२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा एकैदिन २८ जनाको मृत्यु, थपिए ७७७ कोभिड-१९ संक्रमित

गण्डकीमा एकैदिन २८ जनाको मृत्यु, थपिए ७७७ कोभिड-१९ संक्रमित


पोखरा -गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ  ।  मृत्यु हुनेमा सबैभन्दा धेरै कास्कीका ९ जना रहेका छन् । यस्तै, स्याङ्जाका ७, बागलुङ, नवलपरासी पूर्व र लमजुङका २-२, तनहुँका ३ जना छन् भने म्याग्दी, गोरखा र मुस्ताङका १-१ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

यो संख्या अहिलेसम्मकै उच्च हो । प्रदेशभर ३७१ महिला र ४०६ पुरुष गरी ७७७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा ंसंक्रमितको संख्या २८ हजार १८२ पुगेको छ ।

निर्देशनालयका अनुसार मुस्ताङमा १ पुरुष, मनाङमा १ पुरुष, १ महिला, म्याग्दीमा ४ महिला ८ पुरुष, पर्वतमा ३८ महिला र ५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गोरखामा २५ महिला र २४ पुरुष, लमजुङमा १० महिला र १६ पुरुष, तनहुँमा १० महिला र १४ पुरुष संक्रमित भएका छन् । कास्कीमा सबैभन्दा धेरै १८७ महिला र २०० पुरुष संक्रमित भएको निर्देशनालयले जनाएको छ ।

बागलुङमा ४९ महिला र ५० पुरुष, स्याङ्जामा ३५ महिला र २६ पुरुष संक्रमित छन् भने नवलपरासी पूर्वमा समान १२ जना संक्रमित भेटिएका छन् । निर्देशनालयको तथ्यांक अनुसार महिलाका तुलनामा धेरै पुरुषमा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २०५, विध ल्याब ललितपुरमा २६५, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा २३, धौलागिरी अस्पताल बागलुङमा ९७, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१, लाइफकेयर एन्ड डायग्लोस्टिक प्रालि पोखरामा १२३ जनाको पिसिआर जाँच गरिएको थियो ।

यस्तै, स्वास्थ्य कार्यालय म्याग्दीमा ११, स्वास्थ्य कार्यालय पर्वतमा २९ र स्वास्थ्य कार्यालय लमजुङमा ३ जनाको एन्टिजेन परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

‘गण्डकीमा अक्सिजन अभाव छैन’

गण्डकी स्वास्थ्य निर्देशनालयले गण्डकीमा अक्सिजन अभाव नभएको जनाएको छ । हालको आवश्यकता प्रतिदिन करिब ९ सय सिलिन्डर भएकोमा गण्डकी प्रदेशमा निर्माणाधीन प्लान्ट पूरा हुँदा १ हजार ४८९ सिलिन्डर उत्पादन क्षमता रहेको निर्देशनालयको दाबी छ ।

गण्डकीको कास्कीमा मातृशिशु मितेरी अस्पताल, फेवासिटी अस्पता, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पतालमा अक्सिजन प्लान्ट रहेका छन् । गण्डकीको ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट छैनन् । ती अस्पतालका लागि क्षेत्रीय अस्पतालका पूर्व उपकुलपति लगायत डाक्टरहरुको लगानी भएको पोखरा अक्सिजन प्रालि तथा कालीगण्डकी अक्सिजन प्रालिबाट पूर्ति हुँदै आएको छ ।

क्षेत्रीय अस्पतालमा कार्यरत डाक्टरहरुकै निजी स्वार्थका कारण उक्त अस्पतालमा अक्सिजन प्लान्ट बन्न ढिलाइ भएको आरोप लाग्दै आएको छ । यसबाहेक पोखराका अन्य अस्पतालमा पनि निजी अक्सिजन उत्पादक कम्पनीबाट ग्यास पूर्ति हुँदै आएको छ ।

निर्देशनालयले जिल्ला अस्पताल मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीमा अक्सिजन प्लान्ट स्थापना भई उत्पादन सुरु भएको जनाएको छ । यस्तै, लमजुङ, गोरखा र नवलपरासी पूर्वमा अक्सिजन प्लान्ट स्थानपना भए पनि उत्पादन सुरु नभएको निर्देशनालयले जनाएको छ । जिल्ला अस्पताल लमजुङ र तनहुँमा भने अक्सिजन प्लान्ट स्थापनाका लागि टेन्डर गरिएको जनाएको छ ।

निर्देशनालयले आफ्नो छरछिमेकमा अक्सिजन सिलिन्डर ल्याउने र अनावश्यक रुपमा भण्डारण गरेका थाहा पाएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा खबर गरी सिलिन्डर अभाव कम गर्न सघाउन अपिल गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ