डा. अनिल भट्टराई मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटीभिएस) विभागका प्रमुख हुन् । युवापुस्ताका उदीयमान कार्डियोभास्कुलर सर्जन डा. भट्टराईले १० वर्ष रसिया बसेर पढेका हुन् । रसियाको सारातोभ स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका उनले त्यहीबाट पिजी गरे । इटलीको बेरगामोस्थित इन्टरनेशल हार्ट स्कुलमा एक वर्षको फेलोसीप गरेका उनले इटलीकै पादोभा युनिभर्सिटीबाट पिएचडी उपाधि हासिल गरेका छन् । पछिल्ला १२ वर्षदेखि मनमोहन कार्डियोथोरासिकमा मुटुको शल्यक्रिया र अध्यापन सक्रिय डा. भट्टराईसँग हेल्थआवाजले नेपालमा मुटु सर्जरी अवस्था, मुटु प्रत्यारोपणको सम्भावनालगायत मुटु स्वास्थ्यका यावत विषयमा केन्द्रीत रहेर गरेको कुराकानीः
नेपालमा मुटुका शल्यक्रिया बढ्दैं गएको देखिन्छ नि ?
मुटुका शल्यक्रियाहरु बढ्नुमा दुई—तीन वटा कारण छन् । पहिलेभन्दा रोगको डाइग्नोसिस बढ्यो । मुटु रोग उपचार केन्द्र, अस्पताल र मुटु रोग विशेषज्ञहरु बढे, जसका कारण मुटु स्वास्थ्य सेवाको पहुँच बढ्यो । पहिले काठमाडौंमा मात्रै मुटु रोगको उपचार हुन्थ्यो, अहिले विस्तारैं देशका अरु सहरहरुमा पनि फैलिदैं गएको छ । पछिल्लो दशकमा मुटु रोगका बिरामीहरु पनि बढेको देखिन्छ । त्यसकारण मुटु रोगका बिरामीको वृद्धि र मुटु रोगको उपचार पद्धतिमा भएको विकास र पहुँच बढ्दैं गएका कारण मुटुका शल्यक्रियाहरु बढ्दैं गएका हुन् ।
मुटुको शल्यक्रिया कस्ता—कस्ता अवस्थामा आवश्यक पर्छ ?
मुटुको शल्यक्रिया गर्नुपर्ने धेरै किसिमका अवस्थाहरु छन् । बच्चा जन्मदादेखि ९० वर्षको उमेरभन्दा पछिसम्म पनि मुटुको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । कहिलेकाही बच्चा जन्मनेबितिकै मुटुको शल्यक्रिया गरिएन भने मृत्यु हुने अवस्थाहरु पनि हुन्छन् । केही जन्मजात मुटु रोगहरु जस्तैः मुटुमा प्वाँल हुने, मुटुबाट निस्कने मूल नसाहरु उल्टो बसेकोदेखि सामान्य र जटिल खालका मुटु रोगहरु हुन सक्छन् । नेपालमा हामीले धेरै शल्यक्रिया गर्ने बाथ मुटु रोगको हो । यसले मुटुका भल्बहरु खराब गर्छ र मुटुका बिग्रेका भल्बहरुलाई मर्मत गर्ने वा फेर्ने हो । जसलाई भल्ब रिप्लेसमेन्ट सर्जरी भन्छ, यो सर्जरी बढी हुन्छ । त्यसमध्ये पनि अझ माइट्रल भल्बको शल्यक्रिया बढी हुन्छ । मुटुभित्र चार वटा भल्बहरु हुन्छन्, त्यसमा देब्रपट्टीको माइट्रल भल्बको बढी शल्यक्रिया हुने गरेको छ ।

भनेपछि नेपालमा मुटु बिगार्ने प्रमुख कारक बाथ रोग रहेछ होइन त ?
समग्र देशको हेर्ने हो भने मुटु बिगार्ने प्रमुख कारण बाथ मुटु रोग हो । सहरी क्षेत्रको मात्रै कुरा गर्ने हो भने ‘स्केमिक हर्ट डिजिज’ अर्थात मुटुको रक्तनलीमा अवरोध खडा भएर कालान्तरमा गएर हर्टअट्याक गराउने रोग नम्बर वानमा छ । त्यसपछि जन्मजात मुटु रोगहरु आउँछन् ।
सहरी क्षेत्रमा मुटुको शल्यक्रिया गर्नुपर्ने प्रमुख कारकहरु के देखिन्छन् ?
केही दशक अगाडिसम्म हामीले हर्टअट्याक गराउने (स्केमिक वा क्रोरनरी हर्ट) डिजिजलाई विकसित वा धनी देशको मुटु रोग भन्थ्यौं । सहरीकरणसँगै सहरमा बस्ने मानिसको जीवनशैली पनि विकसित देशको जस्तो हुन थाल्यो । जीवनशैली, खानपान शैली (जंक फुड, मासुजन्य कुरा, विदेशी खाना), शारीरिक व्यायामको कमीलगायत यसका मुख्य कारणहुन् । गाडी, मोटरसाइकल र पब्लिक यातायातमा यात्रा गाउँमा पहिले थिएन, कतिपय ठाउँमा अहिले पनि छैन । न्यूनतम शारीरिक व्यायाम पनि सहरका मान्छेले गर्न छाडे । त्यसबाहेक धुम्रपान र मद्यपान सहरमा बस्ने मानिसहरुले गर्न थालेका छन् भने वायु प्रदुषण पनि सहरमा बढी छ । गाउँको जस्तो हावा छैन । त्यसबाहेक स्ट्रेशफूल लाइफ पनि यसको कारण हो । सहरमा पेशामै प्रतिस्पर्धा छ, तनाव छ । त्यही कारण सहरमा बस्ने मान्छेमा हर्टअट्याक गराउने रोग बढी देखिन्छ ।
मुटुको शल्यक्रियाका हिसाबले हेर्ने भने नेपालको स्थान कहाँ छ ?
मुटुको शल्यक्रियाको कुरा गर्दा नेपालमा लगभग ९५—९७ प्रतिशतसम्म मुटुको शल्यक्रिया हुन्छ । बच्चा जन्मनेबितिकै गर्ने मुटुको शल्यक्रियामा राम्रै आउटकम दिइहेका छौं । बाथ मुटु रोग र सामान्य जन्मजात मुटु रोग, नसा सुकेको, उल्टो नसा भएको, मुटुमा प्वाँल परेको, भल्ब फेर्ने, वाइपास, पेशमेकर, सबै खाले एन्जीओप्लाष्टी, मुटु फुट्ने वा नसा फुट्ने (एनओरिज्म डाइसेक्सन) फुटेको नसा फेर्नेलगायतका जटिल खालका शल्यक्रिया पनि हामीले गर्छौ । अहिले नेपालमा नभएको रोबटिक सर्जरी, कृत्रिम मुटु (भेन्ट्रीकुलर एसिस्ट डिभाइस) र मुटु प्रत्यारोपण मात्रै हो ।
कृत्रिम हार्ट प्रत्यारोपण गर्ने कुरामा के कुरा अपुग भइरहेको छ ?
मुटु फेल भइसकेको अवस्थामा कृत्रिम मुटु (भेन्ट्रीकुलर एसिस्ट डिभाइस) सपोर्ट गर्ने चिज हो । मुटु एकदमै कमजोर भइसकेको छ र केही समयभित्र मुटु फेरिएन भने त्यो मान्छेको मृत्यु हुन्छ भन्ने लगभग निश्चित छ, त्यस्तो बेलामा ‘ब्रीज टु हर्ट ट्रान्सप्लान्ट’ भनेर कृत्रिम मुटुलाई प्रयोग गर्ने हो । यसले मुटु फेल भइसकेको मान्छेलाई मुटु प्राप्त नहुन्जेलसम्म जोड्ने काम गर्छ । त्यसकारण मुटु प्रत्यारोपणको कार्यक्रम सुरु भइसकेपछि यो अटोमेटिक रुपमा आउँछ । मुटु प्रत्यारोपण र यो सँगै आउने भएकाले सुरु नभएको हो ।

मुटु प्रत्यारोपण र अन्य अंगहरुको प्रत्यारोपणमा के फरक छ ?
मुटु एउटा मात्रै छ, किड्नी दुई वटा हुन्छ, एउटा झिक्दा पनि मान्छे बाँचिरहेको हुन्छ । एउटा फोक्सो झिक्दा पनि मान्छे अर्को फोक्सोले बाँच्छ । कलेजोका पनि आधा भाग झिकेर अरुलाई दिन मिल्छ । तर, मुटु त आधा झिकेर दिन मिल्दैन्, दुईटा छैन । मस्तिष्क मृत्यु भएको मानिसबाट मात्रै मुटु झिकेर अर्को मानिसलाई दिन मिल्छ । त्यसकारण हामीले अंगदानबारेमा नेपालमा जनचेतनामूलक कार्यक्रमहरु तीब्र रुपमा गर्नुपर्छ । मृत्युपछिको अंगदानलाई प्रमोट गर्नुपर्छ । संसारमा सबैभन्दा बढी हर्ट डोनरहरु बाइकरहरु हुन् । किनभने, सबैभन्दा बढी हेड इन्जुरी बाइक चलाउनेहरुको हुन्छ ।
‘ब्रेन डेथ’ भएका मानिसहरुको मुटु कति समयसम्म प्रत्यारोपण गर्न सकिन्छ ?
मुटु चलुन्जेल प्रत्यारोपण गर्न सकिन्छ । सडक दुर्घटना भएर ब्रेथ डेथ भयो अथवा कसैको ब्रेन स्ट्रोक भएर पनि मस्तिष्क मृत्यु हुन सक्छ । त्यसको एउटा मेकानिज्म बनाउनुपर्छ । मुटु एउटा व्यक्तिबाट झिकिसकेपछि अर्को व्यक्तिमा चार घण्टाभित्र सारिसक्नुपर्छ । त्यसलाई कसरी ट्रान्सफर गर्ने, कस्तो झोलमा राख्ने, तापक्रम कसरी मेन्टेन गर्नेलगायतका मापदण्डहरु छन् । ती सबै मापदण्डहरु पूरा गरेर हामीले चार घण्टाभित्र एउटा मान्छेबाट झिकेर अर्को मान्छेमा हालिसक्नुपर्छ । त्यो मुटु काम लाग्छ कि लाग्दैंन भन्ने पनि क्राइटेरिया हुन्छन् । कुनै मान्छेको ब्रेन डेथ भयो तर त्यसको मुटु प्रत्यारोपणका लागि योग्य छ कि छैन भनेर हामीले रगत, प्रेसरलगायतका केही चीजहरु हेर्नुपर्छ । रगत समूह, एचएलए कम्प्याटाबिलिटी छ कि छैन भनेर हेर्न १/२ घण्टा लाग्छ, सबै कुरा कन्फर्म भइसकेपछि मात्रै एउटा मुटु झिकेर अर्कोकोमा हाल्ने हो ।
नेपालमा मुटु प्रत्यारोपणका लागि नीतिगत अप्ठ्याराहरु कतिका छन् ?
नीतिगत अप्ठ्याराहरु त लगभग पार लागिसकेका छन् । अस्पतालहरुले लिनुपर्ने लाइसेन्सिङका कुराहरु बाँकी होलान । व्यक्तिगत रुपमा मसँग पनि हर्ट ट्रान्सप्लान्टको लाइसेन्स छ । धेरै हदसम्म कानुनी प्रावधानहरु पूरा भइसकेका छन्, अब गर्न मात्रै बाँकी छ । तर, हामीले मस्तिष्क मृत्युपछिको अंगदानलाई प्रमोट गर्नुपर्छ । किनभने भारतमा अहिले ब्यापक रुपमा भइरहेको छ, अमेरिका र युरोपजस्ता विकसित देशहरुमा पनि भइरहेको छ ।
परिवारको कोही सदस्य बितिसकेपछि जलेर जानसक्ने अंग अर्को व्यक्तिलाई दिनुभयो भने कम्तिमा आफ्नो मान्छे नभएपनि उसको एउटा अंग बाँचिरहेको हुन्छ । जसलाई दान गरिएको छ, त्यसलाई गएर भेट्न सकिन्छ । तपाईंको छोरा, नाति, भतिज, बुवा, आमाको अंग अर्को मान्छेमा त बाँचिरहन्छ । त्यो हिसाबले सोच्यौं भने यो देशमा अंगदानलाई अगाडि बढाउन सकिन्छ । अंगदान जीवनदान हो । कुनै बितिसकेको जीवनले अर्को जीवन दिने हो । एउटै मान्छेले किड्नी दुई जनालाई, कलेजो एक जनालाई, मुटु एक जनालाई दिन सक्छ, आँखा, छाला र फोक्सोलगायतका अंग दान गर्न सक्छ । आफ्नो मान्छेको कलेजो, किड्नी र मुटुले अर्को मान्छे बाँचिरहेको छ भने त्यो त खुसीको कुरा हो ।
मुटु प्रत्यारोपणका लागि पूर्वाधारमा कति लगानी आवश्यक पर्छ ?
हामी मुटु प्रत्यारोपण सुरुवात गर्नका लागि अहिले जे सेटअप छ, त्यसमा गर्न सक्छौं । तर, लामो समयसम्म यसलाई निरन्तरता दिन राज्यले केही इन्भेष्टमेन्ट चाहिँ गर्नुपर्छ । त्यो करोडभित्र नै गर्न सकिन्छ । जस्तोः एउटा आर्टिफिसियल हर्ट लिनका लागि नेपालमा डेढदेखि दुई करोठ रुपैयाँ पर्छ । त्यसपछि यो प्रोग्राम अगाडि बढाउँदैं जानुपर्यो, यसलाई सस्टेनेबल बनाउनका लागि सरकारको सहयोग त अवश्य चाहिन्छ । तर, अहिले हेल्थमा सरकारले धेरै लगानी गरिरहेको छ, त्यो हिसाबले नेपालले यो गर्न सक्ने र सस्टेन गर्न सक्ने प्रोग्राम हो ।
काठमाडौंभित्र हामीले ९७ प्रतिशत मुटुका सर्जरीहरु गरिरहेका छौं । राजधानीबाहिरको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
राजधानीबाहिर आजभन्दा १० वर्ष अगाडि शुन्यको अवस्थामा थियो । त्यहाँ गएर पहिलो ओपन हर्ट सर्जरी नेपाली टिमले गरेको म आफै गएर पुरानो मेडिकल कलेजमा गरेको हो । त्यहाँ १२—१५ वटा शल्यक्रिया भएपछि बन्द भयो । अहिले चितवन मेडिकल कलेजमा भइरहेको छ । विराटनगर, धरानमा हुन्छ । पोखरामा पनि मैले गएर सुरु गरे । फाट्टफुट्ट भइरहेको छ । निरन्तर भइरहेको चितवन र विराटनगरमा मात्रै हो, त्यहाँ सधैं सर्जन बस्नुहुन्छ । तर, अहिले पनि मुटुको बढी शल्यक्रिया हुने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल हृदय केन्द्रमा नै हो ।
पश्चिम नेपाल त मुटुको शल्यक्रियाका हिसाबले त अझै टाढै देखिन्छ नि ? त्यहाँ कसरी हामीले मुटु शल्यक्रिया सेवालाई नियमित गर्न सक्छौं ?
मैले मन्त्रीज्यूहरुलाई पनि भनेको थिए र विभिन्न अन्तर्वार्ताहरुमा पनि भनिरहन्छु—कम्तिमा सात वटा प्रदेशमा एउटा मुटु सेन्टर बनाउनुपर्छ । मुटु सेन्टर बनाउन सकिदैंन भने प्रादेशिक अस्पतालमा एउटा विभाग बनाउनुपर्छ, जहाँ सबै खाले मुटुको उपचार (एन्जीओप्लाष्टी, क्याथल्याबदेखि ओपन हर्ट सर्जरीसम्म) हुने खालको बनाउन जरुरी छ । सुदूरपश्चिम, हुम्ला, जुम्लाको मानिस अहिले पनि काठमाडौं नै आउनु परिरहेको छ । त्यही सुविधा धनगढी अथवा नेपालगन्जमा दिन सकियो भने बिरामीहरुका लागि खर्च, पहुँच, यातायात, समयका हिसाबले धेरै राहत हुन्छ । त्यसकारण सात वटै प्रदेशमा राज्यको गंगालाल र मनमोहनस्तरकै सुविधा भएको एक—एक मुटु सेन्टर अथवा कार्डिलोलोजी एण्ड सिटिभीएस विभाग हुनुपर्छ । अहिले सुरु गर्यो भने पाँच वर्षमा पूर्ण रुपमा सञ्चालनमा आउँछ ।
ती ठाउँहरुमा मुटुको शल्यक्रिया सेवा सुरु गर्नका लागि कस्ता चुनौतीहरु छन् ?
कुनै पनि प्रोजेक्टमा तीन वटा चुनौती हुन्छन्—रिसोर्स, म्यानपावर र प्लानिङ । त्योभन्दा माथि केही पनि छैन् । एकदमै सामान्य कुरा छ योजना बनाउने, स्रोत साधन लगाउने र म्यानपावर खोज्नुपर्छ । म अहिले देशमा हरेक सेक्टरमा योजनाकै अभाव देख्छु । डाक्टरहरु संसारभर छन्, नेपाली हर्ट सर्जन कुन देशमा छैनन् ? भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान, युरोपदेखि अमेरिकाको मेयो क्लिनिकसम्म नेपालीले शल्यक्रिया गरिरहेका छन् । गल्फमा गरिरहेका छन् । तिनलाई आकर्षित गरेर ल्याउनुपर्यो, देशमै खोलेका छौं भन्यो भने आउँछन् । हामी पनि विदेशमा बसेका हो, देशकै माया लागेर फर्केको हो । आउने मान्छे छन्, देशमा पैसाको कमी छ जस्तो पनि मलाई लाग्दैन् तर मुख्य कुरा योजना नबनाइएको हो । हो, हामी अरु देशभन्दा गरिब छौं तर सात प्रदेशमा सात वटा मुटु सेन्टर खोल्न नसक्ने अवस्थामा देश छ जस्तो मलाई लाग्दैन् ।
पछिल्ला वर्षहरुमा मुटु सर्जरीमा नेपाल भित्रिएका आधुनिक प्रविधीहरु के—के हुन् ?
मुटु शल्यक्रियामा भित्रिएका प्रविधीहरुमा अहिले नेपालमा मिनिमल एन्भेजीब कार्डियाक सर्जरी हो । सानो प्वाँलबाट गरिने यो सर्जरी पछिल्लो १० वर्षमा मैले नै ३०० भन्दा बढी गरिसकेको छु । पछिल्लो समय अझ बढी भइरहेको छ । कार्डियोलोजीतिर मुटुको नसा खोल्नेमा पनि लेफ्ट मेन डिजिजहरु, ड्रग्स लिटिङ स्टेनहरु आएका छन् । मुटुको चाल बिग्रेमा झड्का दिने (आईसिडी), इक्मो, नचिरीकन मुटुको भल्ब फेर्ने (ट्याबी)लगातयका प्रविधीहरु आइसकेका छन् । संसारमा भइरहेका कुराहरु हामीले गरिरहेका छौं । नेपाल आउन बाँकी एउटा रोबटिक सर्जरी छ । अहिले संसारमा ब्यापक रुपमा रोबटिक सर्जरी भइरहेको छ । हामीले नेपालमा सुरु गर्छौ भनेर सम्बन्धित ठाउँमा भनिसकेका छौं । रोबटिक सर्जरी, भेन्ट्रीकुलर एसिस्ट डिभाइस र हर्ट ट्रान्सप्लान्ट तीन वटा कुरा हामीले गर्न बाँकी छ ।
सिटिभिएस सर्जनहरु पलायन हुने र पढ्नका लागि पनि यो विषय नरोज्ने समस्या गम्भीर देखिन्छ । यसलाई कसरी समाधान गर्ने ?
एक मुटु सर्जनका रुपमा नभई खुला रुपमा भन्दा सबैलाई एउटै बाँस्केटमा हाल्नु हुँदैन् । म मुटु सर्जन भए मलाई थाहा थियो धेरै दुःख हुन्छ, रातभर पनि अप्रेशन गर्नुपर्छ । म आफ्नो रुचिले हर्ट सर्जन भएको हो । कुनै डाक्टर आफ्नो इच्छाले फिजिसियन बन्छ, अर्को डाक्टर आफ्नो इच्छाले आँखा रोग विशेषज्ञ बन्छ । तर, सबै जना डाक्टरको लाइफस्टाइल त एउटै छैन, दुःख एउटै छैन, गर्नुपर्ने कन्ट्रीब्युसन एकै छैन तर सबैको महत्व छ । छाला, आँखाको डाक्टर नभई अहिले संसार चल्दैन् त्यसैगरी मुटुको पनि नभई चल्दैन् भन्ने बुझ्नुपर्छ । मैले कसैलाई अन्डरइस्टमेट गर्न खोजेको होइन्, हाम्रो कुरा गर्नुहुन्छ भने कहिलेकाहीँ इमर्जेन्सी परेर चार दिनसम्म नसुतेको रेकर्ड पनि छ ।
हरेक दिन रात मुटु फुटेर आउँछन्, आएर अप्रेशन गर्नैपर्यो । त्यो स्थिती आँखा र छालाको डाक्टरलाई हुँदैन्, फिजिसियनलाई वर्षमा दुई चार चोटी पर्ला । यी विद्याहरुलाई छुट्याउनुप¥यो, कुन विद्यामा बढी समस्या छ र ती विद्यालाई त्यही रुपमा एड्रेस गर्नुप¥यो । अहिले सिटिभीएसको डाक्टर पलायन हुनुको एउटा कारण दुःखअनुसार प्रतिफल नपाउनु हो । सेवा सुविधा पनि भएनन् । मुटुको अप्रेशन गर्ने मेरो युनिटमा जम्मा ४ जना छौं, कहिलेकाही रातभर अप्रेशन गर्नुपर्छ, म्यापावर पुग्दैंन् । हामीलाई अहिले चाहिने कम्तिमा ८ जना हो । फोक्सोको अप्रेशन गर्ने जम्मा ३ जना छन्, चाहिने ६ जना हो । भास्कुलर गर्ने ४ जना छन्, चाहिने १० जना हो, उनीहरुको अझ बढी इमर्जेन्सी हुन्छ । सेवा सुविधा राम्रो भएन र भएकाहरुको पनि आकर्षण भएन ।
पढ्न नआउनुको कारण दुःख छ तर त्यहीअनुरुप सेवा सुविधा छैन । जनरल सर्जनको राम्रो प्रायाक्टिस चलिरहेको हुन्छ, त्यही किसिमको हर्ट सर्जनको हुँदैन् । प्राइभेटमा त मुटुको अप्रेशन कति नै हुन्छ र । मुटुको सर्जरी पढ्ने डाक्टरलाई देशभित्र फाइनान्सियल पनि बेनिफिट छैन । हामी गएर अहिले अरब अथवा अरु देशतिर काम गर्ने हो भने एकै ठाउँमा काम गरेर २०—२५ लाख रुपैयाँ आरामले कमाउँछौं । मान्छेलाई फाइनान्सियल कुरा पनि महत्वपूर्ण छ, त्यो भन्दा पनि दुःखको कामको पनि रेक्गनाइजेसन भएन । यति दुःख गरेका छन् भनेर पनि कसैले भन्दैन् । त्यो भएका कारण सिटिभीएसको जनशक्ति पलायन भएको हो र पढ्न नचाहनेहरु बढेका हुन् । त्यसकारण हामीले हरेक स्पेसियालिटीलाई एउटै बाँस्केटमा हाल्यौ भने समस्या आउँछ । यसलाई छुट्याइदिनुपर्छ । मुटुको भन्दा बढी दुःख न्यूरोको चिकित्सकलाई होला, उहाँहरुलाई त्यहीअनुरुप इन्सेन्टीभ दिऊ न ।
गुणस्तरका हिसाबले नेपालमा मुटु सर्जरीको अवस्था के छ ?
गुणस्तरका हिसाबले संसारको वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं । कुनै कमी छैन । अघिल्लो वर्ष १०० भन्दा बढी बाइपास सर्जरी गरेकामा २—३ जनाको मृत्यु भयो होला । १—५ प्रतिशत भन्छ मोरटालिटी हामी त्यो भित्रै छौं । कम्प्लेक्स केसहरुको मोरटालिटी त जहाँ पनि उच्च नै हुन्छ । जटिल शल्यक्रिया गर्दा १०० जनामा १० जना अमेरिका, भारत, युरोप जहाँ पनि बित्छन् । लगभग हामी त्यही लेभलमा छौं, खासै फरक छैन । नेपालमा हुने मुटुका सर्जरीको लागि लाखौं करोडौं खर्च गरेर बाहिर जान आवश्यक छैन । नेपालका अस्पताल र डाक्टरलाई पत्याउँदा हुन्छ ।
मुटुको शल्यक्रिया नेपालमा सबैभन्दा सस्तो हो ?
नेपालभन्दा बढी सस्तो त अन्त छैन होला । मिनिमल इन्भेजीव अप्रेशन अमेरिका गर्ने हो भने नेपाली एक करोड रुपैयाँ पर्छ, भारतमा २० लाख भारतीय रुपैयाँ पर्छ । हामीले यो अप्रेशन ६ लाख रुपैयाँमा गर्छौ ।
मुटुको शल्यक्रियाका हिसाबले हेल्थ टुरिज्मको सम्भावना कति छ ?
म व्यापक सम्भावना देख्छु । हामी नेपालीको समस्या मेन्टालिटी नै गरिब र सानो हुनु हो । नेपाल सानो देश होइन्, हामीले सानो सोच राखेर सानो भएको हो । साइजले केही गर्दैन्, मेन्टालिटी उच्च हुनुप¥यो । हामीले नेपालमा मुटुको उच्च कोटीको शल्यक्रिया गर्छौ भन्न के को हिच्किचावट छ । त्यसलाई पब्लिसिटी गर्ने, प्रमोट गर्ने राज्यको कुरा हो । मिडियाको पनि होला । नेपालमा उच्च कोटीको मुटुको शल्यक्रिया संसारका वेष्ट सेन्टरसँग तुलना गर्न मिल्छ भनेर राज्यले पब्लिसिटी गरिदिनुपर्छ ।
मुटुको शल्यक्रिया गर्न भुटानको मान्छे भारत र थाइल्याण्ड जान्छ, उनीहरुको उपचार खर्च सबै राज्यले तिर्दोरहेछ । हामीले भुटानका बिरामीलाई त्यो भन्दा सस्तोमा मुटुको शल्यक्रिया सेवा दिन सक्छौं । अफ्रिका, तान्जानिया र केन्याबाट मुटुको शल्यक्रिया गर्न भारतमा बिरामी आउँछन् । त्यहाँभन्दा सस्तो हामीले नेपालमा गर्छौ तिनलाई ल्याउन सकेको खै त । अरु देशभन्दा हामीले सस्तो र त्यही क्वालिटीको गरिरहेका छौं भन्ने थाहा त हुनुपर्यो । हामी धेरै ठाउँमा चुकेका छौं ।