काठमाडौं—नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले चिकित्सा शिक्षा सुधारका माग गर्दै बेला—बेलामा सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीलार्य रेडिमेड अनशनशास्त्री भनेका छन् । बिहीबार बजेटमाथिको छलफलमा भाग लिदैं ज्ञवालीले अहिले ४४ अर्ब रुपैयाँ शिक्षाकै कारण बाहिरिरहेको बताए ।
‘यहाँ नयाँ मेडिकल कलेज खोलौ वा अरु केही खोलौ भन्यो भने एक जना रेडिमेड अनशनशास्त्री हुनुहुन्छ । उहाँ अनशन बसिहाल्नुहुन्छ । त्यसपछाडि हामी बहकिन्छौं,’ उनले भने, ‘४४ अर्ब रुपैयाँ शिक्षामा बाहिरिरहेको छ । त्यसको आधा मात्र शिक्षा र सेवामा लगानी गर्दा पनि त्यो रोकिन्थ्यो ।’ तर, उनले शिक्षामा बाहिरिएको अर्बौ रुपैयाँ देशभित्र रोक्ने कार्यक्रम बजेटमा नरहेको बताए ।
त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सीलेन्स बनाउने कुरा बजेटमा आएको उल्लेख गर्दै ज्ञवालीले तर सरकारले ६ महिनादेखि सत्तारुढ दलहरुकै विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा लगाएको ताला खोल्न पहल नगरेको बताए ।
प्राविधिक शिक्षा नेपालको आजको आवश्यकता भएको बताउँदैं उनले यसको संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘अहिले ७० प्रतिशत जनरल र ३० प्रतिशत प्राविधिक रहेको छ । सुरुमा ५०—५० गरौ र पछि प्राविधिक शिक्षाको भार बढाउँदैं जाउ भनिएको थियो,’ उनले भने, ‘तर, त्यससँग जोड्ने गरी कार्यक्रम आएको छैन ।’