२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टकसरी पुगे ४ जनाबाट ९० हजार नर्स ?

कसरी पुगे ४ जनाबाट ९० हजार नर्स ?


काठमाडाैं-नर्सिङ तथा मिड्वाइफ्री व्यवसायीले स्वास्थ्य सेवा प्रणालीमा पुर्‍याउदै आएको योगदानलाई विश्वभर नै सम्मानका दृष्टिले हेरिन्छ । फ्लोरेन्स नाइटिङ्गेलले क्रिमिया युद्ध (सन् १८५३ देखि १८५६) को अवधिमा घाइते सैनिकलाई सेवा दिने क्रममा तथ्याङ्क संकलन गर्दै घाइतेको उपचार गरेसँगै आधुनिक नर्सिङ व्यवसाय सुरु भएको ऐतिहासिक तथ्य भेटिन्छ । युरोपेली मुलुकमा महिलाको सशक्तिकरण, लैङ्गिक समानतामा सुधारदेखि समग्र महिलाको स्वास्थ्यमा सुधार हुनुमा नर्सिङ व्यवसायीले पुर्‍याएको योगदान अतुलनीय छ ।

वि.स. १९४६ तत्कालीन राजा पृथ्वीवीर विक्रम शाहदेवले वीर अस्पतालको स्थापना गरेसँगै नेपालमा नर्सिङ्ग सेवाको इतिहास खोज्ने गरिएको छ । तर, सर्वसाधारण माझ आधुनिक स्वास्थ्य सेवाको पहुँच नपुगेको तत्कालीन अवस्थामा नर्सिङ सेवा राजपरिवार, राणालगायतका उच्च वर्गमा मात्र सिमित थियो । वि.स. १९४७ देखि १९८७ सम्म देशमा नर्सिङ जनशक्ति थिएन ।

तत्कालीन अवस्थामा नर्सिङ जनशक्तिको टड्कारो आवश्यकता महशुस भएलगतै वि.स. १९८५ मा चार नेपाली महिलाः विधावती कंसाकार, राधादेवी मालाकार, धर्मादेवी कंसाकार र विष्णुदेवी मालीलाई १८ महिने मिड्वाइफ्री तालिमको लागि भारत पठाइएको थियो । आफ्नो अध्ययन पुरा गरी वि.स. १९८७ मा स्वदेश फर्किएपछि उनीहरुलाई वीर अस्पतालमा खटाइएको थियो । वि.स.२००२ मा अर्का ९ महिलाहरुलाई १८ महिने मिड्वाइफ्री तालिमका लागि भारत पठाइएको थियो । तालिमपछि उनीहरुलाई पनि वीर अस्पतालमै खटाइएको थियो ।

नर्सिङ शिक्षाको औपचारिक सुरुवात
वि.स.२०१३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्राविधिक सहयोगमा नेपाल सरकारले सुरेन्द्र भवनमा पहिलो पटक औपचारिक नर्सिङ शिक्षाको शुरुवात गरेको थियो । वि.स. २०१६ मा शान्त भवन नर्सिङ स्कुलको स्थापना भएको थियो । वि.स. २०१७ मा १३ जना नर्सिङ जनशक्ति देशमै उत्पादन भएका थिए ।

तत्कालीन समयमा धेरै जसो विधार्थीहरु प्रवेशिका परिक्षा उत्तिर्ण नगरी नर्सिङ शिक्षा अध्ययनका लागि भर्ना हुन्थे । ग्रामीण क्षेत्रमा स्वास्थ्यसेवा पुर्‍याउने उद्देश्यले सरकारी तहबाट मध्यमस्तरीय जनशक्तिको आवश्यकता महशुस गरी वि.स. २०१९ मा भरतपुरमा अस्सिटेन्ट नर्स–मिड्वाइफ (अ.न.मी.) सम्बन्धी तालीम सुरु भएको हो ।

अहिले ५५ हजार ५ सय ३५ नर्स, ३३ हजार १ सय ४१ अनमी, ८ सय ४३ विदेशी गरी कूल ८९ हजार ५ सय १९ नर्स नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथ्याङ्क छ ।

नर्सिङः आफ्नै क्षमतामा अवसरको निर्भर
अप्सरा पाण्डे
उपाध्यक्ष, नर्सिङ संघ
नेपाल नर्सिङ काउन्सिलले अनमी र रजिस्टर नर्स गरी दुई भागमा राखेको छ । स्टाफ नर्स र बिएसी नर्सलाइ दर्ता गरिएका नर्सका रुपमा राखिएको छ । स्टाफ र बिएसी नर्स अध्ययन सकेपछि एक वर्षको अनुभवका आधारमा तीन वर्षे बिएन अर्थात व्याचलर इन नर्सिङ अध्ययनका लागि योग्य मानिन्छ ।

बिएन तथा बिएसी नर्सिङ सकेर एक वर्षको सेवा अवधिको अनुभवका आधारमा उनीहरुले मास्टर्स पढ्न पाउँछन । मास्टर्स लेवल दुई वर्षे कोर्ष हुन्छ । मास्टर्समा कम्युनिटी हेल्थ, मेन्टल हेल्थ नर्सिङ, एडल्ट नर्सिङ र पेडियाट्रिक नर्सिङ, उमेन हेल्थ एण्ड डेभलपमेन्ट नर्सिङ पढाइ हुन्छ । मास्टर्स अध्ययन गर्नेका लागि यी अनिवार्य विषय हुन ।

विषय मेरिटका आधारमा छानिन्छन् विद्यार्थीे
मास्टर्समा यो विषय पढ्छु भनेर आफैले निर्णय लिन पाइदैन । विद्यार्थीले मेरिटका आधारमा छान्न पाउछन् । जसले बढी नम्वर ल्याएको हुन्छ, उसले पहिला विषय छान्न पाउँछ । थोरै नम्बर ल्याउनेले अरुले छाडेका विषय पढ्नुपर्छ ।

व्याचलर लेवललाई विशेषज्ञ भन्न मिल्दैन तर, यसको क्षेत्र फराकिलो छ । पोखरा विश्वविद्यालयले क्यान्सरको पढाई सुरु गरेको छ । हस्पिटल नर्सिङ, कम्युनिटी नर्सिङ, साइक्याट्रिक, एडल्ट नर्सिङ र पेडियाट्रिक विषय छान्नका लागि राखिएको छ । व्याचलरलाई विशेषज्ञ सेवा नभने पनि बृहत क्षेत्र भने हो ।

नेपालमा नर्सको अवसर
नेपालमा पर्याप्त मात्रामा नर्स आवश्यक छ र यस क्षेत्रको महत्व पनि छ । विगतमा जस्तो फालाफाल छैनन । अहिले प्रतिस्पर्धाको समय हो । आफुमा क्षमता भए नर्सले बेरोजगार भएर बस्नु पर्दैन ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मात्रै संख्या पुर्‍याउने हो भने नर्सको अभाव हुने छैन । समायोजनमा जादा रिक्त स्थानहरुमा भर्ना खुलाइएको छैन । आवश्यक देखिएको स्थानमा मात्रै दरबन्दी पुरा गरे नर्सको व्यवस्थापन सहज हुने छ ।

भर्ना शुल्कमा एकरुपता आवश्यक
विभिन्न विश्वविद्यालय/प्रतिष्ठानलगायतका नर्सिङ शिक्षण संस्थाले मनपरी ढंगले विधार्थी भर्ना तथा अन्य शुल्क लिदै आइरहेको सन्दर्भमा प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्ले विएस्सी नर्सिङ कार्यक्रमको शुल्क अधिकतम रु.९ लाख तोक्नु पर्ने नेपाल मेडिकल काउन्सिलकी अध्यक्ष गोमा देवी निरौलाले बताउँछिन् । यस बाहेक अन्य शुल्क (जस्तैः परीक्षा, परिषद्, भर्ना, पुस्तकालय, प्रयोगशाला) आदि लिने नपाइने व्यवस्था अबलम्बन गर्नुपर्ने उनको भनाई छ ।

जनसंख्या र नर्सको अनुपात नमिल्दो
सन् २०११ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ भने जनसंख्या वृद्धिदर १ दशमलब ३५ छ । यसलाई आधार मान्ने हो भने सन् २०३० मा नेपालको जनसंख्या करिब ३ कराड ५५ लाख हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समेत गरेर २३ जनाको अनुपातमा उपलब्ध हुनु पर्दछ ।

डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार नेपालमा प्रति १० हजार जनसंख्याका लागि ६ दशमलब ८ स्वास्थ्यकर्मी रहेको देखिन्छ । १ सय ८६ राष्ट्रको सीपमुलक स्वास्थ्य जनशक्ति (चिकित्सक, नर्स र मिड्वाइफ) को जनघनत्व हेर्ने हो भने ३ राष्ट्रमा २२ प्रति १० हजार जनसंख्या र ६८ राष्ट्रहरुमा ३४.५ प्रति १० हजार भन्दा माथि रहेको पाइन्छ ।


क्याटेगोरी : विशेष रिपोर्ट, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ