जुम्ला—हुम्लामा एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार भएको छ । ताँजाकोट गाउँपालिकामा स्वास्थ्य सम्बन्धी काम गर्दै आएकी स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार भएको हो ।
महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ताँजाकोट गाँउपालिका– ३ मैलास्थित स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलका अनुसार १० भदौंको राति करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्धक बनाएर राखेको भन्ने सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोलीले राति नै उनीहरुलाई पक्राउ गरेको हो । स्वास्थ्य चौकी इन्चार्ज शर्मासहित तीनै जनाले मदिरा सेवन गरी ती स्वास्थ्यकर्मीको कोठामा गएर यौन दुर्व्यवहारको गरेको आरोप छ ।
डिएसपी पोखरेलले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक रुपमा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्ने छ । उनीहरूलाई पक्राउ गरे लगत्तै दुवै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याइएको छ ।’
मदिरा सेवन गरेर रातिको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई विभिन्न खाले यौन दुर्व्यवहारका कुराहरू गरेपछि ती कर्मचारीले आफ्नो संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गराएकी थिइन् । उक्त संस्थाको केन्द्रीय कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएपछि दुर्व्यवहार आरोपित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।