२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता

नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता


काठमाडौं-नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर लिमिटेडको आयोजनामा सम्पन्न नेपाल क्यान्सर सम्मेलन (एनसीसी-२०२६)अन्तर्गत क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर नेपालमा पहिलोपटक विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा १०० भन्दा बढी क्यान्सर बिरामी तथा क्यान्सर सर्भाइभरहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई सफल बनाउन नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठको विशेष भूमिका रहेको थियो । सर्भाइभरका आवाजलाई क्यान्सर उपचार प्रणालीसँग जोड्ने, उनीहरूका अनुभवलाई साझा मञ्च प्रदान गर्ने तथा उपचारपछिको जीवनलाई क्यान्सर हेरचाहको महत्वपूर्ण हिस्साका रूपमा स्थापित गर्ने उद्देश्यमा डा. श्रेष्ठको नेतृत्वदायी भूमिका रहेको थियो ।

उनी स्वयं उक्त सत्रका मोडरेटर समेत रहेका थिए । ‘बेक्रिङ ब्यारियर, बिल्डिङ होप्सः अ कलेक्टीभ फाइट अगेन्स्ट क्यान्सर’ भन्ने मूल नाराका साथ काठमाडौंस्थित र्‍याडिसन होटलमा सम्पन्न सम्मेलनको दोस्रो दिन मा ‘क्यान्सर सर्भाभरसीप’ विषयमा विशेष सत्र सञ्चालन गरिएको थियो । उक्त सत्र नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा “उपचारको लागि सहयोगी हातहरू” को सहकार्यमा आयोजना गरिएको हो ।

नेपालमा पहिलोपटक क्यान्सर सर्भाइभरहरूको अनुभव, उपचारपछिको जीवन र उनीहरूले भोग्ने सामाजिक, मानसिक तथा आर्थिक चुनौतीलाई केन्द्रमा राखेर यस किसिमको विशेष सत्र आयोजना गरिएको आयोजकले जनाएको छ । सत्रमा सहभागी १०० भन्दा बढी क्यान्सर बिरामी तथा सर्भाइभरहरूले आफ्नो उपचार यात्रा, संघर्ष, अनुभव र उपचारपछिको जीवनबारे विचार तथा अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रमअन्तर्गत ‘Breast Cancer Survivorship: Illuminating the Journey, Addressing the Unspoken and Forging Paths Forward’ विषयमा विशेष प्यानल छलफल गरिएको थियो। सत्रका अध्यक्षमा स्वरुपा श्रेष्ठ र डा. मुरारीमान श्रेष्ठ रहेका थिए भने डा. सुदिप श्रेष्ठले ले मोडरेटरको भूमिका निर्वाह गरेका थिए । प्यानल छलफलमा डा. बबी शाक्य, गीता चौधरी, ज्ञानु लामा, प्रमिता खनाल र सुलोचना श्रेष्ठ सहभागी थिए ।

त्यसैगरी डा. शंकर शर्माले ‘From Patient to Advocate: How Survivors Want to Shape the Cancer Care System’ विषयमा प्रस्तुति दिएका थिए । डली गुरुङले ‘Life After Treatment: Survivor’s Perspective on the Journey and How to Overcome Fear of Recurrence: A Silent Burden Survivors Carry’ विषयमा आफ्ना अनुभव प्रस्तुत गरिन् भने डा. प्रविना श्रेष्ठले ‘Fatigue in Survivorship Care – A Personal Story’ तथा सोनी बरालले “Financial Toxicity: The Hidden Burden of Cancer Care” विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा उपचारपछि पुनः क्यान्सर हुने डर, उपचारपछिको थकान, आर्थिक भार, मानसिक तथा भावनात्मक चुनौती तथा क्यान्सर उपचार प्रणालीमा सर्भाइभरको भूमिका लगायतका विषयमा गहन छलफल भएको थियो । यस कार्यक्रमले क्यान्सर उपचार केवल रोग निको पार्ने प्रक्रियामा सीमित नभई उपचारपछि बिरामीलाई स्वस्थ, सम्मानजनक र आत्मनिर्भर जीवनतर्फ अघि बढाउन आवश्यक सहयोग र वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको सन्देश दिएको छ ।

१०० भन्दा बढी क्यान्सर बिरामी तथा सर्भाइभरको प्रत्यक्ष सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो । आफ्नो उपचार यात्रा पूरा गरेका सर्भाइभरहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको आवाज सुन्ने, अनुभव साझा गर्ने र भविष्यको क्यान्सर हेरचाह प्रणालीलाई अझ बिरामीकेन्द्रित बनाउने दिशामा कार्यक्रम महत्वपूर्ण पहलका रूपमा रहेको आयोजकको भनाइ छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा ‘उपचारको लागि सहयोगी हातहरू’ सँगको सहकार्यमा सम्पन्न यस कार्यक्रमले नेपालमा क्यान्सर सर्भाइभरको भूमिका, उनीहरूको आवाज र उपचारपछिको जीवनलाई क्यान्सर हेरचाहको मूलधारमा ल्याउने दिशामा नयाँ अध्यायको सुरुवात गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ