२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षासरकारले मेडिकल कलेज संचालकलाई भन्यो, ‘आगामी वर्ष वैज्ञानिक ढंगले शुल्क निर्धारण गर्छौं’

सरकारले मेडिकल कलेज संचालकलाई भन्यो, ‘आगामी वर्ष वैज्ञानिक ढंगले शुल्क निर्धारण गर्छौं’


काठमाडौं—सरकारले मेडिकल कलेजहरुलाई यस शैक्षिक सत्रमा चिकित्सा शिक्षामा भर्ना लिइदिन आग्रह गरेका छन् । चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयले संयुक्त रुपमा कलेज संचालकहरुलाई बोलाएर भर्ना लिइदिन आग्रह गरेका छन् ।

तर, कलेज संचालकहरुले सिट घटाएको छ, तलब सेवा सुविधा, महंगी दैनिक बढिरहेका बेला सरकारले तोकेको शुल्कमा पढाउन असमर्थ रहेको बताएका छन् । निजी मेडिकल कलेजहरुले यस शैक्षिक सत्रमा भर्ना नलिने बताइरहेका बेला हालै मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीसहित मन्त्रालय र आयोगका उच्च पदाधिकारीको सहभागितामा मेडिकल कलेज सञ्चालकहरुसँग छलफल भएको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मेडिकल कलेजका सञ्चालकहरुसँग छलफल चलिरहेको बताए । उनले चार दिनअघि भएको छलफलमा मन्त्रालयले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कमै पढाउन कलेजहरुलाई आग्रह गरेको बताए । ‘हामीले पहिलेको मन्त्रिपरिषद्ले निर्धारण गरेको शुल्कमा चिकित्सा शिक्षा आयोगले राष्ट्र बैंकले मुद्रास्फीत दरका आधारमा वृद्धि गरेको शुल्कमा पढाउन भनेका छौं,’ उनले भने, ‘तर, उहाँहरु यो शुल्कमा पढाउन सक्दैनौं भनिरहनुभएको छ ।’ उनकाअनुसार आयोगले अर्को वर्ष सबै क्षेत्रका विज्ञहरु समेटेर कार्यदल बनाएर वैज्ञानिक तवरमा शुल्क निर्धारण गर्ने आश्वासन समेत कलेज सञ्चालकहरुलाई दिएको छ ।

मेडिकल कलेज सञ्चालकहरुसँगको छलफलमा सरकारले बढी शुल्क फिर्ता गर्नुपर्ने आफ्नो पूरानै अडान दोहो¥याएको छ । प्रवक्ता शर्माकाअनुसार नेपाल सरकारले मन्त्रिपरिषद्ले निर्णय गरेभन्दा बढी शुल्क लिएको हो भने सम्बन्धित कलेज र विद्यार्थीहरु आपस बसेर हल गर्नुपर्ने तर त्यसरी समस्या हल नगरेमा बढी लिएको शुल्कको स—प्रमाण विद्यार्थीहरुले मेडिकल कलेज रहेको जिल्ला प्रशासन कार्यलयमा उजुरी दिनुपर्ने बताए ।

मेडिकल सञ्चालकहरू, कसले के भने ? 

म अस्पताल मात्रै चलाएर बस्छु

डा. हरिस न्यौपाने
संचालक, चितवन मेडिकल कलेज
कलेज संचालकहरु ठग हुने भन्ने भ्रमको सिर्जना गराइएको छ । हामी बदनामी भएर काम गर्नु छैन । हामीलाई चोर, डाका भएर काम गर्नु छैन । तपाईंहरु कलेज लैजानुस हामी अस्पताल मात्रै संचालन गरेर बस्छौं । वर्षमा करोडौ घाटा छ । त्यसको हिसाब—किताब चै कसले गर्ने ? मुल्याङ्कन गरौं मेडिकल कलेज सरकार चलाओस् । म अस्पताल मात्रै चलाएर बस्छु ।

शुल्क घटाउनोस् तर, विदेशी विद्यार्थी भर्नामा सहजता ल्याउनोस्

डा. ज्ञानेन्द्रमानसिंह कार्की
संचालक विराट मेडिकल कलेज
नेपाली विद्यार्थीको शुल्क अझै घटाउनोस् । तर, विदेशी विद्यार्थीको भर्नालाई सहजता ल्याउनोस् । सम्बन्धित देशको प्रवेश परीक्षा पास गरेका विद्यार्थीलाई भर्नाको वातावरण बनाइदिनुपर्छ । उनीहरुबाट आएको रकमले नेपाली विद्यार्थीले पनि सस्तोमा पढ्न पाउँछन् । यसले देशलाई पनि फाइदा पुग्नेछ ।
कलेजहरुको क्षमता र योग्यताका आधारमा ७५/७५ वा ६०/६० सिट दिएर भएपनि पठन पाठनलाई व्यवस्थित बनाउनुपर्छ । अहिले तोकेको शुल्कले नेपाली कलेजलाई धान्न सम्भव छैन । शुल्क नबढाई क्षमता हेरेर सिटमा पुर्नविचार गरेको खण्डमा यस्तो समस्या आउँदैन ।

५२ लाख बिना पढाउन सकिदैन

डा. सुरेश कनोडिया
सञ्चालक नेपालगन्ज मेडिकल कलेज
सरकारले तय गरेको नयाँ शुल्कमा उपत्यकामा ४० लाख २३ हजार २ सय ५० र बाहिर ४४ लाख ३६ हजार २५ शुल्क तय गरेको छ । हामीले सो शुल्कमा मेडिकल शिक्षा पढाउन सक्दैनौं । स्पष्टै पारेका छौं । ०७४/०७५ मा पर विद्यार्थी ५२ लाख रुपैयाँ लागेको छ । सरकारले तोकेको भन्दा ७ लाख रुपैयाँ बढी पर्न जान्छ । साढे चार वर्षको पढाइका क्रममा कम्तिमा पनि ४ लाख रुपैयाँ विभिन्न शीर्षकमा खर्च भएको हुन्छ । सरकाले यस वर्ष भर्ना लिइदिन भनेको छ । तर, यही रकममा सक्ने अवस्था छैन । एक वर्षभित्र वैज्ञानिक रुपमा शुल्क समायोजन गर्ने सरकारले बचन दिएको छ तर, विश्वास गर्ने आधार छैन । सरकारले पहिलो किस्ता बापत १३ लाख रुपैयाँ लिन भन्छ । तर, हामीले १५ लाख नलिएसम्म सम्भव नै देखिदैन ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ