जुम्ला—कर्णालीका हिमाली जिल्लाहरुमा अझै पनि असुरक्षित गर्भपतनका कारण अत्याधिक मात्रामा रक्तस्राव भएपछि मात्र महिलाहरु अस्पतालको सम्पर्कमा आउने गरेका छन् । कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट मुगु र डोल्पालगायतका जिल्लामा यो समस्या छ ।
ती जिल्लाहरुमा गर्भपतनका औषधी सेवन गर्ने, गर्भपतन भएपछि घरमै बस्ने र यदि स्वास्थ्यमा गम्भीर असर देखिएपछि मात्र अस्पतालको सम्पर्कमा आउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका हुन् । गर्भपतन गराउँदा मान्यता प्राप्त स्वास्थ्य संस्थाभन्दा पनि स्थानीय औषधी पसल तथा कोही चिनेको स्वास्थ्यकर्मीमार्फत औषधी सेवन गर्ने समस्या पनि छ ।
नजिकको स्थानीय औषधी पसलबाट गर्भपतनको औषधी लिएर खाँदा अत्यधिक मात्रामा रक्तस्राव भएपछि मात्र आफू अस्पतालको सम्पर्कमा आएको तिला गाउँपालिका – ६ की एक २२ वर्षीय महिलाले बताइन् । ‘घरमा दुई वटा छोरी छन्, उनीहरुलाई कसरी पालन पोषण गर्ने हो भन्ने चिन्ता लाग्यो,’ उनले भनिन् । त्यही चिन्ताले परिवारको सल्लाहअनुसार गर्भमा रहेको बच्चा फाल्ने निधो गरेपछि मेडिकलबाट औषधी लिएर सेवन गरेको उनको भनाइ छ ।
औषधी सेवन गर्दा अत्याधिक मात्रामा रगत बगेपछि मात्र आफू अस्पतालको सम्पर्कमा आएको उनले बताइन् । उनी एउटा प्रतिनिधी पात्र मात्र हुन् । उनीजस्ता धेरै किशोरी तथा महिलाहरु गरिबी, अशिक्षा तथा छोरा जन्माउने आशामा असुरक्षित रुपमा गर्भपतन गर्ने गरेका छन् ।
अन्तिम अवस्थामा मात्र अस्पतालको सम्पर्कमा आउँदा महिलाहरुको ज्यान जोखिममा मात्र पर्न सक्ने जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. सिर्जना रावलले बताइन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तथ्यांकअनुसार अस्पतालमा आउने महिलाहरुमध्ये १० प्रतिशत महिलाहरु असुरक्षित रुपमा गर्भपतनकै औषधी सेवन गर्ने अन्तिम अवस्थामा मात्र अस्पतालको सम्पर्कमा आउने गरेका छन् ।
गाउँघरमा सचेतनाको कमीका कारण महिलाहरु आफ्नो ज्यान जोखिममा राखेर भएपनि समाजका कुरा मान्न बाध्य रहेको देखिन्छ । जुम्लाका ३० वटा स्वास्थ्य संस्थामध्ये १३ वटा स्वास्थ्य संस्थाले मात्र औषधीद्वारा सुरक्षित गर्भपतन गर्ने मान्यता पाएका छन् ।
तर, अहिलेसम्म जिल्लामा सञ्चालनमा रहेका कुनै पनि मेडिकल सुरक्षित गर्भपतनको लागि सूचीकृत नभएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । मान्यता प्राप्त स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित गर्भपतनको सेवा लिनुपर्ने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले बताइन् । स्वास्थ्य संस्थाको सल्लाहअनुसार गर्भपतनको औषधी सेवन गर्दा स्वास्थ्य समस्या भएपनि तत्काल महिलाहरुको ज्यानलाई बचाउन सकिन्छ ।
महिलाहरुले मनोमानी ढंगबाट गर्भपतनको औषधी खाँदा अकालमा ज्यान जान सक्ने भएकाले त्यसो नगर्न आग्रह गरेका छन् । स्थानीय औषधी पसलबाट किनेर औषधी खाएमा गर्भपतन भइहाल्छ भन्ने गलत मान्यताका कारण गर्भवतीको अकालमा ज्यान जान सक्ने भएको चिकित्सकहरुको भनाइ छ ।
यसको लागि जथाभावी रुपमा औषधी बेच्ने औषधी पसलको नियमित रुपमा अनुगमन गर्नुका साथै असुरक्षित गर्भपतनले निम्तन सक्ने जोखिमको विषयमा सचेतनाका कार्यक्रम गर्न आवश्यक छ ।