२०८३ वैशाख २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलपेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन्

पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन्


डा. विज्ञानराज ज्ञवाली युवा सर्जन, अन्वेषक र अनुसन्धानदाता हुन् । त्रिवि शिक्षण अस्पतालको ईएनटी विभागअन्तर्गतको पेडियाट्रिक ओटोल्यारिङ्गोलोजी तथा एयरवे सर्जरी युनिटमा आवद्ध उनी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका एसिस्टेन्ट प्रोफेसरसमेत हुन् । त्रिविका गोल्डमेडलिष्ट डा. विज्ञान त्यसबाहेक प्रथम मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिकमा पनि बिरामी हेर्छन् ।

डा. विज्ञानका थुप्रै अनुसन्धानहरु राष्ट्रिय/अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । यी ३८ वर्षीय युवा सर्जन हालसम्म करिब थुप्रै बालबालिकाको जटिल मानिने पेडियाट्रिक एवरवे सर्जरी गरिसकेका छन् । एयरवे सर्जरीका अलावा उनी एयरवे सर्जरीमा आवश्यक सामाग्री बनाउन पनि सक्रिय छन् । संसारका प्रतिष्ठित संस्थाहरुबाट प्रशिक्षण हासिल गरिसकेका उनी युवा वैज्ञानिकका रुपमा पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा राम्रो प्रभाव छाडिरहेका छन् ।

कुनै समय डाक्टरीप्रति कुनै अनुराग नभएका डा. विज्ञान ललितपुरमा जन्मिएका हुन् । बुवा ध्रुवराज ज्ञवाली र आमा अन्जु दीक्षितका दुई सन्तानमध्ये उनी कान्छा हुन् । आमा बुवा दुवै जना शिक्षा क्षेत्रमा सक्रिय थिए । उनको बाल्यकाल थानकोटमा बितेको हो । स्कुलिङ पनि त्यहीको वेस्ट प्वाइन्ट स्कुलबाट भएको हो । उनको स्कुल जीवन अहिलेकोजस्तो स्रोत साधन सम्पन्न थिएन् । तर, पनि बोर्डिङ स्कुल भएकाले त्यो बेलाको सुविधासम्पन्न स्कुल नै थियो । उनको स्वभाव शिक्षकले पढाएपनि आफै अन्वेषण गर्ने खालको थियो ।

‘बच्चादेखिको मेरो नेचर अलि अन्वेषण गर्ने थियो,’ उनी सुनाउँछन्, ‘जे कुरामा पनि अन्वेषण गरिरहन मन पर्ने खालको थिए ।’ स्कुल जीवनमा उनलाई बढी रुचि विज्ञानमा भएपनि प्रायजसो कुनै न कुनै कुरा अन्य विषयका पनि मन परिरहेका हुन्थे । विज्ञानको एक्स्पीरिमेन्टमा उनको लगाव उच्च थियो । डा. विज्ञान पढाइबाहेक सबैजसो खेलकूदका क्रियाकलापमा सहभागी हुन्थे । उनी फुटबल, क्रिकेट, बाँस्केटबल, टेबल टेनिसजस्ता सबै खेलमा सहभागी भइरहेका हुन्थे ।

वेस्ट प्वाइन्ट स्कुलबाटै डा. विज्ञानले वि.सं. २०६० सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसीपछि उनी उच्च शिक्षाका लागि बानेश्वरस्थित हिमालय ह्वाइट हाउसमा भर्ना भए । प्लस टुअघि उनी इन्जिनियरिङ पढ्दिँन भन्नेमा कन्फर्म थिए । तर, त्यसबाहेक ‘यो पढ्छु’ भन्ने डिसिजन पनि गरिसकेका थिएनन् । उनले ह्वाइट हाउसमा बायोलोजी लिएर प्लस टु पढे । कलेज पढ्दा उनी धेरैजसो व्यवसायिक रुपमै म्युजिकमा पनि सक्रिय रहे ।

‘प्लस टु सकेपछि ६ महिनाजति म म्युजिकमै लागे एल्बम निकाल्न र यताउती गर्नमै,’ उनले म्युजिक किस्सा खोले । हेभी मेटल र हार्ड रकसहित ८—१० वटा गीत रहेको ‘इन्भेजन’ नामको उनको एल्बम उनको ब्याण्डले निकालेको थियो । जनआन्दोलन धङधङीको बेला भएकाले म्युजिक भिडियो त्यसबाट प्रभावित रहेको उनले सुनाए ।

परिवारकै कारण आफू डाक्टर बनेको बताउने डा. विज्ञान विहानदेखि बेलुकासम्म पढ्ने खालका विद्यार्थी थिएनन् । रुचि लागे पढ्ने नत्र नपढ्ने उनको शैली थियो । त्यही कारण उनका बुवा छोराले होटल म्यानेजमेन्ट पढे हुने भन्नेमा थिए । एल्बम पनि निकालिसकेपछि उनले थप उच्च शिक्षाका बारेमा डिसिजन लिनुपर्ने थियो । ‘डाक्टर पढौं त ?,’ उनले एकदिन परिवारिक राय मागे ।

परिवारबाट राय आयो, ‘पढ्न सक्छस् भने पढ् ।’ त्यसपछि उनी एल्बमको प्रमोशनको समयमा एमबीबीएस पढ्नका लागि सन् २००७ मा बंगलादेश गए । जसका कारण उनको एल्बमको खासै चर्चा भएन् । बंगलादेश गएको पहिलो दुई वर्षमा उनी पढाइप्रति केन्द्रीत नै हुन सकेनन् । ‘सबै पढ्न्तेहरु थिए, मेडिसिन पढ्नका लागि घोक्नैपर्छ,’ उनले भने, ‘नत्र सुरुमा एकदम घोटिएर पढ्नैपर्छ ।’

बंगलादेशको ढाका युनिभर्सिटीको एमबीबीएस जर्नी उनका लागि लाइफ चेन्जिङ मुभमेन्ट बन्न पुग्यो । ‘म पहिलेदेखि नै धेरै नपढेपछि टप फाइभ, टपटेनभित्र परिरहने विद्यार्थी थिए । पहिलो दुई वर्ष नयाँ वातावरण बुझ्न टाइम लाग्यो,’ उनले बंगलादेशको एमबीबीएस पढ्दाको अनभुव सुनाए, ‘थर्ड इयरमा क्लिनिकल पोष्टिङ हुन थालेपछि मलाई बल्ल यो विषय मेरै लागि रहेछ भन्ने लाग्न थाल्यो ।’ त्यसपछि उनी मेहनतका साथ एमबीबीएसको पढाइमा लागे । उनको समयमा त्यहाँ राम्रा प्राध्यापकहरु थिए, जो उनलाई आफ्नो ज्ञानमा निखार ल्याउनमा सहयोगी बने । सन् २०१२ मा एमबीबीएस सके । डा. विज्ञान सन् २०१३ मा नेपाल फर्किए ।

एमबीबीएस सकेर फर्केपछि त्रिवि शिक्षण अस्पतालमा हाउस अफिसरका रुपमा काम गर्ने उनको चाहना थियो । नेपाल फर्केपछि उनले सोचेकै अवसर पाए । ‘यहाँ आएपछि आईसीयुका लागि इन्ट्रान्स भयो, एक जनाका लागि ४० जनाले प्रतिस्पर्धा गरेका थियौं,’ उनले भने, ‘त्यसमा एक नम्बरमा नाम निस्कियो ।’ त्यसपछि उनले हाउस अफिसर भएर त्रिवि शिक्षण अस्पतालमा प्रवेश गरे । हाउस अफिसर भएर ६—७ महिना काम गर्दै उनले रेजिडेन्सीका लागि तयारी गरिसकेका थिए ।

लगतै, पिजीको इन्ट्रान्स भयो । सन् २०१४ बाट उनको ईएनटीमा रेजिडेन्सी सुरु भयो । ईएनटीको रेजिडेन्सीको दोस्रो वर्षमा पुगेपछि बल्ल उनलाई यसप्रति अलि बढी लगाव हुन थालेको हो । किनभने, त्रिवि शिक्षण अस्पतालमा प्रा.डा. राजेन्द्र गुरागाईंको समन्वयमा प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयको टिम एयरवे सर्जरी सिकाउन आउँथ्यो । ‘उहाँहरु आएर सर्जरी गरेको देखेपछि अब यो फिल्डमा जानुपर्छ भनेर म आक्रामक रुपमा लागे,’ डा. विज्ञान सम्झन्छन् । सन् २०१७ मा रेजिडेन्सी सकेका उनी त्रिविको गोल्डमेडलिष्ट समेत हुन् ।

८ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा प्राध्यापन तथा बिरामी सेवामा सक्रिय डा. विज्ञान अहिले एसिस्टेन्ट प्रोफेसरका रुपमा कार्यरत छन् ।

यो बीचमा डा. विज्ञानले संसारका प्रतिष्ठित संस्थाहरुबाट प्रशिक्षण/फेलोसीप गरिसकेका छन् । नेदरल्याण्डसको युरोपियन राइनोलोजी सोसाइटीबाट प्रदान गरिने ईआरएस जुनियर फेलोसीप एवार्ड पाएर इण्डोस्कोपी साइनस सर्जरीको प्रशिक्षण, रोयल कलेज अफ सर्जन्स इंग्ल्याण्डमा एमआरसीएस, इन्टरनेशनल कलेज अफ सर्जनको फेलो, अमेरिकन कलेज अफ सर्जनको फेलो आदि भए । सन् २०१९ मा अमेरिकन सोसाइटी अफ पेडियाट्रिक एण्ड ओटोल्यारिङ्गोलोजीले प्रदान गर्ने सिल्भान स्कलर एवार्डमा विश्वाका दुई जनामध्येबाट छनोट भएका थिए र अन्तर्राष्ट्रिय स्कलरका रुपमा अमेरिका गए । यस्तै, भिजिटिङ स्कलरका रुपमा स्ट्यानफोर्ड विश्वविद्यालय गएर एयरवे सर्जरी तालिम लिए भने अमेरिकाकै चिल्ड्रेन मेडिकल सेन्टरबाट पनि तालिम पूरा गरे ।

डा. विज्ञान नेपालका युवा एयरवे सर्जन हुन् । अहिले त्रिवि शिक्षण अस्पतालमा ओटोल्यारिङ्गोलोजी तथा एयरवे सर्जरी युनिटमा डा. विज्ञान, डा. हेमपाली दत्ता र डा. योगेश न्यौपाने छन् । डा. दत्ता उनको युनिट प्रमुख हुन् । त्रिवि शिक्षण अस्पतालमा अहिले उनको टिमले कम्प्लेक्स एयरवे सर्जरीहरु गर्छ । त्रिवि शिक्षण अस्पतालले पहिलो विश्वकै मुलुकहरुको शैलीमा मल्टीडिसिप्लेनरी एयरवे एरो डाइजेष्टीभ सेन्टर बनाएको छ ।

‘श्वास नलीसँग फोक्सो पनि जोडिएको हुन्छ, खानाको नली पनि जोडिएको हुन्छ,’ डा. विज्ञान भन्छन्, ‘यसमा सिंगल एप्रोच हुँदैन्, एयरवे सर्जरी कतिसम्म क्रिटिकल हुन्छ भने यो सिंगल सट हो । एक पटक बिग्रयो भने रिकभर हुन गाह्रो हुन्छ ।’ डा. विज्ञानकाअनुसार त्यसकारण एयरवे सर्जरी गर्नुअघि फोक्सो बिग्रेको छ/छैन, खानाको नलीमा केही समस्या छ/छैन भन्ने कुरा हेर्नुपर्छ । त्यही कारण यी सबै कुरा हेर्नका लागि त्रिवि शिक्षण अस्पतालले मल्टीडिस्प्लेनरी टिम बनाएको छ ।

मल्टीडिस्प्लेनरी एप्रोचबाट पेडियाट्रिक एयरवे सर्जरी गर्ने त्रिवि शिक्षण अस्पताल नेपालको एकमात्र अस्पताल हो । मल्टीडिसिप्लेनरी ठूलो टिमको आवश्यकता, क्रिटिकल सर्जरीजस्ता कारण धेरै अस्पतालहरुले यो सर्जरी गर्न नै चाहदैनन् । पेडियाट्रिक ओटोल्यारिङगोलोजी सेवा, एयरवे सर्जरीका साथै प्राध्यापन र अनुसन्धानका कामहरुमै डा. विज्ञानको धेरै समय बित्छ ।

थुप्रै अनुसन्धान गरिसकेका डा. विज्ञान आफै एयरवे एप्लाइन्सहरुको अन्वेषण र निर्माणमा पनि सक्रिय छन् । ‘एयरवे सर्जरीका लागि आवश्यक पर्ने सामानहरु महंगो पर्छ,’ उनी भन्छन्, ‘नेपालजस्तो लो इनकम सेटिङ भएका देशहरुमा त्यो फिजिबल हुँदैन् ।’ जसका कारण डा. विज्ञानले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर बालबालिकाको स्पीकिङ भल्ब बनाएका छन्, जुन भल्ब विदेशबाट ल्याउँदा ४०—५० हजार रुपैयाँ पर्छ । तर, राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर बनाइएको यो भल्ब बिरामीले सस्तोमा पाउँछन् ।

डा. विज्ञानले इन्जिनिरहरुसँग मिलेर एयरवे डाइलेटर बनाएका छन्, श्वास नली साघुँरो भए फुलाउने बेलुनको काम यसले गर्छ । जुन बेलुन विदेशबाट ल्याउने हो भने एउटैको मूल्य ७० हजार रुपैयाँ पर्छ । अब राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर ‘फ्लो सेन्सर’ बनाउने काम भइरहेको छ । श्वास नलीमा श्वास फेर्न सजिलो बनाउनका लागि ट्युब हालिन्छ, त्यो कहिलेकाहीँ ब्लक हुन्छ । यो ब्लक हुँदा कहिलेकाही मानिसको ज्यानै जाने सम्भावना हुन्छ, त्यो ब्लक छ कि छैन भनेर थाहा पाउने उपाय नैं छैन, अहिले डाक्टरहरु हात हालेर थाहा पाउँछन् । त्यसलाई सजिलो बनाउनका लागि ‘फ्लो सेन्सर’ उनको टिमले बनाइरहेको छ । ‘एयरवेमा यो पहिलो इनोभेसन हो,’ उनले भने, ‘अरुले बनाउन नसक्ने त होइन तर आवश्यकता महसुस नगरेका होलान ।’

अन्वेषणमा सक्रिय डा. विज्ञानलाई यसले थुप्रै एवार्ड र अन्तर्राष्ट्रिय पहिचान समेत दिएको छ । सन् २०२१ मा स्पीकिङ भल्ब बनाएका कारण उनलाई बेलायतको ईएनटी सोसाइटीको सबैभन्दा ठूलो संस्थाले वेस्ट ग्लोबल हेल्थ रिसर्च एवार्ड प्रदान गरेको थियो । हालैमात्र जापानमा अण्डर४० का वैज्ञानिकहरुका लागि आयोजित एक कार्यक्रममा इन्भाइटेड स्पीकरका रुपमा उनलाई आमन्त्रण गरिएको थियो, जहाँ गएर डा. विज्ञानले आफ्ना आविष्कारहरु प्रस्तुत गरे । केही समयमै उनी अर्को कार्यक्रमका लागि फेरि जापान जाँदैंछन् । डा. विज्ञानले कम उमेरमै गज्जबको अन्तर्राष्ट्रिय एक्स्पोजर पाएका छन् ।

यी युवा सर्जन, वैज्ञानिक तथा अन्वेषक निकट भविष्यमा त्रिवि शिक्षण अस्पतालमा एयरवे सर्जरी र पेडियाट्रिक ओटोल्यारिङगोलोजीको फेलोसीप कार्यक्रम सुरु गर्ने चाहना छ । त्यसबाहेक उनले साथीहरुसँग मिलेर अगाडि बढाइरहेको प्रथम पेडियाट्रिक मल्टीस्पेसियालिटी क्लिनिकलाई एकेडेमिक र रिसर्च संस्थाका रुपमा विकास गर्न चाहन्छन् । इनोभेसनमा पनि उनी केही फरक र नौलो गर्न खोजिरहेका छन् । ‘यो नै भन्ने छैन,’ उनी भन्छन्, ‘जे आवश्यकता पर्छ, त्यही गर्दै जाने हो ।’ डा. विज्ञानलाई के कुराले खुसी दिन्छ ? भन्छन्, ‘स—साना सफलता खुसी दिन्छन् । साना बालबालिकाहरुको जटिल एयरवे सर्जरी भइरहेको हुन्छ, ती अप्रेशन सफल हुँदा खुसी मिल्छ ।’

आफ्नो पहिलो शल्यक्रियामा प्राप्त गरेको यस्तै अनुभव उनी कहिल्यै भुल्दैनन् । तीन महिनाको डेढ केजीको एक बच्चालाई निमोनिया भएको भनेर भेन्टिलेटरबाट राखिएको थियो । पेडियाट्रिक इन्टेसीभिष्टको टिम र डा. विज्ञानले चेकजाँच गरे, उनलाई निमोनिया नभएर श्वास नलीको समस्या भएको पत्ता लाग्यो । डा. विज्ञानले ती बालकको सुप्राग्लोटोप्लाष्टी शल्यक्रिया गरे । त्यो शल्यक्रिया गरेको दुई दिनमा बच्चाले सजिलै श्वास फेर्न थाल्यो । पछि ओपीडीमा त्यही बच्चा लिएर अभिभावकहरु आइपुगेका थिए । तर, डा. विज्ञानले बच्चाका अभिभावकहरुलाई चिने, बच्चालाई चिनेनन् । ‘बच्चा निकै मोटाएको रहेछ, त्यो एकदमै ह्याप्पी मुभमेन्ट थियो,’ उनी भन्छन्, ‘यस्ता कुराहरुले फरक खुसी दिन्छन् ।’ यस्तैं खुसी दिने थुप्रै शल्यक्रिया उनले गरेका छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #एयरवे सर्जरी, #डा. विज्ञानराज ज्ञवाली, #त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, #त्रिवि शिक्षण अस्पताल, #पेडियाट्रिक ओटोल्यारिङ्गोलोजी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ