काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्षमताअनुसार १५० सिट एमबीबीएस र ६० सिट बिडिएस अध्ययन गराउन महालेखाले सुझाव दिएको छ । महालेखा परीक्षकको कार्यालयको ६३ औं वार्षिक प्रतिवेदन, २०८३ मा उक्त सुझाव दिइएको हो ।
भौतिक अवस्था, बिरामीको चाप, जनशक्ति व्यवस्थाको पर्याप्तताका आधारमा एमबीबीएसमा १५० तथा बिडिएसमा ६० विद्यार्थी अध्यापन गराउन सक्ने क्षमता प्रतिष्ठानको रहेको महालेखाले जनाएको छ ।
हाल विपीमा एमबीबीएसतर्फ १०० र बिडिएसतर्फ ४९ जना विद्यार्थी अध्ययनरत छन् ।
‘प्रतिष्ठानको भौतिक अवस्था, बिरामीको चाप, जनशक्ति व्यवस्थाको पर्याप्तताका आधारमा एमबीबीएसमा १५० तथा बिडिएसमा ६० विद्यार्थी अध्यापन गराउन सक्ने क्षमता रहेकोमा क्रमसः १०० र ४९ विद्यार्थी अध्ययनरत रहेका छन्,’ महालेखाले प्रतिवेदनमा भनेको छ, ‘प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्य सेवा सम्बन्धी क्रियाकलापलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्दछ ।’
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत रहेको विपी सबैभन्दा ठूलो प्रतिष्ठान हो । विपीसँग प्रशस्त भौतिक पूर्वाधार, बिरामी चाप, र फ्याकल्टीहरुको व्यवस्था छ ।