२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आयुर्वेद उपचारमा विश्वास बढ्दैं, ७ हजार बिरामीको उपचार

आयुर्वेद उपचारमा विश्वास बढ्दैं, ७ हजार बिरामीको उपचार


विराटनगर—वैकल्पिक चिकित्सा पद्धतीको रूपमा हेरिएको आयुर्वेद उपचारतर्फ बिरामीे आकर्षित हुँदै गएका छन् । लामो समयसम्म औषधि सेवन गर्नु पर्ने नसर्ने प्रकृतिको दीर्घ रोगको उपचार आयुर्वेद विधिबाट गर्ने क्रम पनि पछिल्लो समय बढेको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक जना एमबीबीएस डाक्टर पायल्सको उपचार गर्न आयुर्वेद अस्पताल पुगेका थिए । विराटनगरको जामुनगाछीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पायल्सको सफलतापूर्वक शल्यक्रिया भयो । आयुर्वेद स्वास्थ्य केन्द्रका डा. अनिलदेव यादवले क्षार सुत्र विधिबाट पायल्स रोगको उपचार गरेपछि ती चिकित्सक पूर्ण रुपमा ठिक भएकोे अस्पतालले जनाएको छ ।

जिल्ला आयुर्वेद अस्पताल विराटनगरमा आधुनिक अस्पतालमा कार्यरत चिकित्सक र तिनका थुप्रै परिवारका सदस्यहरु उपचार गराउन जाने गरेका छन् । साइडइफेक्ट नहुने र रोग निको हुने विश्वाससहित धेरै मानिसहरु आयुर्वेद अस्पताल पुग्ने गरेका हुन् । ‘विदेश जान भिसा लिइसकेका इटहरीका एक जना युवालाई हेपाटाइटिस देखिएको भन्दै फिर्ता गरिएछ,’ अस्पतालका वैद्य निरीक्षक पुनमकुमारी कर्णले भने, ‘हाम्रो औषधि नियमित लिएपछि उहाँ ठिक हुनुभयो । अहिले विदेशमा हुनुहुन्छ ।’

वर्षेनी आयुर्वेदमा उपचार गर्ने बढदै

विराटनगरमा रहेको मोरङ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउन जाने बिरामीको संख्या दुई वर्षअघिको तुलनामा दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा अस्पतालबाट ४ हजार ४ सय ६१ जना बिरामीले उपचार गराएका थिए । आर्थिक वर्ष २०७५÷७६ मा ७ हजार ३६ जना बिरामीले उपचार सेवा लिए । यो संख्या नयाँ बिरामीको हो । नियमित रुपमा सेवा लिने बिरामीसहितको संख्या अझ धेरै छ । चालु आर्थिक वर्ष २०७६÷७७ को दुई महिनामा १ हजार ४ सय १४ जना बिरामीले आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिएका छन् । ती मध्ये नयाँ बिरामीको संख्या ८ सय ४८ जना रहेको सूचना अधिकारी कर्णले जानकारी दिए ।

आयुर्वेदिक उपचारका लागि केन्द्र जानेहरुमा सबैभन्दा धेरै पेटका रोगीहरु छन् । बाथ रोगको समस्या लिएर जानेहरुको संख्या दोस्रो नम्बरमा छ । छाती सम्बन्धी दम खोकी र एलर्जीका बिरामीहरुको संख्या पनि उल्लेख्य पाइएको छ । त्यसबाहेक दीर्घ रोग ब्लड प्रेसर, मधुमेह, अर्बुद रोग आदिको उपचारका लागि अस्पताल जानेको संख्या पनि प्रशस्त रहेको कविराज मुकेशकुमार सिंहले जानकारी दिए । बाथ, हाडजोर्नी र नसा सम्वन्धी रोगमा स्नेहन स्वेदन विधिबाट गर्ने उपचार प्रभावकारी रहेको केन्द्रले जनाएको छ ।

‘सर्ने रोग भन्दा नसर्ने रोगको उपचार महंगो हुन्छ,’ बैद्य निरीक्षक कर्णले भने, ‘दीर्घ रोगको उपचार महंगो पनि हुन्छ त्यसैले आयुर्वेद विधिबाट उपचार गर्नुपर्छ भन्ने धारणा मानिसहरुमा विकास हुँदै गएको पाइएको छ ।’ उच्च रक्तचाप, मधुमेह, थाइराइडजस्ता रोग नियन्त्रणका लागि पनि आयुर्वेदिक औषधि बनेका छन् । मधुमेहका धेरै बिरामीले आयुर्वेद औषधि सेवन गरिरहेको केन्द्रले जनाएको छ ।
‘सबैतिर उपचार गराएर पैसा सकेर थाकेका बिरामीहरु अन्तिममा हाम्रो अस्पतालमा आउनुहुन्छ,’ सूचना अधिकारी कर्णले भने, ‘सुरुमै उपचार गर्न पाए त्यस्ता रोग छिटो निको हुन्छ तर ढिलै आएपनि लामो समय औषधि सेवन गरेपछि धेरै बिरामी निको भएका छन् ।’ स्तन क्यान्सरको उपचारका लागि एलोपेथिक औषधि सेवन गरिरहेका एकजना बिरामीले चार महिनादेखि एलोपेथिक औषधि छोडेर आयुर्वेदिक औषधि सेवन गरिरहेको र केन्द्रले उनको अवस्था निगरानी गरिरहेको जनाएको छ । चार महिनाको अवधिमा क्यान्सरको बिरामीमा धेरै सुधार आइसकेको छ । अस्पतालका अनुसार क्यान्सर दोश्रो चरणमा पुगिसकेको थियो अहिले नियन्त्रणमा छ ।

प्रदेश सरकारले परम्परागत उपचार पद्धतिलाई प्रवद्र्धन गर्दै आयुर्वेद उपचार र योगको माध्यमबाट आरोग्यताका लागि जनस्तरमा सचेतना विस्तारको काम गरिरहेको छ । त्यसै क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्तोरन्नती गर्नुका साथै सेवा विस्तारसमेत गरेको छ । जेनेरल ओपिडी सेवा मात्र दिँदै आएको अस्पतालले यतिबेला स्तनपाई आमा सेवा, जेष्ठ नागरिक सेवा, इम्युनिटी सुधार सेवा, खोप कार्यक्रम, क्षयरोगीलाई डट्स सेवा, स्वस्थ जीवनशैली, विद्यालय शिक्षा र जडिबुटी परिचयात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिले केन्द्रले पञ्चकर्म उपचार सेवा पनि सुरु गरेको छ । त्यस अन्तरगत वस्ती कर्म, मानसिक रोगी तथा टाउको सम्वन्धी समस्याको उपचार गर्न शिरोधारा, स्नेहन स्वेदन, नस्सकर्म र क्षार सुत्र उपचार पर्दछन् ।

१५ शैंय्याको आयुर्वेद अस्पतालको तयारी

सेवा विस्तारसँगै उपचार गर्न आउने बिरामीको संख्या बढेको कविराज मुकेश कुमार सिंहले जानकारी दिए । सेवा विस्तारसँगै एउटा निजी घर भाडामा लिएर अपरेशन थिएटर निर्माण गरेको छ । आफ्नै प्याथोलोजी ल्याव सञ्चालन गरेको छ । प्रदेश सरकारले केही समयपछि १५ शैंय्याको आयुर्वेद अस्पताल सञ्चालन गर्ने तयारी पनि अघि बढाएको छ ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकोले आकर्षण बढेको हो । आकस्मिक र जटिल रोगको उपचार गर्न भने आयुर्वेदिक अस्पतालहरुको क्षमता विकास भइनसकेको बैद्य निरीक्षक पुनम कुमारी कर्ण बताए । केन्द्रले अघिल्लो वर्षसम्म ५० भन्दा बढी प्रकारका औषधि निःशुल्क दिने गरेको भएपनि अहिले २३ प्रकारका औषधि मात्र निःशुल्क वितरण गर्दै आएको छ । अस्पतालमा उपचारका लागि बिरामीले कुनै पनि शुल्क तिर्नु पर्दैन ।


क्याटेगोरी : प्रदेश १, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ