२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी

आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी


विराटनगर—भारतको मालदह घर भएका १८ वर्षीया आबु कमलको १० महिना अगाडि दायाँ आँखा अल्सर भएकाले ज्योति गुमेको थियो । गुमेको आँखाको ज्योति फिर्ता ल्याउन भारत र नेपालका धेरै अस्पतालमा चहारे । तर, उनले उपचार पाएनन ।

बरु उनलाई चिकित्सकले आँखा निकाल्न सुझाव दिए । ‘आँखा कमजोर हुँदै गयो । चश्मा लगाए भएन, कन्ट्याक्ट लेन्स पनि हाले त्यसले पनि भएन,’ उनले भने, ‘त्यसपछि ६ महिना अगाडि विराटनगर—१४ स्थित दिव्य ज्योति अस्पतालमा गएर जचाउँदा आँखाको नानीका कारण समस्या भएको पत्ता लाग्यो ।’ नानीको समस्या भएको थाहा पाएपछि उनले चिकित्सकहरुकै सल्लाहमा नानी प्रत्यारोपण गरेपछि अहिले सहज भएको छ ।

आँखाको नानी ल्याएर आबुको सफलतापूर्वक प्रत्यारोपण दिव्य ज्योति अस्पतालका आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. अभिषेक सुवालको टिमले गरेको हो । आँखाको नानी सफल प्रत्यारोपण गरेका उनको सोमबार हस्पिटलले डिस्चार्ज दिएको छ ।

आँखाको नानी प्रत्यारोपण गराएपछि उनको जीवन उज्यालो भएको छ । अहिले आँखाको प्रत्यारोपण गराएपछि आँखा देख्न सक्ने भएको उनले सुनाए । ‘आँखाको नानी प्रत्यारोपणपछि मैले नयाँ जुनी नै पाएजस्तो भएको छ,’ उनले भने । १८ वर्षको उमेरदेखि नै ज्योति कमजोर हुँदै गएपछि उनलाई दैनिक काम गर्न समेत निकै अप्ठ्यारो हुने गरेको थियो ।

नानी प्रत्यारोपणको तयारी गरिदैं ।

आबुको मात्र होइन्, दिव्य ज्योति अस्पतालले हालसम्म २५ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैकबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।

१५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको अस्पतालका संचालक देवा यादवले जानकारी दिए । अस्पतालका अनुसार आँखाको प्रकृतिअनुसार १० हजारदेखि ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ । अस्पतालमा आँखाको नानी राख्ने बैंक नभएका कारण काठमाडौंबाट नानी ल्याउनुपर्ने बाध्यता छ ।

नानी प्रत्यारोपण सर्जन डा. सुवाल

अस्पतालले आँखाको नानी संकलन मात्रैं गर्दै आएको छ । अहिले नानी संकलन गरेलगतै नेपाल आँखा बैंकमा पठाइन्छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ ।

कुनै व्यक्तिको मृत्यु भएको ६/७ घण्टा भित्र आँखाको नानी निकाल्न सके उत्तम हुने चिकित्सकहरु बताउँछन् । तर, १२ घण्टासम्म पनि नानी निकाल्न सकिन्छ । नानी निकालेको एक हप्ताभित्र प्रत्यारोपण गरिसक्नु चिकित्सक डा. सुवालले बताए ।

‘आँखा दान भन्ने बित्तिकै धेरैले पूरा आँखाको डल्लो नै फेर्ने भन्ने बुझ्छन्, अस्पतालका आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. सुवालले भने, ‘ पारदर्शी हुनुपर्नेमा आँखाको नानी त्यसमा कुनै कारणब दाग भएर अथवा फुलो पर्न गएको खण्डमा आँखा देख्न सकिदैन् । त्यस्तो आँखाको नानी प्रत्यारोपणलाई नै आँखा दान भनिन्छ,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ