन, स्टिभ बलमार र मुकेश अम्बानी छन् । यी त भए यस वर्षको सर्वाधिक कमाउने अर्बपतिहरु। यी १० नामका शीर्ष व्यक्ति प्रविधि, फ्यासन, अटोपार्ट्सजस्ता क्षेत्रका उद्योगीहरु हुन् ।

तर, हामी ती अर्बपतिको सूची लिएर आएका छौँ, जसले हेल्थकेयर क्षेत्रबाट पनि विश्वमा राज गरिरहेका छन्। विश्वका अर्बपतिहरुको सूचीमा स्वास्थ्य क्षेत्रका अर्बपतिहरु पनि प्रशस्तै छन् ।  अझ, कोभिड-१९ को महामारी सुरु भएयता यस विरुद्ध लड्नको लागि हतियार मानिएको कोभिड खोप उत्पादनले पनि नयाँ अर्बपतिमा खोप उत्पादककर्ताहरु जोडिएका छन् ।

यहाँ त्यस्ता १० वटा स्वास्थ्य क्षेत्रमा राज गर्ने अर्बपतिहरुको नाम दिइएको छ, जसले विश्वमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

१. खोप निर्माता साइरस पुनावाला, भारत

स्वास्थ्य सेवातर्फ सर्वाधिक कमाउने अर्बपतिहरुमा यस वर्ष पहिलो नाम साइरस पुनावालाले रहेको छ। उनले सन् १९६६ मा सिरम इन्स्टिच्युट अफ इन्डिया स्थापना गरे। जसले उनलाई विश्वको सबैभन्दा ठूलो खोप निर्माता बनायो। सिरमले दादुरा, पोलियो र फ्लूसहित विभिन्न खोपहरूको वार्षिक रूपमा १.५ बिलियन डोज उत्पादन गर्छ। सिरमका सीईओ युके-शिक्षित छोरा अदारको नेतृत्वमा कम्पनीले कोभिड-१९ खोप बनाउन नयाँ कारखाना निर्माण गर्न ८० करोड डलर लगानी गर्‍यो।

सिरमसँग धेरै कोभिड विरुद्ध खोप साझेदारीहरू छन्। यसले एस्ट्राजेनका र अक्सफोर्ड युनिभर्सिटीद्वारा विकसित खोप कोभिशिल्ड उत्पादन गर्छ। कोभिड खोपको उत्पादनले  उनलाई विश्व अर्बपतिको सूचीमा अगाडि ल्याएको हो । विश्वका अर्बपतिको सूचीमा यसपटक उनी ५६ औं स्थानमा छन्। उनको नेट वर्थ २४. ३ बिलियन अमेरिकी डलर रहेको छ।

२. थोमस फ्रिस्ट जुनियर, अमेरिका

अमेरिकाका थोमस फ्रिस्ट टेनेसी, एक पूर्व वायुसेना फ्लाइट सर्जन हुन्। उनले सन् १९६८ मा आफ्नो बुबासँग मिलेर हस्पिटल क्रोप अफ अमेरिका स्थापना गरे । सो अस्पतालले हरेक दिन हजारौं मानिसहरूलाई सेवा दिन्छ। विश्वमा सबैभन्दा धेरै तलब पाउने डाक्टरहरूमध्ये एक हुन्। टेनेसीसेन्टमा वाशिंगटन विश्वविद्यालयबाट स्नातक गरेका उनीसँग एमडी डिग्री छ।

फ्रिस्टले एघार वर्षसम्म आइबिएममा निर्देशक बोर्डको सदस्यको रूपमा सेवा गरिसकेका छन्। उनी हाल गालन र ओकीचोबी अस्पताल (आइएनसी)का अध्यक्ष पनि हुन्।

उनले सन् २०११ मा दुई वटा व्यवस्थापन खरिद गरेपछि तेस्रो पटक सार्वजनिक गरे र कम्पनीको २०% भन्दा बढीको स्वामित्व लिए। एचसीए हेल्थकेयरले युएस र युकेका २० राज्यहरूमा १८७ अस्पताल र लगभग २,००० हेरचाह साइटहरूको स्वामित्व र सञ्चालन गर्दछ। उनको नेटवर्थ २१. ८ बिलियन अमेरिकी डलर रहेको छ। विश्वका अर्बपतिको सूचीमा यसपटक उनी ८३ औं स्थानमा छन्।

३. जियाङ रेनसेङ, चीन

स्वास्थ सेवाका अर्बपतिको सूचीमा ३ औं स्थानमा छन्, जियाङ रेनसेङ। उनी एक चिनी अर्बपति व्यवसायी र खोप निर्माता झीफेईको अध्यक्ष हुन्। उनले पहिला प्राथमिक विद्यालय शिक्षक र सरकारी स्वास्थ्य अधिकारीको रूपमा पनि काम गरेका छन्।

उनको परिवार झेफेइ बायोलोजिकल प्रोडक्ट्सका अध्यक्षको परिवार हो । यो परिवारको सम्पतिमा १७ अर्ब बराबरको वृद्धि भएको छ । सन् २०२० मा यो परिवारको सम्पत्ति ७ अर्ब ६० करोड अमेरिकी डलर बराबरको थियो । सन् २०२१ मा २४ अर्ब ४० करोड अमेरिकी डलर बराबर पुग्यो । र, अहिले भने उनको नेटवर्थ १७. ७ बिलियन अमेरिकी डलर पुगेको छ। उनी विश्व अर्बपतिको सूचीमा ९१ औं स्थानमा छन्।

४. ली जिटिंग, चीन

ली विश्वभरका अस्पतालहरूको लागि मेडिकल उपकरण बनाउने सेन्जेन मिन्ड्रे बायो-मेडिकल इलेक्ट्रोनिक्सका संस्थापक र अध्यक्ष हुन्। लीले चीनको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट स्नातक डिग्री लिएका छन्।

कोभिड महामारीको समयमा, मिन्ड्रेले वुहान र उत्तरी इटालीजस्ता कडा प्रभावित क्षेत्रका अस्पतालहरूलाई ४.६ मिलियन बराबरको मेडिकल उपकरणहरू दान गरेका थिए । कोभिड-१९ भाइरस महामारीका बीचमा मिन्ड्रेका यन्त्रहरूको माग अत्यन्त बढेकोले कम्पनीको नाफा अकासियो। उनको नेटवर्थ रहेको छ- १७. ६ बिलियन डलर। उनी विश्व अर्बपतिको सूचीमा ९४ औं स्थानमा छन्।

५. सन पियाओयाङ, चीन

सन पियाओयाङले पहिले राज्यको नेतृत्वमा रहेको जियाङ्सु हेन्ग्रुई मेडिसिनलाई चीनको सबैभन्दा ठूलो एन्टी-इन्फेक्सन र ट्युमर-उपचार गर्ने औषधीको उत्पादकमा परिणत गर्‍यो। सन् १९९० मा उनी ३२ वर्षको हुँदा जियाङ्सु हेङ्रुइको प्रमुख बनेका थिए ।

सन् २०१९ को जुनमा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको औषधि निर्माता हान्सोह फार्मास्युटिकलको अध्यक्ष सनकी श्रीमती झोङ हुइजुआन हुन्। उनको नेटवर्थ १७. १ बिलियन अमेरिकी डलर छ। उनी फोर्ब्सका विश्व अर्बपतिको सूचीमा ९९ औं स्थानमा छन्।

६. जु हाङ्ग

जु हाङ्ग चिकित्सा उपकरणहरूको आपूर्तिकर्ता मिन्ड्रे मेडिकल इन्टरनेशनलका सह-संस्थापक र गैर-कार्यकारी निर्देशक हुन्। जुले सिङ्घुआ विश्वविद्यालयको कम्प्युटर विज्ञान र प्रविधि विभागबाट स्नातक डिग्री लिएका छन्।

उनले सिङ्गुआ युनिभर्सिटी डिपार्टमेन्ट अफ इलेक्ट्रिकल इन्जिनियरिङबाट बायोमेडिकल इन्जिनियरिङमा स्नातकोत्तर र चाइना-युरोप इन्टरनेशनल बिजनेस स्कुलबाट इएमबीए डिग्री पनि हासिल गरिसकेका छन्।

कोभिड-१९ महामारीमा युरोपमा छिरेपछि मिन्ड्रेको शेयर झनै दोब्बर वृद्धि भयो। उनको नेट वर्थ १६.१ बिलियन अमेरिकी डलर छ। उनी विश्व अर्बपतिको सूचीमा ११३ औं स्थानमा छन्।

७ . दिलीप सांघवी, भारत

औषधी वितरकका छोरा, दिलीप सांघवीले सन् १९८३ मा सन फार्मास्युटिकल इन्डस्ट्रीज खोल्नका लागि आफ्ना बुबाबाट २०० डलर ऋण लिएर मनोचिकित्साको औषधी बनाए ।

उनको कम्पनी भारतको सबैभन्दा मूल्यवान सूचीबद्ध फर्मा कम्पनी हो। र, विदेशी बजारबाट यसको ४ दशमलव ५ बिलियन अमेरिकी डलर वार्षिक राजस्वको दुई तिहाइ प्राप्त गर्दछ। उनको नेटवर्थ १५, ६ बिलियन अमेरिकी डलर रहेको छ। उनी विश्व अर्बपतिको सूचीमा ११५ औं स्थानमा छन्।

८ . चेन ब्याङ, चीन

चेन ब्याङ चीनको सबैभन्दा ठूलो नेत्रविज्ञान चेन एयर आई अस्पताल संघको अध्यक्ष हुन्। सो समूह चीनको लगभग २०० क्लिनिकहरू आवद्ध छन् । समूहले अमेरिका, युरोप र हङकङमा नासभिल, टेनेसीमा रहेको वाङ भिजन इन्स्टिच्युटलगायत ८० वटा थप आउटलेटहरू पनि प्राप्त गरेको छ।

सेन्जेन स्टक एक्सचेन्जमा सो कम्पनीको शेयर छ। उनको नेटवर्थ १२. ७ बिलियन अमेरिकी डलर रहेको छ। उनी विश्व अर्बपतिको सूचीमा १४६ औं स्थानमा छन्।

९ .   आन्द्रिया एण्ड थोमस स्ट्रुइंगम्यान, जर्मनी

अर्बपतिको सूचीमा पर्ने जर्मनीका दुई भाई थोमस र आन्द्रियाले सन् १९८६ मा जेनेरिक औषधि निर्माता हेक्सलको स्थापना गरेका थिए। सो कम्पनी सन् २००५ मा औषधि कम्पनी नोभर्टिसलाई ७ बिलियन डलरमा बेचेका थिए।

यद्यपि, उनीहरूले अन्य बायोटेक कम्पनीहरूमा लगानी गरेका छन् र उनीहरूले संयुक्त राज्य अमेरिकाको आधिकारिक जर्मन कम्पनी बायोटेकको आधा भाग ओगटेका छन्। जसले कोरोनाभाइरस खोप विकास गरिसकेको छ। बायोटेकको सेयरहरूबाट उनीहरु निकै फाइदामा छन् ।

यी भाइहरूले बायोटेक, फर्मा, जीवन विज्ञान र स्वास्थ्य सेवा कम्पनीहरूमा लगानी गरेका छन् । २००८ मा उनीहरुले फ्रान्कफर्टमा आफ्नो बुबा, अर्न्स्ट स्ट्रुङम्यानको नाममा एउटा न्यूरोसाइन्स अनुसन्धान केन्द्र स्थापना गरे। उनीहरुको नेटवर्थ ११. ९ बिलियन अमेरिकी डलर रहेको छ। उनीहरु विश्व अर्बपतिको सूचीमा १५८ औं स्थानमा छन्।

१०. कार्ल कुक, अमेरिका

कार्ल कुकले सन् २०११ मा उनका बुबा बिलको मृत्यु हुँदा आफ्ना आमाबुवाको मेडिकल उपकरण निर्माता, कुक संगठनको सीईओको रूपमा पदभार ग्रहण गरे। जसले सन् १९६३ मा आफ्नो ब्लूमिंगटन, इंडियाना अपार्टमेन्टको अतिरिक्त बेडरूममा चिकित्सा उपकरण निर्माण सुरु गरे। कुक मायोसाइट भनिने जीवन विज्ञान विभागका अध्यक्ष हुन्। जसले मूत्र असंयमको उपचार गर्न सेल थेरापी विकास गरिरहेको छ। उनको नेट वर्थ ११.१ बिलियन अमेरिकी डलर रहेको छ। उनी फोर्ब्सको विश्व अर्बपतिको सूचीमा १७७ औं स्थानमा छन्।

विश्वका धनी यस वर्ष स्वास्थ्य सेवाको मामिलामा सबैभन्दा बढी धनी महिला झोंग हुइजुआन बनिन् । उनी चीनको हनसोह फर्मा कम्पनीको फाउन्डर र अध्यक्ष हुन् । उनको सन् २०१९ मा हङकङको स्टक एक्सचेन्जरमा सार्वजनिक भयो । उनले दोस्रो धनी हेल्थकेयर अर्बपति सन पिआओयाङ्गसँग विवाह गरिन्, जसले एक भिन्न फर्मा खोलेका छन् ।

-संकलन तथा भावानुवाद मनिषा थापा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ