२०८३ जेठ ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडिजिटल युगमा ‘भाइरल’ स्वास्थ्य सल्लाहः जनस्वास्थ्य कि जन–जोखिम ?

डिजिटल युगमा ‘भाइरल’ स्वास्थ्य सल्लाहः जनस्वास्थ्य कि जन–जोखिम ?


नेपाल मेडिकल काउन्सिलले हालै जारी गरेको अत्यन्तै जरुरी सूचनाले चिकित्सा क्षेत्रमा एउटा तरंग पैदा गरेको छ । काउन्सिलमा दर्ता नभएका, योग्यताबिना नै नामको अगाडि अनाधिकृत रूपमा ‘डाक्टर’ झुन्ड्याउने र भ्रामक विज्ञापन गर्नेहरू विरुद्ध ‘शून्य सहनशीलता’ अपनाउने काउन्सिलको निर्णय ढिलै भएपनि स्वागतयोग्य छ । यसले आधुनिक चिकित्सा (एलोप्याथी)को मर्यादा र बिरामीको सुरक्षाका लागि एउटा बलियो लक्ष्मण रेखा कोरेको छ ।

तर, काउन्सिलको यो कदमले स्वास्थ्य क्षेत्रको एउटा पाटोलाई मात्र छोएको छ । आजको डिजिटल युगमा जनस्वास्थ्यमाथि योभन्दा पनि ठूलो र अदृश्य खेलवाड भइरहेको छ । सामाजिक सञ्जालमा छ्यापछ्याप्ती अवैज्ञानिक, अप्रमाणित र जथाभावी स्वास्थ्य सल्लाहहरू भेटिन्छन् । फेसबुकका रिल, टिकटकका भिडियो र युट्युबका ‘थम्बनेल’हरू हेर्ने हो भने लाग्छ, संसारका सबै कडा रोगहरूको उपचार भान्साको एउटा सानो बट्टा वा जंगलको जडीबुटीमा लुकेको छ । तर, त्यसलाई आधुनिक चिकित्साले जानाजानी लुकाएर राखेको छ ।

स्रोत र प्रवृत्तिको भयावह चित्र

अहिले सामाजिक सञ्जालमा दुई प्रकारका ‘डिजिटल सल्लाहकार’हरू सक्रिय छन् । पहिलो, नामको अगाडि ‘डाक्टर’ वा ‘विज्ञ’ लेखेर सर्वसाधारणलाई भ्रममा पार्नेहरू । दोस्रो, कुनै अध्ययन वा शैक्षिक योग्यता नै नभएकाहरुले केवल ‘भ्युज’, ‘लाइक’ र व्यापारिक स्वार्थका लागि ‘घरेलु अचुक उपाय’ भन्दै भिडियो बनाउने इन्फ्लुएन्सरहरू ।

यी भिडियोहरूको स्रोत वैज्ञानिक अनुसन्धान वा क्लिनिकल ट्रायल हुँदैनन् । सुनिनाइ कुरा, भोगाईका कुरा र आधा–अधुरो ज्ञान नै यिनका स्रोत हुन्छन् । ‘जडीबुटी त हो नि, यसले के नै बेफाइदा गर्छ र ?’ भन्ने एउटा गम्भीर भ्रम र चमत्कारी उपचारको आकर्षणले विश्वासले गलत उपचारतिर धकेलिएका पाइन्छन् । आधुनिक चिकित्साशास्त्रले वर्षौको अध्ययन, प्रयोगशाला परीक्षण र मानवीय परीक्षणपछि मात्र कुनै औषधिलाई बजारमा ल्याउने अनुमति दिन्छ ।

समाजमा आधुनिक चिकित्साशास्त्र मात्र छैन । यसबाहेक अन्य उपचारका पद्धतिहरु पनि छन् । आयुर्वेद, होमियोप्याथिक, युनानीलगायत अन्य धेरै छन् । यी सबैमा विज्ञान, सिद्धान्त र अध्ययन छन् । तर, यी कुनै अध्ययन बिना नै सामाजिक सञ्जालमा एक मिनेटको भिडियोले क्यान्सर, मिर्गौला फेलियर र मधुमेहजस्ता जटिल रोग क्षणभरमै निको पार्ने दाबी गरिदिन्छ ।

जब ‘घरेलु उपचार’ विष बन्छ

जडीबुटी वा प्राकृतिक चीजबीज आफैंमा नराम्रा होइनन् । हाम्रो रैथाने ज्ञान र आयुर्वेदको आफ्नै गौरवमय इतिहास र विज्ञान छ । तर, आयुर्वेद पढ्दैं नपढेका व्यक्तिले जडीबुटीको ‘डोज’ र ‘असर’ बुझ्नै सक्दैनन् । हरेक बोटबिरुवामा हुने सक्रिय रसायनिक तत्व (फर्माकोलोजिकल एजेन्ट)को निश्चित मात्रा र प्रयोगको तरिका हुन्छ ।

आयुर्वेद केवल रोग निको पार्ने विधि मात्र होइन, यो जीवन जिउने विज्ञान पनि हो । यसका आफ्नै विशेषताहरू र सिद्धान्तहरु छन् । आयुर्वेदिक चिकित्सकले बिरामीको ‘प्रकृति’ हेरेर मात्र उपचार गर्छन् । नेपालमा आधुनिक चिकित्सा जत्तिकै आयुर्वेद चिकित्सालाई पनि नियमन गर्न स्पष्ट कानुनी व्यवस्था र स्वायत्त निकाय छ । यसको मुख्य नियमनकारी निकाय नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल हो । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल ऐन, २०४५ः यो ऐनअनुसार नेपालमा आयुर्वेदिक चिकित्सक र स्वास्थ्य व्यवसायीहरूको योग्यता निर्धारण गर्ने, दर्ता गर्ने र आचारसंहिता अनुगमन गर्ने मुख्य जिम्मेवारी यस काउन्सिलको हो ।

ऐनअनुसार काउन्सिलमा दर्ता नभई कसैले पनि आयुर्वेदिक चिकित्सकका रूपमा अभ्यास गर्न वा औषधि सिफारिस गर्न पाउँदैनन् । त्यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले अन्य सहायक स्वास्थ्य प्रविधिज्ञहरूको नियमन गर्ने हुन्छन् ।

तर, यस्ता दर्ता भएका योग्य आयुर्वेद विज्ञहरुको परामर्श विना सामाजिक सञ्जालकै सल्लाहमा नै मिर्गौलाका बिरामीहरु, मधुमेह वा उच्च रक्तचाप भएका बिरामीहरूले एलोप्याथिक औषधि छाडेर ‘यो जडीबुटीको रस’ वा ‘त्यो तीतो पदार्थ’ निरन्तर खाँदा मिर्गौला पूर्ण रूपमा फेल भएर अस्पताल आइपुगेका उदाहरणहरु अहिले प्रशस्त भेटिन्छन् । कतिपय अवस्थामा शिशु वा गर्भवती महिलालाई घरायसी ओखती भन्दै जथाभावी खुवाइने जडीबुटीले गम्भीर आन्तरिक रक्तस्राव वा एलर्जी गराएका उदाहरणहरू छन् । क्यान्सर वा मुटुको समस्या भएका बिरामीहरूले सुरुवाती चरणमा यस्ता भ्रामक अनलाइन सल्लाहको पछि लाग्दा, रोग निको हुने ‘गोल्डेन पिरियड’ गुमाउँछन् र अन्तिम अवस्थामा मात्र अस्पताल आइपुग्छन् ।

नियन्त्रणको अपरिहार्यताः कसले के गर्ने ?

जसरी मेडिकल काउन्सिलले एलोप्याथिक चिकित्सकहरूको नियमन गर्छ । त्यसैगरी यो डिजिटल अराजकता रोक्न राज्यका विभिन्न निकायहरू एकीकृत रूपमा जाग्नुपर्ने आवश्यकता छ । सबैभन्दा पहिला त नेपाल मेडिकल काउन्सिलजस्तै नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलको सक्रियता आवश्यक छ । आयुर्वेद र जडीबुटीको नाममा हुने ठगी र भ्रम रोक्न आयुर्वेदिक काउन्सिलले पनि कडा र स्पष्ट निर्देशिका जारी गरी दर्ता विनाका समाजिक सञ्जालका ‘जडीबुटी विशेषज्ञ’लाई प्रतिबन्ध लगाउनुपर्छ ।

त्यस्तै, औषधि व्यवस्था विभाग र विज्ञापन वोर्डले सामाजिक सञ्जालमा चिकित्सा सम्बन्धी कुनै पनि विज्ञापन वा ‘चमत्कारी उपचार’को दाबी गर्ने भिडियोहरूलाई कडा कानुनी दायरामा ल्याई जरिवाना र कारबाहीको दायरा बढाउनुपर्छ । स्वास्थ्य मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण र साइबर ब्युरोसँग समन्वय गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गर्ने डिजिटल सामग्रीहरूलाई तत्काल ‘फ्ल्याग’ गर्ने वा ‘ब्लक’ गर्ने संयन्त्र विकास गर्नुपर्छ ।

स्वास्थ्य कुनै ‘भाइरल ट्रेन्ड’ होइन् । यो मानव जीवनको सबैभन्दा संवेदनशील पाटो हो । एउटा भिडियोमा आउने १० लाख भ्यूजभन्दा एउटा बिरामीको अमूल्य जीवन ठूलो हो । स्क्रिनमा देखिने हरेक चमकधमकपूर्ण कुरा सही हुँदैनन् भन्ने सत्य सर्वसाधारण नागरिकहरूले पनि बुझ्नुपर्छ । आफ्नो अमूल्य स्वास्थ्यलाई सामाजिक सञ्जालको ‘लाइक’ र ‘कमेन्ट’को प्रयोगशाला बन्न नदिऔं ।

नेपाल मेडिकल काउन्सिलले चालेको कदम एउटा सुखद् सुरुवात हो । अब पालो अन्य सम्बन्धित काउन्सिल, राज्यका निकाय र स्वयं हामी सचेत नागरिकहरूको हो । स्वास्थ्य क्षेत्रको यो मर्यादा र जनस्वास्थ्यको रक्षाका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनै पर्छ । चेतना भया !


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ