चरिकोट—गौरीशंकर गाउँपालिका–५, सुरी लहरेमानेकी सर्किनी शेर्पा उपचारको आशामा सिंगटी आइपुगेकी छन् । टाउकोमा लागेको चोट जाँच गराउन उनी गाउँबाट बोलेरो चढेर कालिञ्चोक गाउँपालिका–३ स्थित सिंगटी प्राथमिक अस्पताल आएकी हुन् । एकतर्फी तीन सय रुपैयाँ भाडा तिरेर अस्पताल आइपुग्दा उनलाई पैसाभन्दा पनि डाक्टरबाटै जाँच गराउने भरोसा ठूलो लाग्यो ।
सर्किनीको घरबाट हिँडेरै आधा घण्टामा सुरी प्राथमिक स्वास्थ्य केन्द्र पुग्न सकिन्छ । तर, त्यहाँ नियमित डाक्टर नबस्ने भएपछि उनी सिंगटी आउन बाध्य भइन् । अस्पतालबाट फर्किँदा फेरि उस्तै भाडा तिर्नुपर्छ । ‘पैसा त खर्च हुन्छ । तर, डाक्टरले जाँच गर्दा ढुक्क हुन्छ,’ उनी भन्छिन् ।
पहिला–पहिला सुरी स्वास्थ्य केन्द्रमै डाक्टर भेटिने भएकाले उतै जाँच गराउने गर्थिन् । तर, केही समयअघि स्वास्थ्य केन्द्रमा भएको तोडफोडपछि डाक्टर बस्न छाडेका छन् । अन्यत्र निजी अस्पतालमा जाँच गराउँदा खर्च धेरै लाग्ने भएकाले उनीजस्ता बिरामी सरकारी अस्पताल नै खोज्दै सिंगटी आइपुग्छन् ।
सर्किनी मात्रै होइनन्, कालिञ्चोक गाउँपालिका–१ क्याम्पोलका बिर्खबहादुर थामी पनि महिनामा दुई पटक सिंगटी प्राथमिक अस्पताल धाउँछन् । काम गर्ने क्रममा लडेर खुट्टामा स्टिल हालिएको सात महिना भइसकेको छ । उनी पनि चर्को गाडी भाडा तिरेरै उपचारका लागि यहाँ आउँछन् ।
‘यहाँ एक्स—रे, ल्याब जाँच सबै निःशुल्क छ,’ थामी भन्छन्, ‘राज्यले तोकेको ९८ प्रकारका औषधी निःशुल्क पाइन्छ । नपुगेका औषधी पनि पैसा तिरेपछि फार्मेसीमा छुटसहित पाइन्छ ।’ दोलखा र काठमाडौंका धेरै अस्पताल चहारेका थामीलाई अन्ततः सिंगटी प्राथमिक अस्पतालकै सेवा विश्वासिलो लागेको छ ।

सन् २०१० मा स्थापना भएको सिंगटी प्राथमिक अस्पताल अहिले उत्तरी दोलखाको स्वास्थ्य सेवाको मुख्य भरोसा बन्दै गएको छ । गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकाका अधिकांश बिरामी यही अस्पतालमा आउने गरेका छन् । अस्पतालका प्रशासन तथा व्यवस्थापन प्रमुख ईश्वर खड्काका अनुसार यहाँ दैनिक ४० जनाभन्दा बढी सेवाग्राही आउँछन् । महिनामा एक हजार पाँच सयभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।
दरबन्दीअनुसार तीन जना डाक्टर कार्यरत छन् । १५ शय्याको अस्पताल भएकाले आवश्यक पर्दा बिरामी भर्ना गरेर समेत सेवा दिइँदै आएको छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, थाइराइड जाँचको सुविधा छ । तीन महिनाको सुगर जाँच भने न्यूनतम शुल्कमा गरिँदै आएको छ । पेइङ फार्मेसीमा १० प्रतिशत छुटसहित औषधि उपलब्ध छ । नियमित डाक्टर, निःशुल्क जाँच र गुणस्तरीय सेवाका कारण बिरामीको चाप दिनानुदिन बढ्दै गएको खड्काले बताए ।
तर, सेवा प्रभावकारी भएपनि अस्पतालले ठूलो समस्या झेलिरहेको छ । अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा पर्याप्त भौतिक संरचना निर्माण हुन सकेको छैन । हाल अस्पताल रहेको जग्गा सामुदायिक वनको नाममा छ । अस्पतालका लागि आवश्यक न्यूनतम ९ रोपनी जग्गा प्राप्त नहुँदा दुई पटक ठूला बजेट फ्रिज भइसकेका छन् ।
‘पहिलो पटक २१ करोड रुपैयाँ र गत आर्थिक वर्ष पनि २१ करोड रुपैयाँ बजेट फ्रिज भयो,’ खड्का भन्छन्, ‘अहिले अस्पतालको नाममा जग्गा प्राप्त गर्न सबै तहमा पहल गरिरहेका छौं ।’
डाक्टरको भर, निःशुल्क सेवा र विश्वासिलो उपचारको खोजीमा गाउँ–गाउँबाट बिरामी यही अस्पताल धाइरहेका छन् । अब अस्पतालको नाममा जग्गा सुनिश्चित भई पूर्वाधार विस्तार हुन सके यो अस्पताल उत्तरी दोलखाकै नमुना स्वास्थ्य केन्द्र बन्नेमा दुई मत छैन ।