काठमाडौं—लुम्बिनी प्रदेशको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद घिमिरे सिफारिस भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी घिमिरेलाई दिने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर समक्ष सिफारिस गरेका छन् ।
लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कमल ज्ञवालीले मुख्यमन्त्री कार्यालयबाट नयाँ मन्त्रीहरुको सिफारिस प्राप्त भएको बताए । ‘मुख्यमन्त्री कार्यालयबाट नयाँ मन्त्रीहरुको सिफारिस प्राप्त भएको छ,’ उनले भने, ‘नियुक्ति र सपथ हुन बाँकी छ ।’
प्रदेश प्रमुख कार्यालयले नयाँ मन्त्रीहरुको सपथ २५ जेठमा गर्ने तयारी गरेको छ ।
यसअघि लुम्बिनीको स्वास्थ्यमन्त्रीमा खेमबहादुर सारु रहेका थिए । सारुले बुधबार दिउँसो राजीनामा दिएका थिए ।
स्वास्थ्यमन्त्रीमा सिफारिस भएका घिमिरे अर्घाखाँचीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।