काठमाडौं—कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले १० मंसिरबाट प्राथमिक सेयर (आईपीओ) निकाष्शन गर्ने भएको छ । काभ्रेको पाँचखालस्थित फर्मास्युटिकल्स ल्याबले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
लिमिटेडले कम्पनी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत ८० लाख रुपैयाँ बराबरको शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख कित्ता शेयर पाँचखाल नगरपालिका—७ का स्थानीयका लागि आईपीओ निष्काशन गर्नेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको आईपीओमा स्थानीयले १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले १० कित्तादेखि ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले २४ मंसिरसम्म आवेदन दिन पाउनेछन्, यो अवधिमा सेयर बिक्री नभएमा १३ पुससम्म आवेदन दिन सकिनेछ ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले १५ मंसिरसम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् । यो अवधिमा उक्त सेयर विक्री नभएमा २४ मंसिरसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँटपछि थप सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्कासन हुनेछ । आईपीओबाट उठेको रकमले ऋण तिर्ने र मेसिन खरिदमा प्रयोग गर्ने योजना कम्पनीले बनाएको छ ।
५ फागुन २०७३ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले भेटेरिनरी सम्बन्धीे औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६२ वटा औषधिहरूको उत्पादन स्वीकृति पाएको छ ।