काठमाडौं—औषधी व्यवस्था विभागका पूर्व महानिर्देशक नारायण ढकालले आफूले औषधीको मुल्य समायोजन कार्यविधी बनाउने औषधी परामर्श परिषद्को बैठकले गरेको निर्णय नलुकाएको बताएका छन् । बिहीबार हेल्थआवाजमा ४ वर्षअघि भएको उक्त निर्णयअनुसार काम नभएको र निर्णय नै लुकाइएको भन्दैं समाचार प्रकाशित भएको थियो ।
उक्त समाचारप्रति प्रतिक्रिया जनाउँदैं ढकालले आफूले कार्यविधी बनाउने निर्णय भएपछि तीन पटक कार्यविधी बनाएर मन्त्रालय लिएर गएको बताएका छन् । ‘मैले पहिलो पटक मन्त्रालयमा कार्यविधी नै बनाएर लगेको हुँ,’ उनले भने, ‘मैले लगेको कार्यविधीमा असहमतिभन्दा तत्कालीन नेतृत्वहरुले मैले लगेको भनेपछि ध्यान दिएनन् ।’
उनले आफूले सुरुमा परामर्श परिषद्को बैठकले निर्णय गरेलगतै वि.सं. २०७५ मै पहिलो पटक कार्यविधी बनाएर मन्त्रालयमा लगेको बताए । त्यतिबेला स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव रहेका थिए ।
‘दोस्रो पटक वि.सं. ०७६ पुनः कार्यविधी नै बनाएर बकाइदा नै पेश गरेको हुँ,’ उनले भने । तर, यस पटक पनि आफूले पेश गरेको कार्यविधीमा मन्त्रालयको नेतृत्वले चासो नदेखाएको उनले बताए । यतिबेला स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल थिए ।
तेस्रो पटक आफू महानिर्देशकबाट मन्त्रालयमा आउनुभन्दा केही समयअघि कार्यविधी मन्त्रालयमा पेश गरेको उनले बताए । ‘त्यो कार्यविधी तेस्रो पटक मन्त्रालयमा पेश गरे । लगतै, म मन्त्रालयमा आइहाले । त्यसपछि के भयो मलाई थाहा छैन ।’