काठमाडौं—नेपालको एकमात्रै स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा रहेको कैलाली गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक कार्यक्रम सुरु गर्न २६ प्राध्यापक र ५१ उप—प्राध्यापकको पदपूर्तिका प्रक्रिया अगाडि बढाइने भएको छ । सरकारले ल्याएको अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरु पदमुक्त भएपछि उक्त कार्य रोकिएको थियो ।
विश्वविद्यालयको सिनेट बैठकले गत ३१ असारमा उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. भीम चन्दलाई नियुक्त गरेको छ ।
सो नियुक्तिसँगै विश्वविद्यालयले यसअघि अगाडि बढाएको प्राध्यापक र उप–प्राध्यापक नियुक्तिको प्रक्रिया अगाडि बढाउन लागेको हो ।
आर्थिक वर्ष २०८२/०८३ को फागुनमा विश्वविद्यालयले प्राध्यापक र उपप्राध्यापकका लागि आवेदन आह्वान गरेको थियो । ४ विधाका चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम संचालनको लागि तयारीसँगै सो आवेदन आव्हानमा ३ सयभन्दा बढी आवेदन परेका छन् ।
विश्वविद्यालयले चालु आर्थिक वर्षमा एमबीबीएस, बीएस्सी नर्सिङ, बीएस्सी एमएलटी, ब्याचलर इन अप्टोमेट्रीजस्ता शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक तयारी समेत भइरहेको जनाएको छ ।