काठमाडौं—योग तथा प्राकृतिक चिकित्सक संघ नेपालको अध्यक्षमा पुनः डा. जनकबहादुर बस्नेत चयन भएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ हाइटमा रहेको जंगल महल वेलेनेस रिसोर्टमा सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा ९औं महाधिवेशनले डा. बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष डा. बसनेत नेपालमा अग्रज योग तथा प्राकृतिक चिकित्सक हुन् । विगत १८ वर्षदेखि संघलाई निरन्तर अध्यक्षता गर्दै आएका उनी यसपल्ट पनि सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा डा. दिनेश राई, महासचिवमा डा. हेमराज कोइराला र कोषाध्यक्षमा डा. सञ्जु खाइजू चयन भएका छन् । यस्तै, सदस्यहरूमा डा. रविनलाल श्रेष्ठ, डा. सुमन चौलागाईं र डा. अभिश्राम गुरागाईं चयन भएका छन् ।
योग तथा प्राकृतिक चिकित्सकहरूको पेशागत हकहित, योग तथा प्राकृतिक चिकित्सा विधाको विकास, चिकित्सकहरूको क्षमता अभिवृद्धि, सदस्यता विस्तार तथा संघको संस्थागत र आर्थिक सुदृढीकरणलगायतका विषयमा छलफल भएको थियो । अग्रज प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलको प्रमूख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. दिनेश प्रसाईलगायतका व्यक्तित्वहरूले मन्तव्य राखेका थिए ।
नवनिर्वाचित कार्यसमितिले नेपालमा योग तथा प्राकृतिक चिकित्साको प्रवद्र्धनसँगै यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको पेशागत अधिकार र व्यवसायिक सुरक्षाका लागि प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।